भूकम्पपीडित भन्छन्, ‘भाग्यले बाँचेँ’

हिमाल प्रेस १८ कार्तिक २०८० २२:२५
12
SHARES
भूकम्पपीडित भन्छन्, ‘भाग्यले बाँचेँ’ भूकम्पमा परी घाइते भएका जाजरकोट भेरी नगरपालिका-३ का विमलकुमार कार्कीको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार हुँदै। तस्बिर : रासस

खजुरा– जाजरकोट भेरी नगरपालिका–३ खलंगाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भएका छन्। उनी शुक्रबार रातिको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए।

उद्धारपछि कार्कीले भने, ‘भाग्यले बाँचेँ।’ दुईतले कच्ची घरमा राति एक्लै सुतिरहेका बेला एक्कासी भूकम्प गएको र ब्युँझिएर अत्तालिएर घरबाट बाहिर निस्कन खोज्दा घर ढल्दा च्यापिएर घाइते भएको उनले बताए।

उनले भने, ‘भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ र माटोले मेरो दुईवटै खुट्टा च्यापियो। रातिको समय थियो, एकछिन होसहवास गुम्यो। होस आउँदा म बेस्सरी कराएँ। आधा घण्टापछि भतिज मन्दीप कार्की आयो। राति साढे १ बजे अस्पताल पुगेँ।’

काका चिच्चयाएको आवाज सुनेर आफू दौडेर पुगेको घाइते कार्कीका भतिज मन्दीपले बताए। ‘म पुगेपछि वरिपरिका मानिसलाई बोलाएर स्टेचरमा बोकेर जाजरकोट अस्पताल पुर्‍याऔँ र त्यहाँ पनि घटनाका घाइतेको ठूलो भीडभाड रहेछ। डाक्टरले उहाँलाई राति साढे ३ बजे नेपालगन्ज सिफारिस गर्नुभयो।’

मन्दीपले काकालाई शनिबार बिहान साढे ७ बजे एम्बुलेन्समा राखेर भेरी अस्पतालमा ल्याएका हुन्। विमलकुमारको दाहिने खुट्टाको दुई भाग भाँचिएको छ।

हालसम्म ३२ जना घाइतेलाई ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले जानकारी दिए। उनका अनुसार ३२ घाइतेमध्ये दुई जनाको अवस्था जटिल छ।

भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा उपचारको व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। उनका अनुसार घाइते तथा घाइतेका आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको छ।

प्रकाशित: १८ कार्तिक २०८० २२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =