टिकटक बन्द गर्ने सरकारी निर्णयको चौतर्फी आलोचना

हिमाल प्रेस २७ कार्तिक २०८० १६:१७
26
SHARES
टिकटक बन्द गर्ने सरकारी निर्णयको चौतर्फी आलोचना

काठमाडौँ- टिकटक बन्द गर्ने सरकारी निर्णयको चौतर्फी आलोचना भएको छ। प्रविधिमा आधारित ‘सर्ट टर्म भिडियो होस्टिङ एप’ नियमन गर्नुको साटो बन्द नै गर्ने निर्णय गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा सरकारको व्यापक आलोचना भइरहेको छ। सरकारी कदमको आलोचना गर्नेमा सत्ताधारी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, विपक्षी एमाले उपमहासचिव विष्णु रिमाल लगायत छन्।

विकसित प्रविधिलाई अनुशरण गरेर नियमन गर्नुको साटो बन्द गरेर सरकार उल्टो बाटो हिँडेको भन्दै सर्वसाधारणले पनि आलोचना थालेका हुन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक रहेको तर बन्द नै गर्नु गलत रहेको टिप्पणी गरेका छन्। सरकारले टिकटक बन्द गर्ने कदम सच्याउनुपर्ने माग थापाको छ।

एमाले महासचिव शंकर पोख्रेलले टिकटक बन्द उचित नभएको टिप्पण्णी गरेका छन्। ‘नियमनकारी कानुन बनाउदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्दगर्ने कुरा उचित भएन है,’ उनले फेसबुकमा लेखेका छन्, ‘अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन। कन्टेन आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो हो। ध्यान देउ।’

त्यस्तै एमाले उपमहासचिव विष्णु रिमालले टिकटक बन्द गर्नुभन्दा पनि नियम आवश्यक रहेको सुझाव दिएका छन्। ‘सरकार छनोट आधारित प्लेटफर्म बन्द गर्ने हैन, कन्टेन्ट नियमन गर,’ उनले ट्विटरमा लेखेका छन्, ‘अभिव्यक्तिमा अराजकता नियन्त्रण गर।’ पत्रकार शिवराज योगीले सरकारले आफ्नो अनुहारमा धुलो भएको तर ऐना नै फुटाइदिएको टिप्पणी गरेका छन्।

त्यस्तै पत्रकार हरि गजुरेलले धारामा पानी धमिलो आयो भनेर पाइप काट्ने क्रान्तिकारी निर्णय गरेको भन्दै सरकारको आलोचना गरेका छन्। सामाजिक सञ्जालमा सक्रिय  कुलुङ राईले माओवादी कार्यकर्ता शान्ति बरालका कारण सरकारले टिकटक बन्द गर्नु परेको टिप्पणी गरेका छन्।

यसअघि गत साता टिकटकमा शान्ति बरालको एउटा अनैतिक भिडियो भारइल भएको थियो। राईले सोही भिडियोलाई लक्षित गर्दै फेसबुकमा सरकारको आलोचना गरेका छन्। ‘बराल कमरेड साह्रै कडा,’ उनले फेसबुकमा लेखेका छन्, ‘एक सट टिकटक चैट।’

त्यस्तै केदार सिटौलाले दुर्गा प्रसाईको डरले सरकारले टिकटक बन्द गरेको उल्लेख गरेका छन्। ‘दुर्गा प्रसाईको डरले सरकारले टिकटक बन्द गर्यो,’ उनले फेसबुकमा लेखेका छन्, ‘दुर्गाले मंसिर ७ सम्म पनि पर्खिनु परेन। सरकारले कात्तिकै २७ मै आत्मसमर्पण गर्‍यो।’

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले तत्कालीन राजा ज्ञानेन्द्रले रेडियोको प्रसारण बन्द गराउन र प्रचण्ड नेतृत्वको सरकारले टिकटक बन्द गर्नु उस्तै रहेको टिप्पणी गरेका छन्।

प्राध्यापक कोषराज न्यौपानेले टिकटकमात्रै नभएर लोकतन्त्र नै बन्द गर्न सरकारलाई सुझाव दिएका छन्। ‘टिकटकमात्रै किन? लोकतन्त्रै बन्द गर् सरकार !!! तेरो मूर्खबुद्धि !!!,’ न्यौपानेले फेसबुकमा लेखेका छन्।

‘स्टाट आइयो’ वेबसाइटका अनुसार नेपालमा करिब साढे १३ लाख टिकटक प्रयोगकर्ता छन्। नेपालमा टिकटक प्रयोगकर्तामध्ये १८ वर्षदेखि २४ वर्षसम्म उमेरको संख्या ४६.८ प्रतिशत, सोभन्दामाथि ३४ वर्षसम्मको ४७.५ प्रतिशत सोभन्दामाथि ४४ वर्षसम्म ४ प्रतिशत रहेको अनुमान छ।

त्यस्तै ४५ देखि ५४ वर्षसम्म १.१ प्रतिशत र ५५ वर्षमाथिका ०.६ प्रतिशत रहेको उक्त वेबसाइटले उल्लेख गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकले सामाजिक विकृति बढेको भन्दै  बन्द गर्ने निर्णय गरेको थियो।

त्यस्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारी निर्णयको स्वागत गरेका छन्। साथै, उनले युट्युबलगायत अन्य सामाजिक सञ्जाललाई पनि नियमन गर्न माग गरेका छन्।

यस कारण बन्द गरियो टिकटक

टिकटक बन्द गर्नु सरकारको उल्टो कदम : गगन थापा

प्रकाशित: २७ कार्तिक २०८० १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =