हात्तीका लागि स्वास्थ्य शिविर

हिमाल प्रेस २० कार्तिक २०८० १८:३०
12
SHARES
हात्तीका लागि स्वास्थ्य शिविर

चितवन-  सौराहास्थित हात्ती प्रजनन केन्द्रमा एलिफेन्ट हेल्थ क्याम्प २०२३ आज (सोमबार) देखि सुरु गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा रहेका सरकारी र यस क्षेत्रका होटलमा रहेका निजी हात्तीको स्वास्थ्य परीक्षणका लागि शिविर सुरु गरिएको हो। शिविर नोभेम्बर ११ तारेखसम्म जारी रहनेछ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार शिविरका क्रममा हात्तीको आधारभूत स्वास्थ्य परीक्षण, जुकाको औषधि खुवाइने, हात्तीको खुट्टाको नङ काट्ने र मिलाउने सँगै हात्तीलाई टिटानस र रेबिजको खोपसमेत लगाइने छ।

परीक्षणका क्रममा घाउ देखिएमा एन्टिबायोटिक औषधिको प्रयोग गरिने, मिनरल्स दिने उनले जानकारी दिए। थप अन्य समस्या देखिएमा उपचार गरिनेछ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जका ५८ हात्तीसहित ११५ हात्तीको स्वास्थ्य परीक्षण गरिनेछ।

अमेरिकी संस्था कटी एडम्सन कञ्जरभेसन फन्डको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले शिविरको आयोजना गरेका हुन्। अमेरिकीसहित नेपालका पशु चिकित्सक र प्राविधिकले हात्तीको स्वास्थ्य परीक्षण तथा नङ मिलाउने काम गर्ने उनले जानकारी दिए।

राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी प्राविधिक किरणराज रिजालका अनुसार हात्तीको सबैभन्दा ठूलो समस्या नङ हो। हात्तीको खुट्टाको टेक्ने भागलाई प्याड भनिन्छ। हात्तीको अगाडिका खुट्टामा पाँच/पाँच वटा र पछाडिको खुट्टामा चार/चार नङ हुने गर्दछन्। ती नङ प्याडभन्दा लामो हुँदै गर्दा नङ फुट्ने, माटो छिर्ने, पाक्नेजस्ता समस्या आउने उनले जानकारी दिए। हात्तीको खुट्टाको नङ चार/चार महिनामा काट्नुपर्ने हुन्छ ।

शिविरमा यसलाई प्राथमिकता दिइँदैछ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार शिविरमार्फत निकुञ्जमा हात्ती रहेका सबै ठाउँमा पशु चिकित्सक र प्राविधिक पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्नेछन्। यसअघि नोभेम्बर १ देखि चार दिनसम्म बर्दियामा रहेका १३ हात्तीको स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रकाशित: २० कार्तिक २०८० १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =