सरकारी कार्यालय खुले, कर्मचारी आएनन्

हिमाल प्रेस १ मंसिर २०८० १६:०८
6
SHARES
सरकारी कार्यालय खुले, कर्मचारी आएनन्

काठमाडौँ- तिहारको सार्वजनिक बिदापछि मुलुकभरका सरकारी कार्यालय खुलेका छन्। तर, कार्यालयमा सबै कर्मचारी उपस्थित नहुँदा चहलपहल कम छ।

तिहारको अवसरमा गत कात्तिक २६ देखि ३० गतेसम्म सार्वजनिक बिदा परेको थियो। आज मंसिर १ गते शुक्रबार कार्यालय खुले पनि भोलि शनिबार बिदा र आइतबार छठ पर्वको सार्वजनिक बिदा परेकाले कर्मचारीको उपस्थित कम देखिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार तिहारको बिदापछि आजदेखि सबै सरकारी कार्यालय सञ्चालनमा आएका हुन्।

लामो बिदापछि कार्यालय खुले पनि केही दिनभित्रै छठ पर्व पनि परेकाले कतिपय कर्मचारी छठ सकेर मात्र आउने गरी बिदामा बस्दा कार्यालय प्रभावकारी रूपमा सञ्चालन हुन सकेन।

सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने बैंक, मालपोत, सडक र विद्युत् कार्यालयमा केही चहलपहल देखिन्थ्यो भने अन्य कार्यालयमा नगन्य रह्यो।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल सामान्य छ। तिहारको पाँच दिनपछि कार्यालय खुलेपछि केही कार्यालयमा भने सेवाग्राहीको चहलपहल देखिन्थ्यो।

कार्यालय खुले पनि कर्मचारीको उपस्थिति न्यून रह्यो। तिहार र छठको निरन्तर बिदा परेकाले पनि कार्यालय सुनसान प्रायः देखिन्थे। सेवाग्राही पनि थोरै संख्यामा मात्र कार्यालय पुगेका छन्।

तिहारको माहोल सकिएर अहिले देशभर छठ पर्वको रौनक छाएको छ। संघीय राजधानी काठमाडौँ उपत्यकाका साथै तराईलगायत क्षेत्रमा छठ पूजाका लागि आवश्यक तयारी गरिएको छ।

प्रकाशित: १ मंसिर २०८० १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =