राष्ट्रसंघ स्थापना दिवसमा सेनाको शान्ति पदयात्रा

हिमाल प्रेस १ कार्तिक २०८० ७:२६
राष्ट्रसंघ स्थापना दिवसमा सेनाको शान्ति पदयात्रा जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाले बुधबार सैनिक मुख्यालय जङ्गी अड्डामा शान्ति पदयात्रासहित विभिन्न कार्यक्रम गरी संयुक्त राष्ट्रसंघ स्थापना दिवस (यूएन-डे) मनाउँदैछ।

राष्ट्रसंघको स्थापना सन् १९४५ अक्टोबर २४ भएकामा त्यस दिन यस पटक नेपालमा बडादसैँ पर्व परेकाले बुधबार नै ‘यूएन-डे’ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्।

उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा ‘यूएन डे’ विशेष कार्यक्रम आयोजना हुनेछ।

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने, राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने तथा आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने मुख्य उद्देश्यले संयुक्त राष्ट्रसंघको स्थापना भएको हो। राष्ट्रसंघका महासभा, सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, आर्थिक तथा सामाजिक परिषद्, जिम्मा जमानी परिषद् र सचिवालय राष्ट्रसंघका अंग हुन्।

अन्तर्राष्ट्रिय श्रम, खाद्य तथा कृषि, विश्व स्वास्थ्य, हुलाक, नागरिक उड्डयन, जलवायु, बौद्धिक सम्पति, सामुद्रिक, कृषि विकास कोष, औद्योगिक विकास र पर्यटन सङ्गठनलगायतका उक्त विश्वसंस्थाका १५ वटा विशिष्टीकृत संस्था छन्। संयुक्त राष्ट्रसंघका ती संस्थाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलबायु र हुलाकका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएका छन्।

नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो। नेपाल त्यस बेलादेखि नै संयुक्त राष्ट्रसंघका अधिकांश शान्ति अभियानमा सक्रिय सहभागी हुँदै आएको छ। राष्ट्रसंघको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता छ दशकभन्दा बढीको छ।

यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन्। सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवक्षकको तैनाथबाट सेनाको राष्ट्रसंघ शान्ति सहायता अभियानसँगको सहकार्य सुरु भएको हो। पहिलो नेपाली युनिट पुरानो गोरख गण सन् १९७४ मा इजिप्टमा तैनाथ भएको थियो।

सेनाले इन्जिनियर, मेडिकल टोली र विशेष फौजको टुकडीजस्ता विशिष्ट क्षमताको फौज पठाएर राष्ट्रसंघको शान्ति कार्यमा महत्त्वपूर्ण योगदान दिइरहेको छ। नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसंघलगायतका निकायबाट उच्च प्रशंसा हुँदै आएको छ। शान्तिकार्यमा खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी लिँदै आएको छ।

विश्व शान्ति स्थापना कार्यमा संलग्न हुने सिलसिलामा हालसम्म ७२ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने अन्य ६६ जना घाइते भएका छन्। शान्ति सैनिक खटाउने मुलुक सूचीमा नेपाल हाल दोस्रो ठूलो वरीयतामा भएको राष्ट्र हो।

हाल विश्वका १३ वटा मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय २६, नेपाल प्रहरीका ४४ र सशस्त्र प्रहरी बल नेपालका एक सय ९४ गरी छ हजार ६४ शान्ति सैनिक तैनाथ छन्। त्यसमध्ये पाँच सय ८६ महिला शान्ति सैनिक रहेको प्रवक्ता भण्डारीले बताए।

प्रकाशित: १ कार्तिक २०८० ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =