गुटेरेसले गरे पाटन दरबार क्षेत्रको अवलोकन

हिमाल प्रेस १२ कार्तिक २०८० १८:५३
8
SHARES
गुटेरेसले गरे पाटन दरबार क्षेत्रको अवलोकन नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको अवलोकन गर्दै। तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौँ- नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रस‌ंघका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन्।

महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवं पुरातात्विक महत्त्वका सम्पदाबारे जानकारी दिएका थिए।

महासचिव गुटेरेस पाटन दरबार क्षेत्रमा पुग्दा धिमे बाजा र परम्परागत नृत्य प्रस्तुत गरिएको थियो।

पाटन दरबार क्षेत्रको अवलोकनपछि सञ्चारकर्मीसँग स‌ंक्षिप्त कुरा गर्दै पुरातात्विक महत्त्वका सम्पदाको वास्तविक स्वरुप बिग्रन नदिन विशेष प्रयत्न गर्नुपर्नेमा जोड दिए। महासचिव एन्टोनियो गुटेरेसले भने, ‘भावी पुस्ताका लागि नेपालका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्छ। यसले नेपालको भविष्य उज्ज्वल हुनेछ।’ सन् १९७८ मा पनि आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको प्राकृतिक सौन्दर्य र सम्पदाबाट आफू मन्त्रमुग्ध भएको बताए।

महासचिव गुटेरेसले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको बताउँदै यस्ता ऐतिहासिक सम्पदाले पर्यटकलाई आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सक्ने बताए। साथै उनले नेपालको शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राजनीतिक दलले गरेका प्रयत्नप्रति खुसी व्यक्त गरे।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघको शान्ति कार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर-हाम्दी र संयुक्त राष्ट्रसंघका अन्य अधिकारी सहभागी थिए। महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार यहाँ आइपुगेका हुन्।

भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्। कात्तिक १४ गते मंगलबार अपराह्न ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते काठमाडौँबाट प्रस्थान गर्नेछन्।

प्रकाशित: १२ कार्तिक २०८० १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =