जो दसैँमा बिदै पाउँदैनन्

रमा केसी ६ कार्तिक २०८० १८:०४
22
SHARES
जो दसैँमा बिदै पाउँदैनन् विजयादशमीका अवसरमा नेपाल प्रहरीको प्रादेशिक कार्यालय सुर्खेतमा सोमबार आयोजना गरिएको मौलो पूजामा सहभागी प्रहरी। तस्बिर स्रोत : कर्णाली प्रदेश प्रहरी कार्यालय

सुर्खेत- चाडपर्व आउँदा कसलाई पो रमाउन मन हुँदैन र? अझ भन्नुपर्दा नेपालीको महान् पर्वका रूपमा मनाइने दसैँमा त बढी रमाइलो गर्ने चाहना जोकसैको हुन्छ। तर महत्त्वपूर्ण जिम्मेवारीमा खटिएका सुरक्षाकर्मी, पत्रकार, चिकित्सकलगायत भने दसैँमा चाहेर पनि परिवारसँग रमाउन पाउँदैनन्।

सुरक्षाकर्मी जनताको सुरक्षा र सेवामा समर्पित हुन्छन् भने पत्रकार कहाँ के भयो र के हुँदैछ भनेर चनाखोपूर्वक बसिरहेका हुन्छन्। चिकित्सकले पनि कतिबेला आकस्मिक सेवामा बिरामी आउने हुन् भनेर हरपल सजग भइरहन्छन्।

शिक्षक, वकिल, निजामती कर्मचारी र निजी क्षेत्रमा काम गर्नेहरू रमाइरहँदा प्रहरीको सक्रियता भने शान्तिसुरक्षा कायम गर्नुमा रहन्छ। प्रहरी सम्भावित दुर्घटना, अपराध, विकृति रोक्न खटिएका हुन्छन्। उनीहरूका लागि बिदा र घरपरिवारभन्दा नागरिक सुरक्षा पहिलो प्राथमिकता रहन्छ।

प्रहरी कर्मचारीले बिदा नै नपाउनेचाहिँ होइन। तर सबै प्रहरी एकैपटक बिदा बस्न मिल्दैन। आलोपालो गरी बिदामा बस्न पाइन्छ। बिदा नपाउनेहरू प्रहरी कार्यालयलाई घर सम्झेर जिम्मेवारीमा खटिनुपर्ने बताउँछन् नेपाल प्रहरीको कर्णाली प्रदेश कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल। उनी भन्छन्, ‘हाम्रा लागि प्रहरी कार्यालय घर हो र सहकर्मी परिवारका सदस्य हुन्।’ त्यसैले सबै मिलेर परिवारजस्तै भएर दसैँ मनाउने गरिएको ढकालले बताए।

कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ। ढकाल भन्छन्, ‘यस्तो अवस्थामा घरमा टीका लगाउन नपाएको खल्लोपना हराउँछ। फौजको नियमै हो प्रतिकूल र अप्ठ्यारो परिस्थितिमा सेवा गर्नु।’ तर पनि मानवीय स्वभाव हो, चाडपर्वमा घर जान नपाउँदा, बिदा नपाउँदा निराश हुनु स्वाभाविकै हुन्छ।

प्रहरी परिवारमा दसैँ मनाउँदा ड्युटीमा असर पारिँदैन। कसको के जिम्मेवारी हो, ऊ त्यसमा परिचालित भएकै हुन्छ। ‘शान्तिसुरक्षा कायम राख्दै रमाइलो गर्दा प्रहरी कर्मचारीमा पनि एक प्रकारको सन्तुष्टि मिल्छ’, ढकालले भने, ‘कार्यालयमा पनि घरमै जसरी पूजाआजालगायतका कर्म पूरा गरेर दसैँ मनाइन्छ।’

कहाँ कतिबेला दौडनुपर्ने भएकाले प्रहरी कर्मचारीले दसैँका लागि भनेर त्यस्तो विशेष योजना बनाउँदैनन्। त्यसैले त भन्ने गरिन्छ, पुलिसको ‘अफ ड्युटी’ हुँदैन। ढकाल भन्छन्, ‘मातहतसँग चौबीसै घन्टा जोडिनुपर्छ। उच्च सतर्कता अपनाइरहनुपर्छ। त्यसकारण व्यक्तिगत दसैँ हुँदैन। बिदाको दिन पनि जागिर खाने हो।’

प्रहरीसँग देशभरको सुरक्षा जोडिएको हुन्छ। सबै युनिट त्यसमै केन्द्रित हुने हो। ब्यारेकभित्र युनिट मिलेर आआफ्नो शैलीमा शान्तिसुरक्षाप्रति सजग भएर परम्परागत अभ्यासमा दसैँ मनाउने गरिएको ढकाल बताउँछन्।

कर्णालीमा यस्तो छ दसैँ सुरक्षा

दसैँका लागि भनेर प्रदेश प्रहरीले विशेष अनुगमन संयन्त्र परिचालन गरेको छ। हरेक जिल्लामा प्रहरीलाई उच्च सतर्क रहन निर्देशन दिइएको ढकालले बताए। उनले भने, ‘खराब खालको प्रवृत्ति नियन्त्रण गर्ने र जोखिमयुक्त ठाउँमा थप संवेदनशील बन्न निर्देशन दिएका छौँ।’

गाउँघरमा बढी नै चहलपहल हुन्छ। सोही कारण सुरक्षामा विशेष ध्यान दिइएको उनले जानकारी दिए। उनले भने, ‘सहरी क्षेत्रमा सहायता कक्ष राखेर पनि नागरिकलाई सहज बनाउँदै आएका छौँ।’ यसैगरी लागूऔषध नियन्त्रणका लागि प्रहरीले सुरक्षित कर्णाली विशेष अभियान सञ्चालन गरेको छ। यसका लागि एक लाख ८४ हजार घरमा स्टिकर टाँस्ने काम भइसकेको छ।

दसैँमा जसरी प्रहरी खटेर नागरिकलाई सुरक्षा दिएका हुन्छन्, त्यसरी नै पत्रकारले पनि नागरिकको सूचनाको अधिकार प्राप्तिका लागि सही सूचना सम्प्रेषण गर्न अहोरात्र खटिने गरेको पत्रकारिता क्षेत्रका अगुवाहरू बताउँछन्। सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यमको विकासका कारण नागरिकलाई सही सूचना दिन चुनौती थपिएको बताउँछन् नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेल। त्यसैले चाडबाडका बेला पत्रकारले बढी नै संवेदनशील भएर खटिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

दसैँजस्ता पर्वका बेला सञ्चारमाध्यमले सही सूचनाका साथ जनचेतनामूलक सन्देश पनि प्रसारण गर्दै आएको बसेल बताउँछन्। उनले भने, ‘मिडियाको पहिलो प्राथमिकता त सूचना र समाचर सम्प्रेषण नै हो। तर चाडपर्व आफ्नो गच्छेअनुसार मनाउन र तडकभडक नगर्न जनचेतनामूलक सन्देश पनि प्रसारण/प्रकाशन गर्दै आएका छौँ।’ सञ्चारकर्मीले आफ्नो जिम्मेवारीलाई प्राथमिकतामा राखेर दसैँ मनाउने गरेको उनले बताए।

प्रकाशित: ६ कार्तिक २०८० १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =