ताल वाराही पुनर्निर्माण हुँदै, लागत ९ करोड

हिमाल प्रेस ९ कार्तिक २०८० १३:१८
16
SHARES
ताल वाराही पुनर्निर्माण हुँदै, लागत ९ करोड

पोखरा– फेवातालको बीचमा रहेको ताल वाराही मन्दिर पुनःनिर्माणका लागि शिलान्यास भएको छ। बहत्तर सालको भूकम्पले यो मन्दिरमा क्षति पुगेको थियो। मन्दिरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार शिलान्यास गरेका हुन्।

ऐतिहासिक महत्त्वको यो मन्दिर पुरानै स्वरुपमा निर्माण गर्न पुरातत्त्व विभागको समन्वयमा कुल ९ करोड रुपैयाँ लागतमा आगामी २ वर्षभित्र निर्माण सम्पन्न गरिने योजना छ।

बिहीबार डुंगा चढेर गएका महानगर प्रमुख आचार्य मूल मन्दिरको जगपूजा शुभारम्भमा सरिक भए। भागवत् भाष्कर पण्डित कमलनयन गौतमले धार्मिक विधिअनुसार शिलान्यासको पूजाआजा गरेका थिए।

सो अवसरमा आचार्यले ताल वाराही पोखराको गहना भएको बताए। मन्दिर पुनःनिर्माणका लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने जनाउँदै उनले रकमको चिन्ता नलिन आग्रहसमेत गरे। मन्दिर व्यवस्थापन समितिले गत वर्षदेखि नै माइकिङ गरेर मन्दिर दर्शन गर्न आउने भक्तजनबाट सहयोग रकम संकलन गर्दै आएको छ।

मन्दिर गुठी व्यवस्थापन समिति अध्यक्ष हिक्मतबहादुर कुँवरले गुरुयोजनाअनुसारको मन्दिर र परिसरमा रहने संरचना निर्माणमा ९ करोड खर्च हुने अनुमान रहेको बताए। उनका अनुसार मन्दिर आगामी २ वर्षमा निर्माण पूरा हुनेछ। प्यागोडा आकारको मन्दिर साढे १३ फिट चौडाइको हुनेछ।

यहाँ मूल मन्दिरसहित गणेश मन्दिर, हवनकुण्ड बन्नेछन्। साथै अन्डरग्राउन्डमा सभा हल, बैठक कक्ष, फोटोग्राफी, फूलप्रसाद बिक्रीवितरण, शौचालय लगायत बन्नेछन्। पाँच सय वर्षअघि स्थापना भएको मानिने ताल वाराही पछिल्लो समय २०१४ सालमा निर्माण भएको हो। मन्दिरसहित यसले ३ रोपनी ८ आना क्षेत्रफल ओगटेको छ।

पोखरा घुम्न आउनेमध्ये अधिकांश फेवातालमा डुंगा चढेर मन्दिर दर्शन नगरी फर्किँदैनन्। यहाँको प्रमुख पर्यटकीय एवं धार्मिक महत्त्वको तालवाराहीलाई शक्तिको स्वरूपमा पूजाअर्चना गरिन्छ। विशेषतः कोजाग्रत पूर्णिमामा यहाँ सबैभन्दा ठूलो मेला लाग्छ। उक्त दिन घटस्थापनामा राखिएको जमरा सेलाउने गरिन्छ। त्यस्तै मन्दिरमा नेपाली नयाँ वर्षको दिन उत्तिकै घुइँचो लाग्छ।

प्रकाशित: ९ कार्तिक २०८० १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =