पुरै गाउँ लसुन खेतीमा

हिमाल प्रेस २८ कार्तिक २०८० १६:०७
8
SHARES
पुरै गाउँ लसुन खेतीमा

त्रिवेणी (रुकुम पश्चिम)- वडालाई आर्थिक र”पमा समृद्ध बनाउन रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० को सिंगो गाउँ नै लसुन खेतीमा लागेको छ।

२०७५ सालअघि वडाको झ्याङ टोलमा थोरै मात्रामा किसानले लसुन खेती गरेका थिए। त्यसपछि व्यावसायिक रूपमा झ्याङका १२ किसानले एकैपटक लसुन खेती गर्न थालेपछि भने हाल वडाको सिंगो गाउँ नै व्यावसायिक लसुन खेतीमा आकर्षित छ।

वडाका किसानलाई व्यावसायिक लसुन खेतीमा आर्कषण तथा आर्थिक रूपमा समृद्ध बनाउन वडाले २०७५ सालमा पहिलोपटक अनुदानमा ४१ क्विन्टल लसुन वितरण गरेको थियो। त्यसयता वडामा व्यावसायिक रूपमा किसालने लसुन खेती गर्न थालेको वडाध्यक्ष धनबहादुर खड्काले बताए।

‘२०७५ सालसम्म किसानलाई आफूले उत्पादन गरेका लसुनलगायत तरकारी र अन्य कृषि उपज डोकोमा बोकेर करिब पाँच घण्टा हिँडेर सदरमुकाम मुसीकोट खलंगासम्म लगेर बेच्नु पर्ने बाध्यता थियो,’ उनले भने, ‘२०७६ सालदेखि गाउँ सडक सञ्जालमा जोडिएपछि भने किसानले उत्पादन गरेको लसुनलगायत अन्य उत्पादित तरकारी गाडीमा राखेर बजारसम्म लैजान थालेका छन्।’

वडाले पहिलोपटक लसुनको बीउ १२ जनालाई वितरण गरेको थियो। त्यसमा झ्याङका नदीराम खड्काले ३० किलो बीउ पाए। घर अगाडिको गहुँ लगाउने बारीमा पूरै लसुन खेती गरे।

पहिले मुस्किलले दुई हजार रुपैयाँ बराबरको एक मुरी गहुँ उत्पादन हुन्थ्यो। उनले लसुन खेती गरेर त्यति नै जग्गामा ३५ हजार रुपैयाँ आम्दानी गरे। लसुनबाट राम्रो कमाइ हुने देखेपछि वडाका अरु किसानलाई पनि लसुन खेती गर्ने ऊर्जा थपियो। अहिले गाउँ नै लसुन खेतीमा आकर्षित छ। सबैको बारीमा कमै भएपछि लसुन खेती देख्न सकिन्छ।

वडाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेर किसानलाई विभिन्न अनुदान कार्यक्रममार्फत वीउ वितरण गर्दै आएको छ। वडाको खड्का टोल, कामीबुढा टोल, नमुनावस्ती टोल, गलमपाटी टोल र भेरीखोला टोल गरेर गरिब दुई सय ४७ घरधुरीलाई यो वर्षका लागि ४८ क्विन्टल लसुनको बीउ अनुदानमा वितरण गरिएको छ। रासस

प्रकाशित: २८ कार्तिक २०८० १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =