जगदीशपुर तालमा चल्यो स्टिमर, चरा हेर्न पर्यटक तान्ने अपेक्षा

विजय नेपाल २९ कार्तिक २०८० ६:५५
964
SHARES
जगदीशपुर तालमा चल्यो स्टिमर, चरा हेर्न पर्यटक तान्ने अपेक्षा

कपिलवस्तु- मानवनिर्मित जगदीशपुर तालको अनौठो विशेषता हो, यहाँ करिब १२० प्रजातिका चराको बासस्थान। कात्तिक अन्त्यसँगै चिसो छल्न ७ हजार किमि दुरी पार गरेर विदेशी चरा यहाँ आइपुग्छन्। त्यही चरासँगै १५७ हेक्टरमा फैलिएको मानवनिर्मित यो तालले बर्सेनि हजारौँ पर्यटकलाई तान्ने गरेको छ।  लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक जगदीशपुर तालले तिहार छेकोमा अर्को प्रडक्ट थपेको छ। त्यो हो, स्टिमर बोट अर्थात् मोटरबोट।

मंगलबार सञ्चालन सुरु भएको स्टिमरले आगामी दिनमा अझ बढी पर्यटक तान्ने अपेक्षा गरिएको छ। केही दिनको परीक्षण सफल भएपछि भाइटीकाको अघिल्लो दिनदेखि स्टिमर व्यावसायिक रूपमा सञ्चालन थालिएको जगदीशपुर जलालय बहुसरोकार मञ्चले जनाएको छ।

मञ्चका अध्यक्ष ललित गुरुङका अनुसार कपिलवस्तु नगरपालिका र मञ्च मिलेर साढे १३ लाखमा सर्लाहीबाट ल्याइएको नौसिटे स्टिमर चढेर एकैछिनमा तालको फन्को मार्न सकिन्छ। जसमा मञ्चको मात्रै पाँच लाख खर्च लागेको अध्यक्ष गुरुङले बताए।

तालमा पाँच वर्षयता पेडल बोट पनि सञ्चालित छ। रामसार तथा सिमसार सूचीमा समेत संरक्षित भएकाले पेडल निश्चित क्षेत्रमा मात्र चलाउन पाइने नियम बनाइएको छ। अध्यक्ष गुरुङले भने, ‘पेडल बोट निश्चित क्षेत्रमा मात्र चलाइएको र यहाँ आश्रित चरालाई नकारात्मक असर नपार्ने भएपछि पुनः स्टिमर थपिएको हो। यसले आगामी दिनमा पक्कै पनि पर्यटकीय प्रवर्धन गर्ने विश्वास छ।’

१५७ हेक्टरमा फैलिएको तालमध्ये पश्चिमतर्फ मात्र पाँच हेक्टरमा स्टिमर चलाइएको हो। सो क्षेत्रमा एक फन्को लगाउँदा आन्तरिक वा बाह्य पर्यटक दुवैले प्रतिव्यक्ति एक सय ५० रुपैयाँ तिर्नुपर्छ। यसअघि पेडल बोटमा प्रतिव्यक्ति एक सय रुपैयाँ लिइन्थ्यो। पेडल बोटमा मात्र चार जनामात्र अड्छन्।

जगदीशपुर तालको स्वामित्वमा विवाद कायमै रहेको मञ्चका सचिव सुन्दर पाण्डे बताउँछन्। उनी भन्छन्, ‘प्रदेश सरकारले आफ्नो भन्छ। स्थानीय सरकार भन्ने नै भयो। साथै सिमसार सूचीमा भएकाले वन कार्यालयले आफ्नो भन्छ भने सिँचाइ सुविधा पनि हुने भएकोले सिँचाइ कार्यालयले मेरो भन्छ।’

प्याब्सन कपिलवस्तु अध्यक्षसमेत रहेका मञ्च सचिव पाण्डेका अनुसार जिल्लामात्र नभई प्रदेशकै एक प्रमुख पर्यटकीय गन्तव्य भएकाले संरक्षणमा सबै जना लाग्नुपर्छ।

मानवनिर्मितमध्ये नेपालको सबैभन्दा ठूलो तथा एसियाकै दोस्रो ठूलो जगदीशपुर ताल जिल्ला सदरमुकामदेखि नाै किमि उत्तरतर्फ पर्छ। यहाँ विशेषगरी भारत, चीन, रुस, तुर्कमिनस्तान, किर्गिस्तान, काजकिस्तानलगायत देशबाट विशेष गरी हाँस प्रजातिका चरा लामो दुरी पार गरेर जाडो छल्न आउँछन्।

३२ स्तनधारी, ४३ प्रजातिका माछा, १५ प्रजातिका उभयचर, ४३ प्रजातिका घस्रिने जन्तु, २०१ प्रजातिका माछा पाइने जगदीशपुरमा ५० किलोसम्मको माछा भेटिएको स्थानीयले बताए। तालले ४७ लाख घनमिटर पानी भण्डारण गर्न सक्ने क्षमता बोकेको छ।

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी होस् वा उनले २९ वर्षसम्म बिताएको तिलौराकोट दरबारमा घुम्न आउनेहरूलाई समेत तालसम्म तान्न सकिन्छ। तिलौराकोट र तालको दुरी त मात्र सात किमि हो। ताल घुमिसकेपछि नजिकैको थारू बस्तीको होम स्टेमा रात बिताउन सकिन्छ।

विश्वका समेत लोपोन्मुख चराहरुको आगमनले यो क्षेत्रको महत्त्व बढाएको छ। लुम्बिनी, तिलौराकोट जस्तै शान्ति क्षेत्रको अनुभूति गराउँछ। नेपालीभन्दा बाहिरबाट धेरै चराहरु यहाँ आउँछन्। कात्तिक अन्त्यदेखि फागुन अन्त्यसम्म ६० देखि ६५ प्रजातिका चरा आउने गरेको पक्षी संरक्षण संघको अध्ययनमा पाइएको थियो। चराहरु आउने क्रम हरेक वर्ष बढ्दो छ। गत वर्ष १९ हजार चरा गणना गरिएको थियो। जगदीशपुर सन् २००३ मा विश्व सिमसारको सूचीमा सूचीकृत गरिएको थियो।

यसअघि जगदीशपुर तालबारे वृत्तचित्र बनाएकी मानवअधिकारकर्मी कल्पना नेपाल आचार्यले तालको खास संरक्षण तथा प्रचार हुन नसकेको बताउँछिन्। उनी भन्छिन्, यति धेरै महत्त्व बोकेको जगदीशपुर ताल लुम्बिनी प्रदेशमात्र नभई नेपालकै चिनारी हो। यसको संरक्षण र प्रचारमा सरोकारवाला निकायले ध्यान दिनुपर्छ।’

प्रकाशित: २९ कार्तिक २०८० ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eighteen =