दसैँमा ‘ब्रान्डेड’ फिल्मबीच प्रतिस्पर्धा

सुस्मिता बजगाईं ४ कार्तिक २०८० ७:१९
14
SHARES
दसैँमा ‘ब्रान्डेड’ फिल्मबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपालीको महान् चाड दसैँ बिदाको समय सदुपयोग गर्न के गर्ने भन्ने सोचमा हुनुहुन्छ? मनोरञ्जन गरेर समय बिताउनुहुन्छ भने देशैभरका हलमा विभिन्न नेपाली र हिन्दी फिल्म प्रदर्शन भइरहेका छन्। ‘फेस्टिभ होलिडेज’मा एकभन्दा बढी फिल्मबीच प्रतिस्पर्धा हुनु स्वाभाविक हो। विगतका वर्षको तुलनामा यस वर्ष हलमा थोरै फिल्म छन् तर ‘ब्रान्डेड’ फिल्मबीच प्रतिस्पर्धा भइरहेको छ।

नेपालीमा ‘पशुपति प्रसाद’ र ‘परदेशी’ जस्ता उत्कृष्ट फिल्मको सिक्वेल प्रदर्शन भइरहेका छन्। ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘परदेशी २’।  दुवै निकै अपेक्षित फिल्म हुन्। एकै मितिमा प्रदर्शन हुन लागेको फिल्मले केही समयअघिमात्र प्रदर्शन मिति परिवर्तन गरे। एक साताअघि सार्दै ‘परदेशी २’ घटस्थापनाको दुई दिन (असोज २६) देखि प्रदर्शन गरियो। भने ‘भष्मे डन’ फूलपातीको दिन (कात्तिक ४) देखि प्रदर्शन गर्न लागिएको हो।

त्यस्तै नेपाली फिल्मसँग दुई विदेशी फिल्म प्रतिस्पर्धामा छन् बलिउड फिल्म ‘गणपत’ र साउथ फिल्म ‘लियो’।

पशुपति प्रसाद २ : भष्मे डन

२०७२ सालमा सार्वजनिक प्रदर्शन भएको फिल्म हो ‘पशुपति प्रसाद’। यो फिल्म कथावस्तु, पात्र र व्यापारको हिसाबले पनि सफल बन्यो।  पहिलो भागमा बाको मृत्यु पछि साहुको ऋण तिर्न काठमाडौँ आएको पशुपति प्रसाद (खगेन्द्र लामिछाने) को संघर्ष र मृत्युसँगै फिल्मको अन्त्य भएको थियो।

कामको खोजीमा पशुपति प्रसादको भेट मितबा (प्रकाश घिमिरे), हनुमान (रवीन्द्रसिंह बानियाँ) र भष्मे डन (विपिन कार्की) सँग हुन्छ। यिनै तिन मुख्य पात्रसँग लड्दालड्दै एक दिन पशुपति प्रसाद ज्यान गुमाउन पुग्छ र फिल्म सकिन्छ।

सोही टिमले फिल्ममा केही पात्र थप्दै सिक्वेल बनाएका हुन्। फिल्म पशुपति प्रसादको मृत्युपछिबाट नै सुरु हुन्छ।  ‘पशुपति प्रसाद’ मा रवीन्द्रसिंह बानिया हनुमानको भूमिकामा थिए। अहिले फिल्ममा स्वस्तिमा खड्का दुर्गा माता बनेकी छन।

दोस्रो भागमा फिल्मको कथावस्तु भष्मे डनमै केन्द्रित छ। फिल्ममा उसको जीवनसँग जोडिएका परिवार, प्रेम, पहिचानलगायत धेरै कुरा आउँछन्। भष्मे सुध्रिएको पनि देखाइएको छ।

हुन त भष्मे खँुडा लिएर हिँड्ने डनमा पर्देन। ऊ ससानो कुरामा रमाई हिँड्ने डनमा गनिन्छ। अन्य डनको जस्तो उसको मन निर्दयी छैन। यो ‘पशुपति प्रसाद’को अन्तिम भागले प्रस्ट्याएको छ। त्यहाँ उसको इमोसन पोखिएको छ।

पशुपति प्रसादको मृत्यु भएपछि भष्मे डन कुन रूपमा अघि बढ्छ त? दर्शकले सर्वाधिक रुचाएको चरित्रको कथा हेर्न हलमा नै जानुपर्ने हुन्छ।
फिल्ममा समावेश सार्वजनिक दुई गीत ‘दुई चुल्ठी बाटन’ र ‘प्रेम शरणम्’ चर्चित छन्।

फिल्ममा अन्य कलाकार सौगात मल्ल, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रवीन्द्रसिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ।

टुकी आट्र्सको ब्यानरमा बनेको फिल्मका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्। फिल्म कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादनमा बनेको छ।

परदेशी २

सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल हो ‘परदेशी २’। फिल्ममा चर्चित गायक तथा संगीतकार प्रकाश सपूत मुख्य भूमिकामा छन्। यसै फिल्मबाट सपूतले फिल्ममा डेब्यू गरेका हुन्।

विदेशीएका नेपाली युवापुस्ता र गाउँघरमा एक्लै रहेका आमाबुवाको कथालाई फिल्मको मुख्य विषयवस्तु बनाइएको छ। ‘परदेशी २’ मा अध्ययनमा लागि प्रकाश अमेरिका पुग्छ। उसले अमेरिकामा बस्दा केही भवितव्यको सामना गर्छ। उता घरमा वृद्ध बाआमा एक्लै हुन्छन्। छोरो आउने आशामा दिन गन्दै बस्छन्। आमा धेरै पीडामा हुन्छिन्। उनी अन्तिम समयसम्म पनि छोराकै बाटो कुरिरहन्छिन्।

परदेसिएको संस्कार (प्रकाश सपूत) वृद्ध बुवाआमा र बाटो हेर्दै बसेकी पे्रमिकालाई भेट्न फर्किन्छ या फर्कंदैन? यसका लागि फिल्म नै हेर्नुपर्ने हुन्छ। आफ्नो सन्तान विदेश जाँदा परिवार कुन अवस्थामा पुग्छ र बिरामी आमाले अन्तिम समयसम्म पनि सन्तानको मुख हेर्न नपाउँदाको पीडा फिल्मले देखाएको छ। फिल्ममा कलाकार प्रशान्त तामाङ लाहुरेको भूमिकामा छन्।

नारायण रायमाझीले निर्देशन गरेको फिल्ममा प्रकाशसहित वर्षा शिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय छ।

रमेश बीजीको कथा तथा पटकथा लेखन रहेको फिल्म मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्व निर्देशनमा बनेको छ। नारायण इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा निर्देशक रायमाझी र राजेश बंशल (अग्रवाल) ले संयुक्त लगानी गरेका छन्।

पहिलो भागमा साहुको ऋण तिर्न नसकेर परदेसिएको विनय, विनयकी दिदी, पत्नी छोडेर गएको रवीको कथा समेटिएको थियो। विदेशमा गएर पाएको दुःख, यातना र महिलाहरुले भोग्नुपरेको पीडाको विषय उठान गरिएको थियो।

पछिल्लो समय युवापुस्ता अध्ययनकै सिलसिलामा परिवारबाट वञ्चित हुन बाध्य छन्। वृद्ध आमा, अबोध सन्तान र पत्नी छोडेर बिदेसिन बाध्य नेपालीको व्यथा आजपर्यन्त पनि उस्तै छ। यतिसम्म कि अहिले सन्तान विदेश नगएको परिवार भेट्टाउन मुस्किल पर्छ।

पछिल्लो परिवेशलाई समेटेर निर्देशक रायमाझीले उही परदेशीको पीडालाई समेटेर परदेशी दुई बनाएका छन्।

गणपत

दसैँको अवसरमा बलिउड फिल्म ‘गणपत ः अ हिरो इज बर्न’ कत्तिक ३ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्ममा कलाकार टाइगर श्राफ मुख्य भूमिकामा छन्। उनी गणपत बक्सरको भूमिकामा देखिएका छन्।

गणपत एक शक्तिशाली आपराधिक साम्राज्यलाई ध्वस्त पार्ने अभियानमा लाग्छ र अन्त्यमा उसले बक्सिङ जित्छ।

विकास बहलले लेखन तथा निर्देशन गरेको फिल्ममा टाइगरसहित अमिताभ बच्चन र कृति सेननको पनि मुख्य अभिनय छ। फिल्म निर्देशक विकास बहलसहित बासु भग्नानी, दीपशिखा देशमुख र ज्याकी भग्नानीले संयुक्त लगानी गरेका छन्।

लियो : ब्लडी स्विट

दक्षिण भारतीय फिल्म ‘लियो :  ब्लडी स्विट’ कात्तिक दुई गतेदेखि नै नेपाली हलमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा कलाकार थलापति विजय छन्।

फिल्ममा विजयले लियो पात्रको भूमिकामा अभिनय गरेका छन्। लियो चकलेट फ्याक्ट्री चलाइरहेको हुन्छ। चकलेट सबैलाई मन पर्छ र धेरै बिक्री पनि हुन्छ। दिनमा चकलेट बनाउने लियो रातमा हतियार बनाइरहन्छ। यसले फिल्मको दर्शकलाई कौतूहल जागृत गराउँछ।

एक दिन लियोले बनाउने चकलेटमा ड्रक्स मिलाएको भन्ने खबर सहरका ठूलो अपराधी समुहमा रघु विन्द्र (सञ्जय दत्त) ले थाहा पाउँछ। के साँञ्चै लियोले चकलेटमा ड्रक्स मिसायो होला? अथवा उसलाई कसैले फसाउँदै छ? यो थाहा पाउन भने हलमा नै जानुपर्ने हुन्छ।

थ्रिलर र एक्सन जनरामा बनेको फिल्ममा थलापति विजय र तृषासहित विजय सेतुपति, सञ्जय दत्त, कमल हसन, प्रिया आनन्द, गौतम वासुदेव मेनन, मनसूर अलि खानलगायत कलाकारको अभिनय छ। लोकेश कनगराजको लेखन तथा निर्देशन रहेको फिल्ममा ललित कुमारले लगानी गरेका छन्।

प्रकाशित: ४ कार्तिक २०८० ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twelve =