घरमै प्रहरी निगरानीमा रहेका दुर्गा प्रसाईले भने- पक्राउ गरे पनि महाअभियान रोकिँदैन

हिमाल प्रेस ८ मंसिर २०८० १२:२६
56
SHARES
घरमै प्रहरी निगरानीमा रहेका दुर्गा प्रसाईले भने- पक्राउ गरे पनि महाअभियान रोकिँदैन

काठमाडौँ- अभियन्ता दुर्गा प्रसाईले गणतन्त्रविरोधी आन्दोलन नरोकिने बताएका छन्।

भक्तपुरको ठिमीस्थित घरमै पत्रकार सम्मेलन गरेर उनले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको समेत जानकारी गराए। उनको समूहलाई शुक्रबारदेखि तीनकुनेमा प्रदर्शनमा प्रशासनले अनुमति नदिएपछि प्रसाईले घरमै पत्रकार सम्मेलन गरेका हुन्।

उनको निवासमा निवास आसपसा प्रहरी तैनाथ गरिएको छ। प्रहरीले प्रसाईका केही समर्थकलाई पक्राउसमेत गरेको छ। उनले आफूलाई प्रहरीले होम अरस्टे गरेको दाबी गरेका छन्। तर प्रशासनले भने प्रसाईकै सुरक्षाका लागि निगरानीमा राखिएको जनाएको छ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले उनलाई नजरबन्दमा राखिएको नभई सुरक्षा चुनौतीका कारण निगरानीमा राखिएको बताएकी हुन्। उनले भनिन्, ‘उहाँकै सुरक्षाका कारण हामीले उहाँ र उहाँका कार्यकर्तालाई सुरक्षासहित निगरानीमा राखेका हौँ, नजरबन्द होइन।’

सरकारले थुने पनि सामना गर्ने र प्रहरीले नजरबन्द गरेका विषयमा आफू अचम्मित भएको उनले बताए। ‘गिरफ्तार गरे पनि आन्दोलन रोकिँदैन। प्रहरी हिरासतमा लानुस्। केही फरक पर्दैन’, उनले भने, ‘पक्राउ गरेर मेरो महाअभियान रोकिँदैन।’

राजनीतिक व्यवस्था परिवर्तन नहुन्जेल काठमाडौँका पसल बन्द गर्न उनले पत्रकार सम्मेलनबाटै आग्रह गरेका छन्। उनले भने, ‘दक्षिणकाली लगेर कालो बोको कटाउनुस्, म भाग्नेवाला छैन।’ महाअभियानलाई सामान्य नठान्न उनले सरकारलाई चेतावनी दिए।

प्रसाईको समूहले बिहीबार साँझ पत्रकार सम्मेलन गरी हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घरलक्षित आन्दोलन गर्ने घोषणा गरेका थिए।
तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुनेमा कुनै पनि समूहलाई आन्दोलन गर्न अनुमति नदिएको प्रस्ट पारेको छ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालको उत्तेजक, अराजक, हिंसात्मक, ध्वंसात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी काठमाडौँको तीनकुने क्षेत्रमा भेला जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

उनले गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान नगरिएको जनाएका छन्।

प्रकाशित: ८ मंसिर २०८० १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =