प्राचीन बिमकोट दरबार अब स्थानीय सरकारको सम्पत्ति

हिमाल प्रेस ९ कार्तिक २०८० १८:०४
14
SHARES
प्राचीन बिमकोट दरबार अब स्थानीय सरकारको सम्पत्ति बिमकोट दरबार। तस्बिर सौजन्य : शिवराज खत्री

अछाम– मेल्लेख गाउँपालिकामा अवस्थित ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। तत्कालीन बिमकोटी राजा जनकबहादुर शाहले दरबारसहित दरबारको नाममा रहेको ६.५ रोपनी जग्गा गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदलाई हस्तान्तरण गरेका हुन्।

दमेल्लेख गाउँपालिका-५ विन्ध्यवासिनीमा रहेको दरबारको संरक्षण र प्रवर्धन अबदेखि गाउँपालिकाले गर्ने भएको छ। बिमकोट दरबार दुईतिरबाट बिमकोटीगाड र चोटे खोलाले घेरिएको छ। जंगलको बीचमा अवस्थित दरबार नजिक कुनै गाउँबस्ती छैन। दरबारको सिरानीमा षोड्षादेवीको मन्दिर छ। षोड्षादेवीलाई बिमकोटे राजा तथा उहाँका सन्तानले कुलदेवीका रूपमा पुज्दै आएका छन्।

किंवदन्तीअनुसार बिमा राउतको सल्लाहबमोजिम दरबार बनाएका कारण सो ठाउँको नाम बिमकोट रहन गएको हो। उक्त दरबारको खाका भने महिमा नामका नवाँठानी ओडले कोरेका थिए। दरबार निर्माणका लागि एक दिनको पैदल बाटोको दूरीमा रहेको दर्बागाउँबाट ढुंगा ओसारिएको थियो।

१६ औँ शताब्दीमा निर्मित उक्त दरबार १९९७ मा अस्तित्वमा आएको थियो। बिमकोट दरबार परिसरमा फारसी भाषाको शिलालेख थियो। उक्त शिलालेख हाल षोडषादेवी मन्दिर परिसरमा राखिएको छ।

जनकबहादुर शाहका अनुसार १९९० सालको भूकम्पमा पुरानो बिमकोट दरबार भत्किएको थियो। त्यसपछि उनका हजुरबुवा नगेन्द्रबहादुर शाहले प्राचीन दरबारभन्दा नयाँ दरबार निर्माण गरेका थिए। नयाँ दरबार निर्माण गर्न १३ वर्ष लागेको थियो। जुन दरबारले बिमकोटे राजाहरूको विरासतका रूपमा अहिले पनि खडा छ।

सशस्त्र द्वन्द्व सुरु भएपछि भने बिमकोटे राजाका सन्तानहरूले उक्त दरबार छोडेका थिए। द्वन्द्वका कारण गाउँबस्तीदेखि टाढाको दरबार कुर्ने मानिस पनि भेटिएनन्। द्वन्द्वकै समयमा दरबारमा रहेका ऐतिहासिक कागजात, भाँडाकुँडा, ताम्रपत्र जलाएका थिए। मानिस बस्न छोडेका कारण बिमकोट दरबार हाल जीर्ण अवस्थामा छ।

अछाम साँफेबगरको एयरपोर्ट बजारबाट सात किलोमिटर पैदल हिँडेपछि पुगिन्छ बिम्कोट। दक्षिणबाट उत्तरपूर्व फर्किएर हिँड्दै जाँदा बाटोमा मुवासैन, भण्डारीगाउँ र सलेनी खोला पर्छन्। रासस

प्रकाशित: ९ कार्तिक २०८० १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seventeen =