यी हुन् नेपाल भ्रमण गर्ने राष्ट्रसंघका पहिलो महासचिव

सन्तोष खडेरी १० कार्तिक २०८० २०:३६
640
SHARES
यी हुन् नेपाल भ्रमण गर्ने राष्ट्रसंघका पहिलो महासचिव महासचिव ड्यागलाई गौचर हवाईअड्डामा स्वागत गर्दै परराष्ट्रमन्त्री साहेब्ज्यू पुरेन्द्रविक्रम शाह र अन्तर्राष्ट्रिय समाचार एजेन्सी यूपीआईमा प्रकाशित उनको नेपाल भ्रमणसम्बन्धी समाचार।

नेपाल सन् १९५५ को १४ डिसेम्बरमा संयुक्त राष्ट्रसंघको सदस्य भएको हो। सदस्य भएको तीन वर्ष तीन महिनापछि राष्ट्रसंघबाट महासचिव स्तरमा नेपाल भ्रमण भएको थियो। ६४ वर्षअघि १९५९ को १६ मार्चमा संयुक्त राष्ट्रसंघका महासचिवले नेपाल भ्रमण गरेका थिए। राष्ट्रसंघको दोस्रो महासचिव स्विडिस अर्थशास्त्री एवं कूटनीतिज्ञ ड्याग ह्यामर्सोल्ड नेपाल भ्रमण गर्ने पहिलो महासचिव हुन्।

राष्ट्रसंघका प्रथम महासचिव ट्रिग्वे लीका पालामा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भइसकेको थिएन। तर ट्रिग्वेलाई नेपाली अधिकारीले न्युयोर्कमा भेटिसकेका थिए। सन् १९४८ को फेब्रुअरी तेस्रो साता बेलायतका लागि राजदूत रहेका क.ज. केशरशमशेर जबरा अमेरिकाका लागि प्रथम नेपाली राजदूतका रूपमा ओहदाको प्रमाणपत्र बुझाउन अमेरिका पुगेका थिए।

अमेरिका यात्राका क्रममा केशरले न्युयोर्कमा महासचिव ट्रिग्वे लीसँग भेट गरेका थिए। उनीसँगको भेटमा केशरले नेपालले राष्ट्रसंघको सदस्यता लिन चाहेको बताएका थिए। त्यतिबेला संयुक्त राष्ट्रसंघका शक्ति राष्ट्रहरूको आपसी टकराव सतहमा देखापरिसकेकाले त्यसको अवस्थाबारे लीले केशरलाई जानकारी गराएका थिए।

केशरले अमेरिकामा लीसँग भेटेको झन्डै दुई महिनापछि नेपालमा मोहनशमशेर प्रधानमन्त्री एवं श्री ३ महाराज भएका थिए। उनै मोहनशमशेरले आफ्नो सिन्दूरयात्राका क्रममा गरेको सम्बोधनमा नेपाल राष्ट्रसंघको सदस्य भएमा त्यसबाट हामीलाई लाभहानि केकस्तो हुने भन्ने विषयमा विचारविमर्श गर्न लागेको जानकारी गराएका थिए।

नेपालले राष्ट्रसंघको सदस्यताका लागि आवेदन दिन लागेको जानकारी कलकत्तास्थित नेपाली वाणिज्यदूतावासले सन् १९४८ को १८ सेप्टेम्बरमा विश्वसमुदायलाई जानकारी गराएको थियो। सोहीमुताबिक नेपालले सन् १९४९ को १३ फेब्रुअरीमा औपचारिक रूपमा राष्ट्रसंघको सदस्यताका लागि आवेदन दिएको थियो।

शक्ति राष्ट्रहरूको आपसी टकरावका कारण अन्य केही मुलुकसहित नेपालले सदस्यता पाउन सकेन। त्यसको ६ वर्षपछि सन् १९५५ मा नेपाल राष्ट्रसंघको सदस्य भयो। नेपालले सदस्यता प्राप्त गर्दा ड्याग ह्यामर्सोल्ड राष्ट्रसंघका महासचिव थिए।

सन् १९५६ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघका लागि नेपालको पहिलो प्रतिनिधिका रूपमा हृषीकेश शाह नियुक्त भए। सन् १९५६ मा पहिलोपटक नेपालले राष्ट्रसंघको ११औँ महासभामा सहभागी भयो। महासभाको नेतृत्व नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री चूडाप्रसाद शर्माले गरेका थिए।

१२ औँ महासभामा हृषीकेश शाहले सहभागिता जनाए। सन् १९५८ मा सम्पन्न १३औँ महासभामा भने नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री पुरेन्द्रविक्रम शाहले नेतृत्व गरेका थिए।

ड्याग नेपाल भ्रमणमा आउँदा सुवर्णशमशेरको अध्यक्षतामा प्रमुख दल सम्मिलित चुनावी सरकार गठन भएको थियो। सोही फेब्रुअरी १९ बाट नेपालमा पहिलो आमनिर्वाचन सुरु भएको थियो। उनी आउँदा केही क्षेत्रको निर्वाचन परिणामसमेत आउन थालेको थियो।

सुवर्णशमशेरलाई प्रधानमन्त्री नदिई मन्त्रिपरिषद्को अध्यक्ष दिइएको थियो। राजनीतिक दलभन्दा बाहिरबाट पनि केही मन्त्री भएका थिए। तिनमा परराष्ट्र एवं रक्षा मन्त्रालयको जिम्मेवारी साहेबज्यू पुरेन्द्रविक्रम शाहले सम्हालेका थिए।

सन् १९५९ को मार्चमा महासचिव ह्यामर्सोल्ड पूर्वी तथा दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा निस्किएका थिए। त्यसै भ्रमणको क्रममा उनी थाइल्यान्डको बैंककबाट कलकत्ता हुँदै काठमाडौँ ओर्लिएका थिए। त्यतिबेला तेस्रो देशबाट नेपाल आउने अधिकांश अतिथिहरू भारत भ्रमण सम्पन्न गरेर मात्र काठमाडौँ आउँथे। महासचिव ड्याग भने बैंककबाट कलकत्ता ट्रान्जिट हुँदै पहिले काठमाडौँ आए।

उनी काठमाडौँबाट दिल्ली पुगेपछि भारत भ्रमणको औपचारिक कार्यक्रम सुरु भएको थियो। त्यसो त नेपाल राष्ट्रसंघको सदस्य भएको केही महिनापछि सन् १९५६ को मेमा आयोजित राजा महेन्द्रको राज्याभिषेक समारोहमा उपस्थितिका लागि महासचिव ड्यागलाई आमन्त्रण गरिएको थियो। त्यतिबेला उनले मध्यपूर्वमा अचानक अभूतपूर्व संकटको स्थिति आइपरेकाले आफू आउन नसकेको खबर पठाएका थिए। (जनचेतना पाक्षिक, १४ मार्च १९५९, काठमाडौँ नगरपालिका)

१६ मार्च १९५९ (२०१५ चैत ३) मा कलकत्ताबाट उडेको विमान दिउँसोतिर काठमाडौँको गौचर हवाईअड्डामा अवतरण गर्‍यो। नेपालको दुईदिने भ्रमणका क्रममा उनलाई कलकत्ताबाट काठमाडौँसम्म ल्याउन राजा महेन्द्रले प्रयोग गर्ने विमान पठाएका थिए।

विमानका पाइलट एक जना सिख थिए जोसँग ड्याग विमानको ककपिटमा सवार भएर आएका थिए। विमानबाट हवाईअड्डामा ओर्लिंदा उनलाई स्वागत गर्नका लागि परराष्ट्रमन्त्री साहेब्ज्यू पुरेन्द्रविक्रम शाह पुगेका थिए। उनी हवाईअड्डामा ओर्लिनासाथ फूलमाला लगाएर स्वागत गरिएको थियो।

उनले नेपालमा रहँदा राजा महेन्द्र, मन्त्रिपरिषद् अध्यक्ष सुवर्णशमशेर, परराष्ट्रमन्त्री शाह, र अन्य राजनीतिक दलका नेताहरूसँग समेत भेटघाट गरेका थिए। उनलाई उनको रुचिअनुसार विमानबाट नेपालका हिमालय क्षेत्रको अवलोकन गर्ने व्यवस्था मिलाएको थियो। उनी नेपाल भ्रमणबाट फर्किएपछि सन् १९६१ को कुनै अंकमा उनको नेपाल भ्रमण सम्बन्धी लेख ‘नेसनल जियोग्राफिकल म्यागेजिन’मा छापिएको थियो।

२६ अक्टोबरमा दुर्घटनाको छानबिन गर्न राष्ट्रसंघले बनाएको आयोगको अध्यक्षमा संयुक्त राष्ट्रसंघका लागि राजदूत रहिसकेका नेपालका तत्कालीन अर्थ एवं योजना मामिला मन्त्री हृषीकेश शाह नियुक्त भएका थिए।

१८ मार्चमा दिल्ली प्रस्थान गर्नुपूर्व उनले दिएको बिदाइ सन्देशमा काठमाडौँमा रहँदा प्राप्त अतिथि सत्कारका लागि नेपाल सरकार र नेपाली जनतालाई धन्यवाद ज्ञापन गरेका थिए। आफ्नो नेपाल भ्रमणको व्यक्तिगत अनुभव सुनाउँदै साह्रै रमाइलो, हार्दिक र अनुभवको बहुमूल्य भण्डार साबित भएको उनको भनाइ थियो। उनले नेपालको असाधारण प्राकृतिक सुन्दरता, कलाकौशल र भव्य सांस्कृतिक परम्पराको खुलेर प्रशंसा गरेका थिए।

त्यस्तै नेपालको हार्दिक बुद्धिमत्तापूर्ण र शिष्ट वातावरणबाट आफू साह्रै प्रभावित भएको पनि उल्लेख गरेका थिए। तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा संयुक्त राष्ट्रसंघ र नेपालको झन्डा एकसाथ गाडेको कुराको चर्चा पनि उनले गरेका थिए। जसमा उनले संयुक्त राष्ट्रसंघ र नेपालको झन्डा एकसाथ फहराएको पहिलो टक त्यतिबेला हो भन्ने आफूलाई लागेको बताएका थिए। मध्यपूर्वमा अचानक अभूतपूर्व संकट आइपरेकाले आफू राज्याभिषेक समारोहमा आउन नसकेको उनको भनाइ थियो।

त्यस्तै संयुक्त राष्ट्रसंघका बारेमा उनले यस्तो बताएका थिए-  ‘संयुक्त राष्ट्रसंघले आफ्ना खाद्य कृषि संस्था, विश्व स्वास्थ्य संघजस्ता शाखा संस्थाहरूबाट समेत संसारको शान्ति स्थापना र भलाइको काम गर्दैछ। संसारका सबै राष्ट्र एउटै परिवारसरह हुनुपर्छ। एउटाको समृद्धिले अन्त्यमा सबैको समृद्धि ल्याउँछ र एउटाको विनाशमा अरुको विनाश पनि सन्निहित हुन सक्दछ। त्यसैले संयुक्त राष्ट्रसंघको र त्यसका महासचिवको ठूलो जिम्मेवारी छ। (जनचेतना पाक्षिक, १४ मार्च १९५९, काठमाडौँ नगरपालिका)

राजा महेन्द्रले उपलब्ध गराएको जहाज चढेर ड्याग काठमाडौँको गौचर हवाईअड्डाबाट दिल्लीको सफ्दरगन्ज हवाईअड्डामा ओर्लिएका थिए। त्यहाँ उनलाई विदेश राज्यमन्त्री लक्ष्मी मेननले स्वागत गरेकी थिइन्। भारतको चारदिने भ्रमणका क्रममा उनले दुई दिन काश्मीरमा बिताएका थिए।

ड्यागले नेपाल भ्रमण गरेको अर्को वर्ष अमेरिकाको राजकीय भ्रमणका क्रममा न्युयोर्क पुगेका राजा महेन्द्रलाई उनले १ जुन १९६० मा राष्ट्रसंघको मुख्यालयमा स्वागत गरेका थिए। त्यस्तै राजाको सम्मानमा दिवाभोजसमेत आयोजना गरेका थिए।

हंगेरी र कंगोको मामिलामा महासचिव ड्यागको भूमिकामा सोभियत युनियनले लगातार प्रश्न उठाएर उनीमाथि पक्षपातीको आरोप लगाएको थियो। नेपालका राजदूत हृषीकेश शाहले उनको प्रतिरक्षा गर्ने गर्थे। सोही वर्ष राष्ट्रसंघको १५ औँ महासभामा सहभागी हुन पुगेका प्रधानमन्त्री बीपी कोइरालाले ड्यागसँग शिष्टाचार भेट गरेका थिए।

१८ सेप्टेम्बर १९६१ मा कंगोमा विमान दुर्घटना हुँदा उनको निधन भयो। १९ सेप्टेम्बरमा राजा महेन्द्रले नेपालबाट स्विडेनका राजा गुस्ताफ एडोल्फ छैटौँ र संयुक्त राष्ट्रसंघका १६ औँ महासभाका अध्यक्ष फ्रेडेरिक बोलार्डलाई शोक सन्देश पठाए। उक्त सन्देशमा ड्यागको निधनबाट अपूरणीय क्षति पुगेको भन्दै घटनाको छानबिनको माग गरिएको थियो। नेपाल अन्य शान्तिप्रिय मुलुकहरूसँग मिलेर उक्त घटनाको यथाशीघ्र प्रभावकारी छानबिनको पक्षमा रहेको राजाको सन्देशमा उल्लेख थियो।

संयोग कस्तो भइदियो भने त्यसको एक महिनापछि २६ अक्टोबरमा दुर्घटनाको छानबिन गर्न राष्ट्रसंघले बनाएको आयोगको अध्यक्षमा संयुक्त राष्ट्रसंघका लागि राजदूत रहिसकेका नेपालका तत्कालीन अर्थ एवं योजना मामिला मन्त्री हृषीकेश शाह नियुक्त भएका थिए।

राष्ट्रसंघको महासभामार्फत नेपालले विश्वसामु पहिलोपटक राखेको त्यो अडान

संयुक्त राष्ट्रसंघ मुख्यालयमा नेपालको झन्डा फहराएको त्यो दिन [भिडियो सहित]

https://himalpress.com/2022/12/8388/

 

प्रकाशित: १० कार्तिक २०८० २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =