पुस्तक चर्चा

एउटा पूर्वहाकिमको आँखाबाट ‘अथ हाकिमोऽवाच’ हेर्दा

रमेशप्रसाद खनाल २५ कार्तिक २०८० १३:२७
306
SHARES
एउटा पूर्वहाकिमको आँखाबाट ‘अथ हाकिमोऽवाच’ हेर्दा

अघिल्लो महिनाको एक दिन साँझसाँझ पर्न लागेको थियो। हातमा एक प्रति ‘अथ हाकिमोऽवाच’ नामक हास्यव्यंग्य निबन्ध संग्रह थमाउन मेरो निवास महांकाल हतारहतार आइपुगे जोरपाटी निवासी मेरा अनन्य बालसखा र कवि, समाजसेवी वसन्त रिजाल। पुस्तकका लेखक हुनुहुँदोरहेछ मुकुन्द आचार्य र यसको प्रकाशन गरेको रहेछ भैरव पुस्तकालय गुठीले असोज महिनामा र यसको लोकार्पण हुँदै रहेछ हास्यव्यंग्य लेखनका महामनीषी भैरव अर्यालले आफ्नो देहत्याग गर्नुभएको दिन अर्थात् असोज १९ मा।

‘लौ रमेश, यसपालि पर्सि शुक्रबारको कार्यक्रममा यो कृतिबारे तिमीले थोरै बोलिदिनुपर्‍यो है।’ म त अक्क न बक्क भएँ। न म त्यस्तो जान्ने विश्लेषक, न कुनै समालोचक न त कुनै स्थापित लेखक नै हुँ। न मैले यस्ता कृतिमा कुनै विशिष्ट अध्ययनअनुसन्धान नै गरेको छु, न म कुनै डिग्रीधारी विशेषज्ञ! मजस्तो सामान्य साहित्यको विद्यार्थी/पाठकलाई यति विद्वत् वर्गको गहन कृतिमाथि… अनि धेरै वरिष्ठ विद्वान् सर्जकहरू उपस्थित हुने कार्यक्रममा कसरी प्रस्तुति दिने हो – म त रनभुल्ल पर्दै थिएँ। वसन्त भने जसरी हावासरी आएका थिए, हुरीसरी हिँडि पनि हाले। मैले पनि हुरीकै रफ्तारमा हतारहतारमा पढ्नुपर्ने भयो पुस्तक। मसँग जम्मा दुई दिन थियो पुस्तक पढ्न र आफ्नो दिमाग निचोरनाचर पारेर केही मिठो नमिठो जे जस्तो हुन्छ अचार निस्किहाल्छ कि भनेर विचार गर्ने समय। परिणामत: ‘हतारको काम लतार’ भने जस्तो जेजस्तो जानेँ यो लेखोट ठसठस गर्दै भए पनि तयार पारेको छु। अब यो तितोमिठो बाक्लोमसिनो जे भो छ्यासमिसे अचारविचार केहीछिन झर्को लागिलागी भए पनि पढिदिनुभयो भने म कृतार्थ हुनेछु!

सर्वप्रथम ‘हाकिम’ भन्ने शब्दतर्फ नै जाऔँ। नि:सन्देह यो शब्दले शासक र सत्ताको प्रतिबिम्ब दिने भएकाले आममानिस यसप्रति सशंकित र त्रसित हुन्छन्। कुनै बेला आफू पनि तथाकथित ‘हाकिम’ भएर केही वर्षअघिदेखि सेवानिवृत्त जीवन यापन गरिरहेको म आजको आममान्छे पनि कुनै सरकारी कार्यालयमा जाँदा दैनिक जसो अनुभूत गर्दैछु। आज काम न काजको भएको म बबुरोलाई पुस्तकको शीर्षक ‘अथ हाकिमोऽवाच’ले नै व्यंग्य कसेको हो कि जस्तो पनि लाग्यो एकछिन।

शीर्षकले नै थला पार्ला जस्तो पो छ त गाँठे भन्ने ठानेँ। अब आफैँमाथि व्यंग्य गरेको पुस्तकका विषयमा के लेख्नु होला भन्या जस्तो नलागेको पनि होइन तर फेरि मित्रले त्यत्रो स्नेह र विश्वास गरेको छ; अब खुट्टा कमाएर भो, हात कमाएर भो भन्दै पुस्तक पढन थालेँ। अद्योपान्त पढिसकेपछि भने ढुक्क भएँ कि पुस्तकमा ‘हाकिम’ का मात्रै कुरा रहेनछन्। त्यसमा त देशका यावत् विसंगतिप्रति लेखक मुकुन्द आचार्यका निबन्धले कतै मज्जाले हसाउँदै कतै व्यंग्यको रसमा डुबाउँदै, कतै उराल्दै कतै पछार्दै अनि कतै सलल्ल बगाउँदै लग्नेरहेछ। फलत: यति कनिकुथी लेख्ने मति र हुति आएको छ- दंग परेको छु। हास्यव्यंग्य साहित्य पढेको मात्र, यसमा गहन सैद्धान्तिक ज्ञान र विश्लेषण गर्ने क्षमता नभएको मजस्तो सामान्य पाठकले वरिष्ठ हास्यव्यंग्यकार आचार्यजस्ता हस्तीको कृतिमाथि विश्लेषण गर्ने वा कृतिको समीक्षा र मूल्यांकन गर्ने अवसर पाउनु पनि पुर्पुरोमा लेखेरै ल्याएको रहेछ भन्ने ठान्दै पुस्तक आद्योपान्त पढिसकेपछि मेरो मनमा जन्मिएका अनुभव र अनुभूतिका यी केही झिल्काझुल्की मात्र हुन् भन्ने बुझेर त्यसैअनुरुप स्वीकारिदिनुहोला।आगे हजुरहरूको जो आदेश; जो मर्जी।

३५ वर्ष प्राध्यापन पेसासँगसँगै नियमित नेपाली वाङ्मयको हास्यव्यंग्य विधालाई आफ्नो सिर्जनाको केन्द्रबिन्दु बनाउनुभएका लगभग ८० वर्षे जवान सर्जकको यो पुस्तकमार्फत देश र समाजमा व्याप्त विषमता, विसंगति, अन्यायअत्याचार र भ्रष्टाचारको निर्ममतापूर्वक शल्यक्रिया गर्ने प्रयास गर्नुभएको रहेछ। नेपाली वाङ्मयको महत्त्वपूर्ण विधा हास्यव्यंग्य लेखन र प्रस्तुति तरबारको धारमा बसेर गर्नुपर्ने कर्म हो। सामान्यतया साहित्यका अन्य विधामा जस्तो यस विधामा अधिकतम स्वछन्द भएर लेख्ने स्वतन्त्रता सर्जकमा हुँदैन, उसले लेखनकर्म गर्दा ‘फुकी फुकी कदम चाल्नु’ पर्ने त छँदै छ।

अर्कोतिर पाठकलाई मनोरञ्जन दिलाउँदै व्यंग्यवाण निसानामा पार्नुपर्ने चुनौती पनि छ। निसाना सही ठाउँमा लागेन भने त्यत्रो मिहेनत र परिकल्पना गरी तयार पारेको सिर्जना व्यर्थ साबित हुन सक्छ वा प्रत्युत्पादक पनि हुन सक्छ। यसतर्फ सर्जक आचार्य मनग्य रूपमा सजग देखिनुहुन्छ। साहित्यको अत्यावश्यक मिठास र लालित्यलाई कायम गर्दै आफ्ना व्यंग्यवाणहरू यस हास्यव्यंग्य निबन्ध संग्रहमार्फत समाजमा व्याप्त विसंगति र विषमविरुद्ध गतिलो निसाना साँध्न सफल हुनुहुन्छ। याद गरौँ है पाठक, कतै हामीमध्ये कोही त्यो उहाँको निसानामा परेका हुन सक्छौँ; त्यस्तो भइहाल्यो भने बुझ्नुपर्छ लेखक आफ्नो मिसनमा सफल हुनुभयो किनभने हामीलाई छुने, हाम्रो मनमष्तिस्क स्पर्श गर्ने र चेतनाको झंकार बजाउने साहित्य उत्कृष्ट साहित्य हो।

नेपाली हास्यव्यंग्य लेखनका शीर्षपुरुष भैरव अर्यालको बसोबास र उहाँको महापरिनिर्वाण भएको यस भूमि गोकर्णेश्वर जोरपाटीमा रहेर उनकै विधालाई प्रवर्धन गर्ने साहस अथवा दुस्साहस प्रत्येक पुस्ताले गरिराख्नुपर्छ किनभने त्यो दुस्साहस नै भैरवका निमित्त हाम्रो साँचो सम्झना र श्रद्धाञ्जलि हुन्छ भन्ने मान्यता राख्छु म। यस कृतिका सर्जक यस अर्थमा शौभाग्यशाली हुनुभयो किनभने उहाँको कृति भैरवको यही भावभूमिमा सार्वजनिक भएको छ। यो पुस्तक उनै हास्यव्यंग्य महामनीषी भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार गुठीबाट प्रकाशन हुनु र त्यही गुठीको भवनमा भव्यताका साथ सार्वजनिक हुनु पनि आफैँमा एक गौरवमय ऐतिहासिक पल हो। मेरो आफ्नै अकर्मण्यताका कारण आचार्यका यसअघि प्रकाशित कुनै पनि कृति अहिलेसम्म पढ्ने शौभाग्य पाएको रहेनछु। तर खुसीको खबर ‘अथ हाकिमोऽवाच’ पढेपछि उहाँका अन्य कृति पनि खोजिखोजी पढ्ने हुटहुटी भने यसले बढाइदिएको छ।

पुस्तकमा संकलित ३२ छोटा छरिता निबन्ध र लेखकको एउटा अन्तर्वार्तासमेत समेटिएको पुस्तकको १७ औँ निबन्ध ‘अथ हाकिमोऽवाच’ बाट पुस्तकको नामकरण भएको छ। ३२ वटै निबन्धका बारेमा लेख्न सम्भव नभएकाले मैले संग्रहमा संग्रहित मलाई उत्कृष्ट लागेका पाँच निबन्ध बारे मात्र यहाँ संक्षेपमा चर्चा गरेको छु।

पुस्तकमा संग्रहित पहिलो व्यंग्य निबन्धले मलाई तुरुन्तै आकर्षित गरिहाल्यो। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई लक्ष्यित गरेजस्तो आभास हुने तर सबै राजनीतिकर्मीप्रति गरिएको व्यंग्य रहेछ पहिलो निबन्ध। नेता र गैँडा उस्तै हुन् भन्ने सुनेको थिएँ किनभने नेताहरूको छाला पनि गैँडाको छालाजस्तै बाक्लो हुन्छ र जति नै वाण हाने पनि कहिल्यै असर नपर्ने खालको हुन्छ रे। नेताहरू गहन साहित्यिक पुस्तक पढ्छन् भन्ने मलाई पटक्कै विश्वास छैन। पढे नै भने पनि न त्यसबाट प्रभावित हुन्छन् न आफ्नो गति र मति नै सुधार्नेवाला छन्। तर पनि लेखक सर्जकको प्राथमिक कर्तव्य देश र समाज सम्झेर उनीहरूको प्रवृत्तिलाई भण्डाफोर गर्नु हो। नेपाली राजनीतिको छलछाम, धोखाघडी र शासनसत्ता लिप्साका निमित्त जस्तोसुकै सम्झौता गर्न सक्ने केही नेताहरूमा रहने यस्तो चरित्रलाई गतिलो ‘दनक’ दिइएको यो एक उत्कृष्ट निबन्धमध्येमा पर्छ।

‘गर्नु गर्‍यौ गुरु गायब भएर’ शीर्षकको निबन्ध मेरो निमित्त यो संग्रहको उत्कृष्ट र मनमोहक निबन्ध हो। नेपाली आधुनिक कथा लेखनका प्रथम पुरुष गुरुप्रसाद मैनालीबारेको रोचक प्रसंग अनि मैनाली वीरगन्ज बसेबसेनन् भन्ने कुरा खोज्दै लेखकले वीरगन्जवासी नामुद साहित्यकार/ लेखकहरूसँग हाम्रो भेट गराउँदै उनीहरूसँगको अन्तरसंवाद प्रस्तुत गरेको यस निबन्धमा खास गरी रमेश गोर्खालीले उल्लेख गरेका मैनालीबारेका खोजमूलक जानकारीले भने मन्त्रमुग्ध बनाइदिन्छ। यो निबन्ध जति पटक पढे पनि मैनाली गुरु वीरगन्ज बसेबसेनन् थाहा पाउन भने जसै गरे पनि सकिएन। यस विषयमा लेखकको अर्को कृतिको पो प्रतीक्षा गर्नुपर्ने हो कि !

‘अथ हाकिमोऽवाच’ शीर्षकको निबन्धबाट पुस्तकको नामकरण भएकाले यो निबन्ध मेरो तेस्रो रोजाइमा पर्न गयो किनभने शीर्षकले इंगित गरेको प्रशासनमा व्याप्त हाकिमी प्रवृत्ति मात्र होइन स्थायी सरकार भनेर चिनिने सार्वजनिक प्रशासन र कर्मचारीमा व्याप्त ढिलासुस्ती, कामचोर प्रवृत्ति, घुसखोरीलगायतका दुर्गुणलाई व्यंग्यद्वारा चिरफार गरिएको छ। आज झन् यसमा राजनीतीकरण, दलीयतन्त्र र अझ दलभित्रको पनि गुटतन्त्र पनि घुसाइएपछि त प्रशासनको छवि विकृत र धुमिल बन्दै गएको छ ।

यस निबन्ध संग्रहमा समाहित मेरो निमित्त अर्को सर्वोत्कृष्ट रचना हो – ‘बालक हराएको सूचना’। यो निबन्ध नेपाली हास्यव्यंग्यको क्षेत्रमा नै एक उच्चतम प्रयोग हो भन्ने लाग्छ मलाई। नेपालमा राजनीतिक परिवर्तनसँगै सुरु भएको मूल्यमान्यताहरूको स्खलन र अवमूल्यनले राष्ट्रको अस्मिता नै कतै खतरामा पर्न जाने होइन भन्ने अवस्थामा राष्ट्रलाइ घचेट्ने अकर्मण्य नेतृत्व र शासकरूप्रति गरिएको कटाक्षले सबैको नेत्र विस्फारित गराउन सक्षम छ। यसलाई म यो संग्रहको एक सशक्त प्रस्तुति मान्दछु।

यसै संग्रहको मेरो निमित्त अर्को मनमस्तिष्क झक्झकाउने पाँचौँ निबन्ध हो – ‘शौचालय मन्त्री’। यस व्यंग्य निबन्धमार्फत लेखक नेपालको राज्य व्यवस्थाले सिर्जना गरेको दुर्गति र विसंगतिपूर्ण स्थितिप्रति कडा प्रहार गर्न चुक्नु भएको छैन।

अब ‘अथ हाकिमोऽवाच’ पुस्तकका केही प्रमुख विशेषता संक्षेपमा उल्लेख गर्दछु –

१. दैनिक, साप्ताहिक, मासिक आदि पत्रपत्रिकाको निमित्त भनेर लेखिएका निबन्धहरूको संग्रह भएर सायद पत्रपत्रिकामा हुने स्थानाभावलाई दृष्टिगत गरी लेखिएका कारण अधिकांश निबन्ध संक्षिप्त छन् तर तार्किक, मिठासपूर्ण, चोटिलो र सटिक छन्। यिनले पाठकमा तुरुन्तै प्रभाव पार्ने क्षमता मात्र राख्दैनन्, सम्प्रेषण गर्न खोजिएको सन्देश राम्रोसँग प्रवाहित पनि गर्दछन्।

२. शिक्षणका साथै निरन्तर अखबारी लेखनमा समेत संलग्न लेखकले पत्रकारिता पेसामा देखिएका गैरजिम्मेवारीपन, विश्वसनीयताको क्षयीकरण र इमानहीनताले ह्रास हुँदै गएको यसको शालीन, जिम्मेवार, ज्ञान र सूचनाको संवाहकको छविप्रति पनि आफ्ना निबन्धमार्फत व्यंग्यवाण हान्न र खबरदारी गर्न छोड्नुभएको छैन। आजको पत्रकारिताले आफ्नो काम, कर्तव्य, लक्ष्य, निष्पक्षता र इमान गुमाउँदै गएकोमा लेखक दुखित हुँदै यसलाई सही बाटोमा ल्याउन व्यंगको मार्ग अवलम्बन गर्नु भएको अनुभुव हुन्छ।

३. तराई मधेशमा ४/५ पुस्ता बिताउनुभएका आचार्यको जन्म तथा कर्मभूमि बारा, पर्सालगायतका क्षेत्रको चित्रण अनि तराईमा विद्यमान विभेद, शोषण, पिछडिएका वर्गप्रति सरकार र राजनीतिक नेतृत्वको उदासीनतालाई पनि उहाँले आफ्नो व्यंग्य लेखनको क्षेत्र बनाउनुभएको छ जुन स्वाभाविक पनि लाग्छ। आफू बाँचेको समय र समाजका तितामिठा अनुभव पाठकलाई पठनयोग्य बनाएर पस्कन सक्नु नै सायद एक सर्जकको सफलता होला र त्यसमा लेखक आचार्य पूर्ण रूपमा सफल हुनुहुन्छ। कलैयास्थित भरतचोकबारे दुई/दुईवटा निबन्ध लेख्नु अनि वीरगन्जका विभिन्न स्थानको घटनाक्रम र तराई जीवनको उहापोहलाई जुन रूपमा प्रस्तुत गर्नुभएको छ त्यसले निबन्धहरूमा आञ्चलिकताको छनक आउँछ। यस अर्थमा यो कृति नेपाली साहित्यको श्रीवृद्धिमा एक गतिलो उपहार र महत्त्वपूर्ण योगदान भएकोमा सन्देह छैन।

४. पुस्तकमा संग्रहित निबन्धको अर्को विशेषता के देखिन्छ भने निबन्धहरू धर्म, संस्कृतिका नाममा हुने ढोंग र देखावटीपनाविरुद्ध छन् र लेखक तीमार्फत त्यस्ता प्रवृत्तिप्रति व्यंग्यवाण हान्न छोड्नु हुन्न। निबन्धहरूले हामी बाँचिरहेको समाज र देशको परिवेशलाई हास्य र व्यंग्यको गुलियो रसमा घुलित गराउँदै पाठकलाई यथार्थबोध गराएको आभास हुन्छ।

५. सबै निबन्धहरू बोधगम्य, सलल्ल बगेको, सुललित वाक्य विन्यास भएको र एक आम पाठकले पनि सहजै बुझ्न सक्ने शैलीमा लेखिएका छन्। निबन्धहरू छोटा भएर पनि अर्थपूर्ण एवं सन्देशपूर्ण हुनु यिनका थप विशेषता हुन्। लेखकले आफ्नो ‘वकपत्र’ मा भन्नुभएजस्तै ‘सन्देश सम्प्रेषण गर्नु हास्यव्यंग्यको उद्देश्य हो’ भन्ने भनाइलाइ शतप्रतिशत न्याय गरिएको अनुभूति हुन्छ संकलित निबन्ध पढ्दै जाँदा।

६. निबन्धहरूलाई रसिलो र झरिलो बनाउन नेपाली उखानटुक्काहरू र दैनिक बोलीचालीमा प्रयोग हुने केही भनाइसमेत यथेष्ठ प्रयोग गरिएको पाइन्छ तर परिवर्तित सन्दर्भमा कतिपय भनाइ र उखानटुक्काहरू प्रयोग गर्दा केही ध्यान दिएको भए अझ बेस हुने थियो जस्तो लाग्छ। हुन त यी निबन्धहरू लेखिएको समय, परिस्थिति र परिवेश आजको नेपाली समाजको भन्दा नितान्त बेग्लै थियो तर पनि आवश्यक सम्पादन गरिएको भए अझ सुनमा सुगन्ध हुने थियो।

मकवानपुर गढीमा २००१ मा जन्मनुभएका लेखकका ‘ हाकिमोऽवाच’ सहित ‘विगत र वर्तमान’, ‘पठठो बन्ने रहरमा’, ‘नेताको रूपलाई चुरोटको धूप’, ‘प्रश्न सोझा उत्तर बाउठा’, ‘नेपालमा भोजपुरी गद्य साहित्य’, ‘भोजपुरी उखान टुक्का’ ‘भानुभक्तीय रामायण’ (भोजपुरीमा अनुवाद),भागवद गीता(भोजपुरीमा अनुवाद), हरिबंशराय वच्चनको ‘मधुशाला’ (भोजपुरीमा अनुवाद), गणेश लाठको नेपाली उपन्यास ‘अनुराधा भवन’ (भोजपुरीमा अनुवाद), बद्रीनारायण दासको ‘गायत्री विज्ञान’ र ‘रुद्राक्ष माहात्म्य’ (मैथलीबाट नेपालीमा अनुवाद) आदि कृति प्रकाशित छन्। नेपालका प्रख्यात साप्ताहिक पत्रिका तथा अन्य प्रतिष्ठित साहित्यिक पत्रिकामा समेत नियमित व्यंग्य लेखन गरेका लेखकका प्रकाशित अन्य कृतिहरू पनि खोजेर प्रकाशन गरियो भने नेपाली हास्यव्यंग्य विधा थप समृद्ध हुनेमा दुईमत नहोला। वरिष्ठ हास्यव्यंग्यकार मुकुन्द आचार्यका आगामी दिनमा यस प्रकारका अन्य गहन कृति पनि प्रकाशित हुँदै जाऊन् र उहाँको आगामी सिर्जना कर्म थप सफल हुँदै जाओस् भन्ने कामना पनि गर्नुपर्दछ।

यति बखान गरिसकेपछि (सर्जक मुकुन्द आचार्यको अलिकति नक्कल गर्न अनुमति लिँदै), मेरो छेउ न टुप्पोको यो गन्थन यसरी ध्यानपूर्वक पढ्नुहुने यहाँहरू विद्वत्‌जन सबै ‘सुन्नेलाई सुनको माला’ टक्र्याउने मेरो विचार थियो। तर कोटेश्वरमा समातिएको १ टन सुन बानेश्वरनिर पुगेर गाल्दा ४० किलो मात्र बाँकी हुन गएकोले बाँकी रहेको सुन ठुलाबडा नेतागण, तिनका परिवार र आउरेबाउरेको नैसर्गिक हक हुने हाम्रो देश नेपालको चलिआएको परम्परागत चलन भएकाले तपाईँहरूले ‘सुनको माला’ सुन्नुमात्रै पर्ने भयो, पाउने कुनै अन्देसा रहेन। ल-सुनको माला दिऊँ भने घाँटीमा सुनभन्दा पनि महँगो लसुन भएको बेला कसरी सक्नु भनेर त्यो पनि दिन नसक्ने भएँ। अब ‘फूलको माला’ भए पनि टक्र्याउन हुन्थ्यो यहाँ पाठकलाई तर त्यो पनि म यो गन्थन गर्नेले आफैँ लाउनुपर्‍यो चलनअनुसार भन्नेको ‘फूलको माला’ माथि हक हुने भएकाले। के गर्नु ! त्यसैले यसपालि यस्तै चालामाला भयो। अबदेखि कथा भन्दा ‘सुन्नेलाई सुनको माला’ भन्ने आहान प्रयोग गर्न नपाइने भन्दै जसरी मानिसहरू ‘ओम्’ खारेज गर्ने भनेर उफ्रीउफ्री हिँडेका छन् त्यसै गरी यो आहान पनि खारेज गरियोस् भन्ने निवेदन आजै नेपालको सबैभन्दा ठूलो हाकिम परधान मुन्तरीकहाँ दर्ता गर्न डेलिगेसन जाने हो भने ‘अथ हाकिमोऽवाच’ पढेको पनि सार्थक होला; मित्रहरू- त्यसो गरे कसो होला भन्दै यो गन्थन यही बिट मादर्छु। जदौ!!
[लेखकले भैरव स्मृति दिवसका दिन प्रस्तुत गरेको उल्लिखित पुस्तकमाथिको परिचर्चाको सम्पादित अंश।]

कूटनीति र साहित्य लेखनमा रुचि भएका लेखक जर्मनीका लागि नेपालका पूर्वराजदूत र पूर्वशिष्टाचार महापाल हुन्।

प्रकाशित: २५ कार्तिक २०८० १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =