‘गुटेरेसको सम्बोधनले विश्व समुदायमाझ नेपालको गौरव बढ्यो’

हिमाल प्रेस १४ कार्तिक २०८० २०:११
14
SHARES
‘गुटेरेसको सम्बोधनले विश्व समुदायमाझ नेपालको गौरव बढ्यो’

काठमाडौँ- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज (मंगलबार) गरेको सम्बोधनबाट विश्व समुदायमाझ नेपालको गौरव बढेको पूर्वसभामुखहरूले बताएका छन्।

महासचिव गुटेरेसको सम्बोधनपछि पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन, विश्वशान्ति कायम गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि खेलेको भूमिका र सहयोगको महासचिवबाट भएको सराहनाले बहुआयामिक सन्देश प्रवाह गरेको बताए। ‘राष्ट्रसंघको विश्वशान्ति स्थापनाको अभियानमा नेपालले पुर्‍याएको साथ र सहयोगको खुलेर प्रशंसा गर्नुभएको छ। छोटो मन्तव्यमा पनि महासचिवले नेपाल र नेपालको प्रतिष्ठा बढाउने धेरै कुराको संश्लेषण राख्नुभएको छ।’

सगरमाथा र अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेर जलवायु परिवर्तनबाट परेको असरबारे स्थानीयसँग जानकारी लिने र अवलोकन गर्ने कार्य हाम्रा लागि निकै महत्त्वपूर्ण विषय भएको पूर्वसभामुख सापकोटाले टिप्पणी गरे।

अर्का पूर्वसभामुख दमननाथ ढुंगानाले शान्ति प्रक्रिया आफैँ पूरा गर्न नेपाललाई सुझाव दिँदै आवश्यक परेको खण्डमा सहयोग गर्ने भनी देखाएको उदारता र दृष्टिकोण सराहनीय रहेको प्रतिक्रिया दिए। ‘महासचिवको मन्तव्यमा जलवायु परिवर्तनलाई निकै महत्त्व दिइएको छ, नेपालको विविधतालाई उहाँले राम्रोसँग बुझ्न र हेर्नु भएकाले हाम्रो नेतृत्वले राष्ट्रिय जलवायु कार्यसम्बन्धी अधिकार सम्पन्न संस्था बनाएर विश्वसंस्थासँग काम गरेमा परेका बाधा न्यून गर्न सहयोग पुग्छ,’ उनले भने।

शान्ति सेनामा नेपालको भूमिकाको महासचिवबाट राम्रो मूल्यांकन भएको उल्लेख गर्दै पूर्वसभामुख ढुंगानाले मन्तव्यका क्रममा महासचिवले दिवंगत सैनिकप्रति श्रद्धाञ्जली सम्मानका लागि गरेको आग्रह त्यसको उदाहरण भएको प्रतिक्रिया दिए।

संसद् सचिवालयका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले महासचिवको भ्रमणको कार्यक्रम नेपाल र नेपालीका लागि निकै महत्त्वपूर्ण रहेको बताए। रासस

प्रकाशित: १४ कार्तिक २०८० २०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =