हमासको आत्मसमर्पणपछि मात्र युद्ध विराम हुनेछ : इजरायली राजदूत गोडेर

हिमाल प्रेस १६ कार्तिक २०८० २१:५७
22
SHARES
हमासको आत्मसमर्पणपछि मात्र युद्ध विराम हुनेछ : इजरायली राजदूत गोडेर

काठमाडौँ- राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणको क्रममा गत आइतबार इजरायललाई गाजा क्षेत्रमा आक्रमण रोक्न पटकपटक गरेको आग्रहप्रति प्रश्न गर्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले भने,‘सर्प आफू नजिक आइसकेको छ भने त्यसलाई सँगै राखेर ढुक्कले बस्न सकिन्छ? यदि त्यस्तो भुल गरेमा सर्पले अवश्य टोक्नेछ इजरायलले अब त्यस्तो भुल गर्ने छैन।’

गुटेरेसले गाजा क्षेत्रमा करिब २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएका र असुरक्षित जीवन बिताइरहेका भन्दै आपतकालीन मानवीय युद्ध विरामका लागि अपिल गरेका थिए।

त्यही अपिललाई उनले हमासको बमबाढीबाट बाँचेर आएका तीन नेपालीलाई सँगै राखेर भने, ‘इजरायलमाथि गत अक्टोबर ७ मा जमिन, समुद्र र हवाईमार्गबाट आतंककारी आक्रमण गर्ने हमासले आत्मसमर्पण गरेर हतियार नबुझाएसम्म इजरायलले कुनै पनि हालतमा युद्ध विराम गर्दैन।’

हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीको शान्तिको कामना गर्दै विशालनगरस्थित निवासमा बिहीबार उनले दीप प्रज्वलन कार्यक्रम गरेका थिए। सोही कार्यक्रममा उनले तीन जना नेपालीतर्फ देखाउँदै भने, ‘उहाँहरू कसरी बाँचेर आउनु भएको छ। त्यो उहाँहरूलाई थाहा छ। नेपाल सरकार त आफ्नै नागरिकको हत्या गर्नेकै पक्षमा समेत उभिएको देखियो।’

उनले राष्ट्रसंघमा गरेको भोटको प्रसंग पनि कोट्याए। ‘नेपालले राष्ट्रसंघमा गरेको भोट इजरायलले कहिल्यै भुल्ने छैन,’ उनले भने, ‘आक्रमणकारीको पक्षमा पनि मित्रले भोट गर्ला भनेर इजरायलले कहिल्यै सोच्दैन। तर, त्यो भइरहेको छ। आफ्ना नागरिकलाई बंकरबाट थुतेर लगेर मार्नेको पक्षमा सरकारले कसरी बोल्न सकेको होला। आतंककारीलाई आतंककारी भन्न सक्नुपर्छ। भारतले मित्रता देखायो, नेपाल चुक्यो।’

घरघरमा घुसेर सर्वसाधारणलाई मार्ने, वृद्धवृद्धा र बच्चाहरूको अपहरण गर्ने, गर्भवती महिला र दुधे बालकलाईसमेत नछाड्ने आतंककारी हमासलाई खत्तम नगरिकन इजरायलले आफ्नो नागरिकको सुरक्षा गर्न नसक्ने उनको भनाइ थियो।

‘हामी प्यालेष्टिनी नागरिक र बालबालिकाहरूलाई नियतपूर्वक मार्ने वा दुःख पुर्‍याउने काम गर्दैनौँ,’ उनले भने, ‘हामीले उनीहरूलाई गाजा क्षेत्र छाडेर सुरक्षित स्थानमा जान दुई साताको समय दिएका छौं।’

अब लड्नुको विकल्प नरहेको उनको भनाइ थियो। ‘हामी हाम्रो क्षेत्रमा शान्तसँग बसिरहँदा हामीलाई कसैले लगानी गरिरहेको आतंककारी समूहले निर्दोशलाई मार्छ भने चुप लागेर बस्न त मिलेन नि,’ उनले भने, ‘हामीले प्यालेस्टाइनलाई त्यहाँबाट सर्न समय दिएका छौँ। तर हामी छिरेपछि हमाससँग युद्ध त हुन्छ नै, दुवै पक्षबाट अन्धाधुन्द गोलाबारुद हुन्छ। त्यतिबेला निर्दोष नागरिकहरू पनि पर्नेछन्, त्यसको हामीलाई चिन्ता र खेद छ।’

आफूहरू युद्ध विराम गरेर निरीह बन्न नसक्ने उनको भनाइ छ। ‘प्यालेष्टिनीहरूको सहअस्तित्वलाई स्वीकार गर्दै इजरायल पटकपटक युद्धबाट पछि हटेको छ,’ उनले भने, ‘तर यसलाई हमासले इजरायलको कमजोरीको रूपमा लियो।’

इजरायलीहरू नरम हुँदा आफ्ना नागरिक गुमाएका र जीवन गुमाउन चानचुने कुरा होइन भन्दै उनले यस पटक पनि त्यसैको मूल्य चुकाउनु परिरहेको बताए। ‘हामीले यो युद्धमा अझै धेरै मूल्य चुकाउनु पर्नेछ, त्यसको हामीलाई आभास छ। तर, हामी बाध्य छौं, युद्धबाट इजरायल पछि हट्न सक्दैन।’

पछिल्लो समय गाजाको इजिप्टसँगको सिमानास्थित रफाह नाकाबाट बुधबार थुप्रै विदेशी राहदानीबाहक र घाइते प्यालेष्टिनीहरू बाहिरिएका छन्। इजिप्टको मध्यस्थतामा नियन्त्रित रूपमा दुई सातासम्मका लागि खुलिएको उक्त नाकाबाट साढे सात हजार विदेशी नागरिकहरूले गाजा छाड्न सक्ने अनुमान गरिएको छ।

हमासले इजरायलमा आक्रमण गरेपछि बन्द भएको उक्त सीमा नाका ३ सातापछि खुलेकोमा अमेरिकी राष्ट्रपति जो बाइडनले कतारलाई धन्यवाद समेत दिएका छन्। हप्तौँदेखि गाजामा फसिरहेका गैर सैनिकहरूलाई गाजाबाट बाहिरिने व्यवस्थाका लागि कतारले गरेको कूटनीतिक प्रयासका लागि उनले धन्यवाद दिएका हुन्।

आँखै अगाडि १० साथी गुमायौँ

इजरायमा काम सिक्ने र कमाउने उद्देश्यले पुगेका नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परेका थिए। ती विद्यार्थीमध्ये १० जनाले ज्यान गुमाए। ज्यान जोगाएर फर्केका मध्ये तीन जना नेपाली विद्यार्थीले आफ्नै आँखाअगाडि १० साथीहरू मारिएको अवस्था सुकसुकाउँदै सुनाए।

बंकर र किचनको र्‍याकमा बसेर आफूहरू बाँच्न सफल भएको उनीहरूले सुनाए। ग्रेनाइटको छर्राले खुटुटा जलेकोसमेत देखाउँदै उनीहरूले आफूहरूलाई भगवानले बचाएको वा भाग्यले बाँच्न सफल पीडा पोखे। इजरायल पुगेर काम गरेको धेरै समय भएको नभएको उनीहरूको भनाइ थियो। इजरायल बुझ्नै नपाई एकाएक बम आक्रमणले असहज स्थिति बनेको उनीहरूको भनाइ थियो।

इजरायली सेना आएको भन्ने कुरा थाहा पाएर बाहिर निस्कँदा समेत हमासको सेनाले आक्रमण गरेको उनीहरूको भनाइ छ। ग्रेनाइट फालेको र अर्कोमा बंकरमा सर्नेक्रममा विपिन जोशी हराएको कुरा उनीहरूको भनाइ छ। त्यो समयमा उनीहरूको अगाडिबाट विपिनलाई हमासका सेनाले लगेका थिए।

थाई टोली पनि त्यही रहेको र उनीहरूसँग बंकर सर्ने काम भएको पनि उनीहरुले बताए। ज्यान बचाएर फर्किएका सुदुरपशिचम विश्वविद्यालयका कृषि तर्फका विद्यार्थी प्रमोद केसी, विरेन्द्र चौधरी र धनबहादुर चौधरीले आफ्नो कुरा सुनाएका हुन्।

उनीहरूको कुरा सुन्दा उनीहरु बंकरमा निकै असहज भएर ९ घण्टा रहे। त्यसको केही बेरमा अर्कोमा सरेको पनि सुनाए। उनीहरूका अनुसार लगातार ९ घण्टासम्म बमबारुद भइरह्यो। सिधा गोली हान्ने, ग्रैनाइट फाल्ने, आमालाई लतारर्दै साना बच्चालाई फाल्ने दृष्य सारै निर्मम देखिएका उनीहरूको भनाइ छ।

सिधा युद्ध देखेर डराएका उनीहरू इजरायली सरकारले निकै सहयोग गरेको बताउँछन्। अझ पनि पाए इजरायल नै जान उनीहरू लागि परेका छ्न्। ३० जनाले इजरायल जाने चाहना देखाइसकेका छन्।

हमासलाई अब केही गर्दैनन् भनेर विश्वास गर्दा इजरायलीहरू झुक्किएका हु्न। त्यसैले इजरायलले उनीहरूलाई सापको दर्जा दिँदै निर्मुल पार्ने भनेको पनि उनीहरूले सुनाए। हमास मात्र होइन इजरायलले हिज्गुल्लालाई पनि तह लगाउने देखिन्छ। त्यसो भएमा पश्चिम एसिया शान्त रहने विश्वास पनि उनीहरूको छ।

आफूहरू बसिरहेको आवासमा एक्कासी बमबारुद सुरु भएको र बमबहाडी रोकिएसँगै आक्रमण पनि सुरु भएको थियो। जसले गर्दा निकै असहजता आएको उनीहरूको भनाइ छ। तर केही समय रोकिएझैँ भएर लगातार ९ घण्टासम्म आक्रमण भइरह्यो। जसले गर्दा अधिक नेपालीहरू त्यहाँ परे।

जुन स्थानमा नेपालीबाहेक अन्य नागरिक खासै परेका छैनन्। ‘हाम्रो दूतावासको पहल पनि थियो होला तर देखिने गरि इजरायल सरकारको सहयोग, त्यहाँको सेनाको कार्य साँच्चै लोभलाग्दो थियो,’ एक विद्यार्थीले भने, ‘उनीहरूले हामीलाई निकै ठूलो जोखिमबाट झिकेर नेपाल फर्काएका थिए। यो चानचुने कुरो होइन। बाँचेर आइएको छ तर पनि इजरायल जान भने मन छ।’

प्रकाशित: १६ कार्तिक २०८० २१:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 19 =