कांग्रेस महासमिति बैठकमा के विषयमाथि छलफल हुँदैछ?

२५ जिल्लामा अझै लागेन महासमिति सदस्यको टुंगो

सन्तोष अधिकारी १ मंसिर २०८० १३:३३
42
SHARES
कांग्रेस महासमिति बैठकमा के विषयमाथि छलफल हुँदैछ? कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक पुसमा काठमाडौँमा बस्दैछ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पछिल्लो केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १६-१९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गर्‍यो। यसअघि दुई पटकसम्म मिति तय भएर पनि बैठक बस्न सकेन। पछिल्लो पटक भने जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण बैठक सर्‍यो।

भूकम्पले जनधनको ठूलो क्षति भएको भन्दै कांग्रेसले तिहारसम्म सार्वजनिक कार्यक्रम स्थगित गरेको थियो। भूकम्पपीडितको तत्कालीन उद्धार पनि सकिएको र तिहार पनि सकिएसँगै कांग्रेस महासमिति बैठक तयारीमा जुटेको छ। महासमिति बैठकको मूल आयोजक समितिको संयोजक सभापति देउवा छन्। समितिको सदस्यहरूमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सभापति, यी जिल्लाका भ्रातृ संस्थाका अध्यक्ष छन्।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीको नीति महाधिवेशनको काम महासमितिले नै गर्ने गरी केन्द्रीय समितिले महासमिति बैठकको निर्णय गरेको बताए। २०७८ मंसिरमा १४औँ महाधिवेशन हुँदा नीतिबारे छलफल भएन। उक्त महाधिवेशनले सभापतिमा शेरबहादुर देउवासहित १३४ जनालाई निर्वाचित गर्‍यो। यो बेला महाधिवेशन भएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय पनि भएको थियो।

‘पार्टीको नीति महाधिवेशनको काम महासमितिले गर्ने गरी महासमिति बैठक बोलाउने निर्णय भएको हो,’ विश्वकर्माले भने, ‘सोहीअनुसार मंसिर २९ गते महासमिति बैठक बस्दैछ।’ महासमिति बैठकमा छलफल गर्ने एजेन्डाका विषयमा कांग्रेसले केन्द्रीय सदस्यहरूको सुझाव लिइसकेको छ। असोज ४-८ गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्नो सुझाव दिएका थिए। अब बस्ने बैठकमा  नीति प्रस्ताव पनि पेस हुँदैछ।

यसका लागि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टी पदाधिकारी र प्रवक्ता प्रकाशशरण महतलाई सदस्य राखेर प्रस्ताव तयारी समिति बनेको छ। नीति प्रस्ताव उपसभापति खड्काले, पार्टीको सांगठानिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले, समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गर्ने विश्वकर्माले बताए। आर्थिक प्रतिवेदन भने कसले पेस गर्ने अहिलेसम्म टुंगो लागिसकेको छैन। ‘समग्रमा चारवटा प्रतिवेदन पेस हुनेछन्। पार्टीमा कोषाध्यक्ष नभएकोले आर्थिक प्रतिवेदन कसले पेस गर्ने टुंगो लागेको छैन। उपसभापतिले नै पेस गर्न पनि सक्नुहुन्छ अथवा उहाँले कसैलाई खटाउन सक्नुहुनेछ।’

अहिलेको बैठक महासमिति बैठकमात्र नभई नीति महाधिवेशन नै भएकोले पार्टीको खास नीति पनि लिखित रुपमा आउने विश्वकर्मा बताउँछन्। बैठकमा स्वदेशमै रोजगारीको अवसर सृर्जनाबारे सरकारले गर्नुपर्ने काम, युवा, दक्ष जनशक्ति किन पलायन भइरहेको छ, पर्यटन विकासलाई कसरी लयमा फर्काउनेलगायतमा विषयमा पनि छलफल बताइएको छ।

नेताहरूले प्रतिवेदनमा केन्द्रीय समिति बैठकमा सदस्यहरूले दिएको सुझाव पनि समावेश गर्नेछन्।

महासमिति सदस्यले पार्टीको नीति बनाउने काम गर्छन्। महासमिति सदस्य बन्ने पनि कांग्रेसमा निर्वाचन हुने गर्छ। हरेक प्रतिनिधिसभा क्षेत्रीय समिति अधिवेशनबाट २५ जना महाधिवेशन प्रतिनिधि र तीमध्येबाट ११ जनाका दरले महासमिति सदस्य बन्छन्। यसअनुसार १६५ वटा निर्वाचन क्षेत्रबाट ११ जनाका दरले १८१५ जना महासमिति सदस्य बैठकमा सहभागी हुनआउनेछन्।

तर, २५ जिल्लामा महासमिति सदस्य नै चुनिएका छैनन्। ‘पार्टीकै आन्तरिक कारणले २५ जिल्लाबाट महासमिति सदस्यको टुंगो लगाउन बाँकी छ,’ पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘सबै २५ वटै जिल्लालाई मंसिर १० गतेभित्र महासमिति सदस्यको नाम केन्द्रमा पठाउनू भने निर्देशन भइसकेको छ।’ यसअघि असोज २९ गतेभित्र अन्तिम नाम पठाउन भनिएको थियो।

पार्टीका केन्द्रीय सदस्यले पनि उक्त बैठकमा भाग लिन पाउनेछन्। कांग्रेसमा अहिले केन्द्रीय सदस्यको संख्या १६६ जना छ। त्यस्तै सभापति देउवाले महासमिति बैठकका लागि १५ जनालाई मनोनीत गर्न पाउने व्यवस्था छ। देउवाले अझै मनोनीत गरिसकेका छैनन्।

पार्टीको जनसम्पर्क समितिबाट पनि महासमिति सदस्य बनेर आउन पाउने वैधानिक व्यवस्था छ। जसअनुसार जनसम्पर्क समिति भएको देशबाट बढीमा ६ जना महासमिति सदस्य आउन सक्छन्। त्यस्तै निवर्तमान केन्द्रीय कार्यसमिति सदस्य पनि एक पटकका लागि स्वत: महासमिति सदस्य हुनेछन्। भ्रातृ संस्थाबाट तीन जनाका दरले प्रतिनिधि सहभागी हुन पाउनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =