ला लिगा : जिरोनालाई पछ्याउँदै रियल

हिमाल प्रेस २६ कार्तिक २०८० ७:५२
8
SHARES
ला लिगा : जिरोनालाई पछ्याउँदै रियल

काठमाडौँ- भिनिसियस जुनियर र रोड्रिगोले दुई-दुई गोल गरेपछि रियल म्याड्रिडले स्पेनी ला लिगामा भ्यालेन्सियालाई ५-१ ले पराजित गरेको छ। शनिबार रातिको यो जितपछि रियलले दोस्रो स्थानमाथिको पकड बलियो बनायो।

ला लिगाको शीर्षस्थानमा भने अझैँ पनि जिरोना नै छ। यो सिजन सबैलाई छक्क पार्नेगरी खेलिरहेको जिरोनाले शनिबारको खेलमा रायो भाएकानोलाई २-१ ले पन्छायो। १३ खेल खेल्दा एकमा मात्र हार भोगेको जिरोनासँग ३४ अंक छ। जारी सिजन जिरोनालाई हराउने एक मात्र टिम बनेको रियलले भने ३२ अंक बटुलेको छ।

ज्युड बेलिङहमबिना मैदान ओर्लिएको रियलले तेस्रो मिनेटमै अग्रता लिएको थियो। सान्टियागो बेर्नाबेउमा राइटब्याक डानी कार्भाहालले १८ यार्ड बक्सभन्दा बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

गोल खाएपछि भ्यालेन्सियाका खेलाडीले केही मौका सिर्जना गरेका थिए। तर केपा अरिजाबालागाको स्थानमा खेलिरहेका युवा गोलरक्षक आन्द्रे लुनिनले भ्यालेन्सियाका फरवार्ड ह्युगो डुरोका दुई आक्रमण विफल बनाइदिए।

पहिलो हाफको उत्तर्राद्धमा रियलले अग्रता दोब्बर बनायो। राइट विंगबाट रोड्रिगोले निकालेको ‘लो क्रस’ मा भिनिसयसले छातीले गोल गरेका थिए। दोस्रो हाफको ४९औँ मिनेटमा उनै भिनिसियसले रियलको तेस्रो गोल गरे। उनको प्रहारले भ्यालेन्सियाका गोलरक्षक जियोर्जी मामारडास्भीलाई सजिलै बिट गरेको थियो।

भिनिसियसले रियललाई ३-० को स्थितिमा पुर्‍याएको एक मिनेटपछि नै रोड्रिगोले गोल गरे। मामारडास्भीको खराब पासलाई नियन्त्रणमा लिँदै उनले सजिलै गोल गरेका थिए। रियलको पांचौँ गोल पनि रोड्रिगोकै नाममा रह्यो। फ्रान्सिस्को गार्सियाले दिएको बल लिएर भ्यालेन्सियाको बक्सतिर अघि बढेका रोड्रिगोले गाब्रियाल पाउलिस्टालाई छक्याउँदै प्रहार गरेका थिए। जुनमा सजिलै गोलमा परिणत भएको थियो।

निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा भ्यालेन्सियाले एक गोल फर्काएको थियो। ह्युगो गोन्जेलेजले राइट विंगबाट निकालेको क्रसमा डुरोले वान टच फिनिस गरेका थिए। २४ वर्षी स्पेनी स्ट्राइकरका लागि यो छैटौँ लिग गोल हो।

जितपछि रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टीले जिरोनासँगको दूरी छोट्याउँदै जानुपर्ने बताए। ‘जिरोना बाँकी टिमभन्दा राम्रो खेलिरहेको छ। युरोपेली क्लब प्रतियोगिता खेल्नु नपरिहेकाले पनि जिरोनालाई फाइदा छ। जे होस् यो टिम उपाधिका लागि लड्न तयार छ। यसमा मलाई कुनै शंका छैन,’ एन्सिलोट्टीले भने।

यो सिजन सबै ‘अवे’ खेल जितेको जिरोनाले भाएकानाको मैदानमा पुनरागमन जित दर्ता गर्‍यो। भाएकानोले अल्भारो गार्सियाको गोलमार्फत पाँचौ मिनेटमा अग्रता लिएको थियो। तर दोस्रो हाफमा जिरोनाले सरासर दुई गोल फर्कायो।

विजयी टिमका लागि युक्रेनी फरवार्ड आर्टेम डोभिकले ४२औँ र साभियोले ६५औँ मिनेटमा गोल गरे। डोभिकले जारी सिजनको सातौँ र १९ वर्षीय साभियोले चौथो गोल गरेका हुन्। क्याटलोनियाको क्लब जिरोना गत सिजन मात्र ला लिगामा बढुवा भएको हो। चौथो पटक स्पेनको शीर्ष श्रेणीको लिग खेलिरहेको जिरोनाले क्याटलोनियाकै बार्सिलोनालाई सात अंकले पछि पारिसकेको छ।

‘हामी हरेक खेल मेहनत गरेर खेल्न खोज्छौँ। अझ विपक्षीभन्दा पछि पर्दा त झन् मेहनत गरेर खेल्छौँ। टिमका कोही खेलाडी पनि सजिलै हार मान्ने खालका छैनौँ,’ जिरोनाका कप्तान तथा प्लेमेकर एलेक्स गार्सियाले भनेका छन्।

जिरोनाले रेलिगेसनबाट बच्ने लक्ष्यका सिजनको सुरुवात गरेको थियो। तर १३ खेलमध्ये ११ मा जित हात पारेपछि जिरोनाको लोभ बढेको छ। ‘हाम्रो लक्ष्य अब केवल रेलिगेसनबाट बच्ने मात्र होइन। हामी त्योभन्दा धेरै गर्नसक्छौँ। सायद सपना ठूलै बोक्नुपर्छ। अन्तिममा जे हुन्छ, स्वीकार गर्न तयार छौँ,’ गार्सियाले थपे।

प्रकाशित: २६ कार्तिक २०८० ७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =