५ लाख बढी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा सडक महोत्सवले रजत जयन्ती मनाउँदै

हिमाल प्रेस १० मंसिर २०८० १७:५२
10
SHARES
५ लाख बढी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा सडक महोत्सवले रजत जयन्ती मनाउँदै

पोखरा- पोखराकै ब्रान्ड बन्दै आएको पोखरा सडक महोत्सवले यस वर्ष रजत जयन्ती मनाउँदै छ। २५ औं संस्करणको सडक महोत्सवको तयारीमा आयोजक रेवान पोखरा जुटेको छ।

अंग्रेजी नयाँ वर्ष अवसरमा फेवाताल किनार लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रफलको सडकमै आयोजना गरिने यो महोत्सव नेपालकै सबैभन्दा ठूलो सडक महोत्सव हो। जहाँ मानिसहरू सडकमै खाने र सडकमै रमाउने गर्दछन्।

आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने यो महोत्सव यसपालि १२ देखि १६ पुससम्म चल्नेछ। पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा २५ औं पोखरा सडक महोत्सवका संयोजक विश्वराज पौडेलले महोत्सवबाट पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना तथा समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरे।

आयोजकले विगतको तुलनामा यसपालि बढी पाहुना भित्राउने अपेक्षा गरेको छ। पोखरा सडक महोत्सवमा पाँच लाख बढी आन्तरिक पाहुना भित्राउने लक्ष्य उनीहरूको छ।

महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, दोहोरीगीत प्रतियोगिता, झाँकी प्रदर्शनी, कन्सर्ट, बोट रेस, वेटर रे, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटक, पर्यटनबारे टस शो, हस्तकला, चित्रकला, मूर्तिकला, कृषि, बनस्पतीको प्रदर्शनी, चित्रकला, मःमः खसेज खाने प्रतियोगिता लगायत छन्।

महोत्सवको अवसरमा व्यवसायीहरूले सडकमै रेष्टुरेन्ट उतारेर विभिन्न परिकार चखाउने छन्। महोत्सव फिस्टेलगेटदेखि गैह्राको चौतारा हुँदै जरेश्वर लेकसाइडसम्म हुनेछ। गोर्खा ब्रुअरीको मुख्य प्रायोजनमा हुने महोत्सवको मूल नारा ‘सडकमै खाऔं, सडकमै रमाऔं’ रहेको छ।

पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराका पर्यटन व्यवसायीहरूले रेवानको सडक महोत्सवमा साढे ५ लाख बढी पाहुना भित्राउने लक्ष्य रहेको सुनाए। उनले विगतमा केही वर्ष कोरोनाले प्रभाव पारे पनि अहिले बिस्तारै सुध्रिदै गएको बताए। उनले पोखरामा यसपालि दसैं तिहारको बेलामा पर्यटन केही चलायमान बनेको र यसलाई कायम राख्न सबै जना लाग्नुपर्ने बताए।

रेबान पोखराका पूर्व अध्यक्ष सूर्य भुजेलले महोत्सव पोखराको चिनारी बनेको बताए। उनले विगतमा रेवान महोत्सव भनिनेमा सडक महोत्सव हुँदै पोखरा सडक महोत्सवरुपमा परिणत भएको बताए। यो महोतसव मुलुकमै सबैभन्दा ठूलो र पर्यटक आउजाउ गर्ने महोत्सव बनेको जनाए।

प्रकाशित: १० मंसिर २०८० १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =