अन्तरदेशीय नाटक महोत्सव

प्रकृतिसँग जुधेर जोगिएकी जयमाया

विवेक विवश रेग्मी २० कार्तिक २०८० १५:१८
206
SHARES
प्रकृतिसँग जुधेर जोगिएकी जयमाया

सोमबार। बिहानको समय। इटहरीमा हरेक दिनभन्दा केही फरक दृश्य देखियो। बिहानका बेला कार्यालय जान हतारिरहने कर्मचारी नाटक पर्खिरहेका थिए। प्राध्यापक अध्यापन सकाएर छिटाछिटो नाटक हेर्न पुगिसकेका थिए। कोही पहिलोपटक नाटक हेर्न आएका थिए। दर्शक भीडमा कोही पुरानै नाटकप्रेमी देखिन्थे।

सोमबार बिहान इटहरीको किरात राई यायोख्या ‘तायारिप्ची’ भवनको प्रांगणमा देखिएको दृश्य हो यो। जहाँ नाटक हेर्नेको ओइरो लागेको थियो। इटहरीमा जारी तीनदिने ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ को दोस्रो दिन झापाको दमकस्थित ‘कदम थिएटर’ ले आफ्नो प्रस्तुति दिएको छ।

‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक प्रस्तुत भइरहँदा दर्शक घरी भावुक बने। कतिखेर दिल खोलेर हाँसे। अनि सोचमग्न बने। प्रसिद्व साहित्यकार इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ लाई सिजन दाहालले नाट्य रूपान्तरण गरेका हुन्।

दोस्रो विश्वयुद्धताका बर्मामा बसेका नेपाली आफ्नो ज्यान जोगाउन भारततर्फ प्रस्थान गर्दा बाटोमै प्राण गुमाउनुपरेको कथा नाटकमा देखाइएको छ। नाटकअनुसार नेपालीभाषी बर्माबाट ज्यान जोगाउन उक्त ठाउँ छाडेर हिँड्छन्। कोही असमतर्फ त कोही लिखापानीतर्फ जान्छन्। तर बाटोमा आइपर्ने व्यवधानको सामना गर्न नसक्दा एकबाहेक सबैले ज्यान गुमाउँछन्।

नाटककी पात्र जयमाया प्रकृतिसँग जुध्दै जोगिन्छिन्। कलिलो उमेरकी उनले बाटोमै आमा गुमाउँछिन्। खोला तर्ने क्रममा बुबा अर्थात् सुबेदारले पनि ज्यान गुमाइसकेका हुन्छन्। अरू गाउँले पनि कसैले बाटोमै ज्यान गुमाउँछन् त कसैले आफ्नै मान्छेलाई मारेका घटना पनि नाटकमा छन्।

यसबेला जयमाया एक्लै छिन्। भर्खरैकी उनलाई रहरको रेखा छ। उनीसँगको जयबहादुरको प्रेमले दर्शकको ध्यान तान्छ। त्यसो त मान्छेको डरले मान्छेबाटै ज्यान जोगाउन हिँडेका गाउँले अन्ततः प्रकृतिसँगै हार्ने दृश्यले दर्शकलाई भावुक बनाउँछ।

बाँच्नेहरू आफ्नै ठाउँमा बाँचे तर मर्नेहरू प्रकृतिका कारण मरेको दृश्यलाई नाटकमा कारुणिक ढंगले प्रस्तुत गरेको छ। जेजस्तो भए पनि आफ्नो ठाउँमा बाँच्नुपर्छ भन्ने सन्देश नाटकले दिएको छ। आफ्नो थातथलो छाड्नु हुँदैन नाटकले भन्छ।

पछिल्लो समय देश छाडेर बिदेसिनेको संख्या बढिरहँदा नाटकले भने देशमै बस्नुपर्छ भनिरहेको छ। ‘देश छाड्नु ठीक होइन भन्ने सन्देश पनि दिएको छ,’ नाटक हेरिसकेपछि एक दर्शकले भने, ‘आफ्ना सन्तानका लागि भए पनि देशमै रहनुपर्छ भन्ने सन्देश छ।’

जीवन बरालको निर्देशनमा तयार भएको नाटकमा अनिल दुलाल, आयुुष खतिवडा, जंग मगर, पारुमा राई, पुनम भुजेल, पुष्प राई, भरत मगर, नवीन भण्डारी, नवीन रिजाल, रश्मि उप्रेती, रोशन मुर्मु, विवेक राउत, संचिता लामा र सुषमा मगरले अभिनय गरेका छन्।

नेपथ्यमा मञ्च परिकल्पनाकार मनिक शंकर, प्रकाश परिकल्पनाकार दीप खरेल, संगीत परिकल्पनाकार चोमु शेर्पा खुशी, सुवाचन्द्र खरेल र पुष्प राई रहेका छन्। सुवासचन्द्र खरेल नाटकको सहनिर्देशक हुन्।

आइतबार सुरु भएको दोस्रो अन्तरदेशीय साझा रंगमञ्चको पहिलो दिनमा भने भारतको पश्चिम बंगालका रंगकर्मीहरूले नाटक प्रस्तुत गरेका थिए। कृष्णनगर जीवोनेर एकतान, भारतको प्रस्तुति तथा शुभ्रा रोयको निर्देशनमा ‘एकटु अगुन दे’ नाटक प्रस्तुत गरियो। जुन नाटक दर्शकले निकै मन पराए।

सोमबार साँझ ४ बजे ‘आरोहण गुरुकुल विराटनगर’ नाट्य समूहले नाटक ‘नेता जी’ प्रस्तुत गर्नेछ। उक्त नाटक भरत कार्कीले निर्देशन गरेका हुन्। त्यस्तै कात्तिक २१ मा बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गर्दैछ। नाटक प्रज्वल पराजुलीले निर्देशन गरेका छन्।

यसअघि शुक्रबार र शनिबार सोही नाटक एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजनामा प्रस्तुत गरिएको आयोजक कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले बताए।

प्रकाशित: २० कार्तिक २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =