पर्यटकीय गाउँ लान्द्रुकमा दसैँ मेला हुने

हिमाल प्रेस ४ कार्तिक २०८० १८:०७
4
SHARES
पर्यटकीय गाउँ लान्द्रुकमा दसैँ मेला हुने

पोखरा- कास्कीकाे पर्यटकीय गाउँ लान्द्रुकमा दसैँ मेला हुने भएको छ। अन्नपूर्ण गाउँपालिका–७ क्युप्चे बराह युवा क्लबकाे २४ औँ वार्षिकोत्सव अवसरमा कात्तिक ८ देखि १२ सम्म मेला हुन लागेकाे शनिबार पत्रकार सम्मेलन गरी आयाेजकले जनाएको हाे।

क्लब अध्यक्ष सुजन गुरुङले आपसी सद्भाव कायम राख्दै नयाँ खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले मेला गर्न लागिएको बताए।

मेलाको मुख्य आकर्षण पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता रहेको मेला संयोजक विनायक गुरुङले बताए। साथै मेलामा सांस्कृतिक कार्यक्रमसहित रस्साकस्सी, छेलो फाल्ने, घैटो फुटाइ, म्युजिकल चियर, बेलुन फुटाइ प्रतियोगिता हुने उनले बताए।

पुरुष भलिबलतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

महिलातर्फ भलिबलमा प्रथम र द्वितीयले क्रमशः २० र १० हजार रुपैयाँ तथा प्रौढतर्फ प्रथमले खसी र द्वितीयले २ भालेसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
रस्साकस्सीका विजेताले ८ हजार र द्वितीयले नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन्।

क्लबले नेपालमै पहिलो पटक मह सिकार महोत्सव (हनी हन्टिङ) गरेकाे हाे। त्यसकाे निरन्तरता भइरहेकाेमा यसपालि मंसिरमा गर्ने तयारी छ।

प्रकाशित: ४ कार्तिक २०८० १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =