मकवानपुर मोटरसाइकल दुर्घटना : तीनै जनाको मृत्यु

हिमाल प्रेस १४ मंसिर २०८० १८:५०
12
SHARES
मकवानपुर मोटरसाइकल दुर्घटना : तीनै जनाको मृत्यु

मकवानपुर- मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२, धवाडीपुलस्थित भित्री सडकखण्डमा आज (बिहीबार) दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङ्तानको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार दिउँसो १ बजेको समयमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई उक्त स्थानस्थित पुल छेउबाट अन्दाजी १२ मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका भीमबहादुरको हेटौँडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।

उक्त दुर्घटनामा परेर यसअघि उनकी श्रीमती ३४ वर्षीया रुपा स्याङ्तान र पाँच महिने छोरीको घटनास्थलमै मृत्यु भएको थियो।

मृतक तीनै जनाको शव हेटौँडा अस्पतालमा राखिएको छ। उक्त घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। रासस

प्रकाशित: १४ मंसिर २०८० १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + ten =