भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको डिजास्टर रिलिफ सिस्टम

हिमाल प्रेस २० कार्तिक २०८० १६:४४
10
SHARES
भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको डिजास्टर रिलिफ सिस्टम

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालले विपद्को समयमा प्रभावितहरुको लागि प्रयोग गरिने ५ वटा डिजास्टर रिलिफ सिस्टम कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ।
भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका नागरिकको राहतका लागि डीआरएस कन्टेनर त्यसतर्फ पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट जाजरकोटका लागि ३ वटा र नं. २९ ज्वालामाई गण दाङबाट २ वटा कन्टेर रुकुम पश्चिमका लागि पठाइएको हो। ती कन्टेनरमा उपलब्ध साधनस्रोतबाट सम्बन्धित क्षेत्रमा अस्थायी बसोबासका लागि संरचना निर्माण भइसकेका छन्।

जाजरकोट जिल्लाको भेरी नगरपालिकास्थित त्रिभुवन उच्च माध्यमिक विद्यालय र सोही नगरपालिका-१ रावतगाउँमा अस्थायी संरचना निर्माण भइसकेको थापाले बताए। उनका अनुसार रुकुम पश्चिमको सानोभेरी गाउँपालिकामा समेत अस्थायी संरचना निर्माण भइसकेको छ।

नेपालस्थित अमेरिकी दूतावासबाट सहयोगस्वरुप प्राप्त ३३ वटा डीआरएस कन्टेनरमध्ये तीनवटा जाजरकोट र दुईवटा रुकुम पश्चिममा पठाइएको उनले बताए। बाँकी २८ वटा कन्टेनर सातै प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय र मातहतका युनिटमा विपद्को समयमा छिटोभन्दा छिटो प्रयोग गर्न सकिने गरी सुरक्षित भण्डारण गरी राखिएको छ। एउटा डीआरएस कन्टेनरमा एक सय जनाका लागि खाद्यान्नबाहेक सम्पूर्ण बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिएको हुन्छ। जसमा टेन्ट, भाडाकुँडा लगायतका सामाग्री हुन्छन्।

यसैगरी नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगल र नं. २२ गुहेश्वरी गण भक्तपुरमा सुरक्षित भण्डार गरी राखिएका १० हजार ७ सय थान टेन्टसहितको तीन वटा कन्टेनर समेत सशस्त्र प्रहरी बल नेपालको सुरक्षामा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको थापाले जानकारी दिए।

प्रकाशित: २० कार्तिक २०८० १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + one =