परराष्ट्रमन्त्री साउद आइतबार अमेरिका जाँदै

हिमाल प्रेस १० कार्तिक २०८० २१:२२
6
SHARES
परराष्ट्रमन्त्री साउद आइतबार अमेरिका जाँदै परराष्ट्रमन्त्री एनपी साउद। फाइल तस्बिर।

काठमाडौँ– परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्री एनपी साउदको औपचारिक अमेरिका भ्रमण तालिका सार्वजनिक गरेको छ। मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार साउद आठ दिन अमेरिकामा रहने भएका छन्। परराष्ट्रमन्त्री साउद कात्तिक १२ गते त्यसतर्फ जानेछन् भने १९ गते फर्कनेछन्।

परराष्ट्रमन्त्री साउद राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आइतबार काठमाडौँमा स्वागतका साथै उनीसँग द्विपक्षीय भेटवार्ता गरेर बेलुकी अमेरिका प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ।

दुवै मुलुकको मन्त्रालयले करिब एक महिनाभन्दा बढी समन्वय गरेपछि परराष्ट्रमन्त्री साउदको भ्रमणको औपचारिक तालिका सार्वजनिक गरिएको हो। २०१८ को डिसेम्बरमा नेपालबाट अमेरिकातर्फ परराष्ट्रमन्त्रीको औपचारिक भ्रमण भएको थियो। त्यसपछि प्रधानमन्त्री तहमा भ्रमण हुने भनिएको थियो। यद्यपि त्यो हुन सकेन। अहिले पनि अमेरिकाबाट नेपाल भ्रमण गराउने प्रयास थियो। तर परराष्ट्रमन्त्री साउदकै रुचिमा उनी अमेरिका जान लागेका हुन्।

मन्त्री साउदले सोमबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ। परराष्ट्रमन्त्री साउदले अमेरिकामा रहँदा अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अलब्राइट, अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख प्रशासक सामान्था पावर र अमेरिकी सरकारका अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री साउदले अमेरिकी सांसद तथा नेपाल ककसका सहअध्यक्ष माइक केरीसँग भेटवार्ता गर्नेछन्। उनले अमेरिकी इन्स्टिच्युट अफ पिसमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यसैगरी मन्त्री साउदले नेपाली समुदायसँग पनि भेटवार्ता गर्नेछन्।

तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपछि अमेरिका भ्रमण गर्ने दोस्रो उच्च अधिकारी बन्नेछन् मन्त्री साउद। साउद यसअघि राष्ट्रसंघको महासभामा सहभागी हुन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गत महिना अमेरिका पुगेका थिए।

प्रचण्ड नेतृत्वको सरकार बनेपछि अमेरिकाबाट राजनीतिक मामिला विदेशमन्त्री भिक्टोरिया नुल्यान्डदेखि अन्य पदाधिकारीले भ्रमण गरे पनि उच्च राजनीतिक अधिकारी भने नेपाल आएका छैनन्। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएपछि छिमेकी भारत र चीनको भ्रमण गरिसकेका छन् भने राष्ट्रसंघको ७८ औँ महासभामा सम्बोधन गर्न अमेरिका गएका थिए। उनले अमेरिकाको दुईपक्षीय भ्रमण गरेका छैनन्।

प्रकाशित: १० कार्तिक २०८० २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =