पुष्पलालको अस्तु नेपाल ल्याउने कम्युनिष्ट नेता चापागाईंको निधन

हिमाल प्रेस २० कार्तिक २०८० २१:२६
64
SHARES
पुष्पलालको अस्तु नेपाल ल्याउने कम्युनिष्ट नेता चापागाईंको निधन

लुम्बिनी- बुटवलका पुराना वामपन्थी कम्युनिष्ट नेता रामचन्द्र चापागाईं (आरसी) को निधन भएको छ। लामो समयदेखि मुटुरोग, दमलगायतका रोगबाट ग्रसित भएका ७४ वर्षीय चापागाईंको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार अपराह्न निधन भएको हो।

चापागाईं नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको अस्तु नेपाल लिएर आउने नेता हुन्। भारतमा पुष्पलालसँगै नजिक बसेर काम गरेका चापागाईंलाई त्यही कारणले सबैले माइला दाइ भनेर चिन्दथे।

स्याङ्जाको किचनास हाल विरुवा गाउँपालिकामा वि.सं. २००७ सालमा जन्मिएका चापागाईं नेपाली मार्क्सवादी दर्शन र सिद्धान्तमा निष्ठाका धरोहरको रुपमा चिनिन्छन्।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका चापागाईं हाल बुटवलमा बसोबास गर्दै आएका थिए। चापागाईंका श्रीमती थानकुमारी एमाले लुम्बिनी प्रदेश सदस्य तथा पूर्व प्रदेशसभा सदस्य हुन्। चापागाईं दम्पतीका एक छोरी छिन्।

‘मार्क्सवादी कखरा’जस्तो उत्कृष्ट कृतिबाट मार्क्सवादी राजनीतिमा बौद्धिक रुपमा जमेका चापागाईंका ‘कम्युनिष्ट र लोकतन्त्र’, ‘माओवादी केन्द्रको अवधारणा’, ‘मालेमावाद जिन्दावाद’, ‘पुष्पलालको जीवनी’, ‘भारतीय माओवादी जनयुद्ध’, ‘मार्क्स २०० औं जयन्ती र संशोधनवाद’ जस्ता आधा दर्जन पुस्तकहरु प्रकाशित छन्।

चापागाईंले बुटवल क्षेत्रमा रहेर नियमित लेखरचनाहरु लेखिरहन्थेँ। नेपालको कम्युनिष्ट विचारक र मार्क्सवादी अध्येयता चापागाईंको निधनले ठूलो क्षति पुगेका अधिवक्ता पदम कार्कीले बताए। चापागाईंकाे निधनमा एमाले उपाध्यक्ष विष्णु पाैडेलले समेत दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्। ‘पुष्पलालको अस्तु नेपाल ल्याउने जस्तो जोखिमपूर्ण जिम्मेवारी सफलतापूर्वक पुरा गर्नुभएका उहाँ हाम्रा लागि सदा प्रेरणाको स्रोत रहनुहुने छ,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: २० कार्तिक २०८० २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fifteen =