स्वस्थ खानपिन, रमाइलो दसैँ

संगीता श्रेष्ठ ५ कार्तिक २०८० ८:०५
14
SHARES
स्वस्थ खानपिन, रमाइलो दसैँ

दसैँ, नेपालीको महान् चाड। जमरा, टीका, पिङमात्र होइन अधिकांशले सम्झिने भनेको मीठा-मीठा खानेकुरा हो। दसैँमा खानपानमा विशेष जोड दिइन्छ। माछामासुका परिकार, मिठाई र फलफूल प्राथमिकतामा पर्ने गर्छन्।

दसैँमा मीठोमसिनो खानुपर्छ भन्ने आमधारणा छ। मासु दसैँको मुख्य आकर्षण हो। यस चाडमा मासुका विभिन्न परिकार पाक्छन्। मासु मानिसको स्वादसँग जोडिएको कुरा पनि हो। यसमा पर्याप्त मात्रामा प्रोटिन हुन्छ। जिब्रोलाई स्वाद पर्ने गरी तेल, मरमसला, नुन, पिरो राखेर मासुका परिकार बनाइन्छन्। यसरी बनाएको मासु खान पाएपछि जोकोही दंग पर्छ।

त्यस्तो मासु खाँदा जिब्रोले स्वाद पाए पनि शरीरका लागि ठीक नभएको जनस्वास्थ्यविज्ञ अरुणा उप्रेती बताउँछिन्। ‘उच्च रक्तचाप, युरिक एसिड, मधुमेह, मुटु रोगको समस्या भएका बिरामीलाई यो मासु विषसरह हुन्छ,’ उनी भन्छिन्, ‘धेरै चिल्लोपिरो खानाले उच्च रक्तचाप, ग्यास्ट्रिक, बान्ता हुने, पचाउन नसक्नेलगायत समस्या हुन सक्छ। उसिनेको मासु स्वास्थ्यका लागि राम्रो हो।’

‘मासु स्वादका लागि नभई स्वास्थ्यका लागि खानुपर्छ,’ उनी थप्छिन्, ‘मासु खाँदा स्वास्थ्यमा पर्ने असरबारे सोच्नुपर्छ।’ मासु पकाउँदा पनि उत्तिकै ध्यान दिनुपर्छ। राम्रोसँग पकाइएन भने पनि मासुले शरीरलाई हानि पुर्‍याउँछ।

पोषणविद् आरेम कार्की मासुलाई स्वस्थ आहार मान्छन्। भन्छन्, ‘तीन-चार दिन लगातार मासुखाँदा पचाउन गाह्रो हुने, स्वास्थ्य बिग्रिन्छ कि भन्ने डरले धेरैलाई सताउँछ तर त्यस्तो होइन। धेरै मासु खाँदा हाम्रो स्वास्थ्यमा कुनै पनि असर गर्दैन।’

केही दिनअघि धनकुटामा लागेको हाटबजार। तस्बिर : रासस

धेरैले खसीको रातो मासुले हानि पुर्‍याउँछ पनि भन्छन्। तर रातो मासु मान्छेको शरीरका लागि झन् राम्रो रहेको पोषणविद् कार्की बताउँछन्। ‘रातो मासु खाँदा स्वास्थ्य समस्या हुँदैन,’ उनी भन्छन्,‘यो त स्वस्थ आहार हो।’

कतिपयलाई लाग्छ माछामासुबिना दसैँ नै मान्न सकिँदैन। उनीहरूलाई मासुबिना दसैँ नै खल्लो लाग्छ। तर अर्कोतिर ‘मासु खानुहुन्न’ भन्नेहरू पनि छन्। उनीहरूले फलफूल, मिठाई, पनिर, खिर, हलुवा, टुसा उम्रिएका गेडागुडीलगायत खानेकुरा खाएर दसैँ मनाउँछन्।

पनिर पौष्टिकताले भरिएको खानेकुरा हो। शाकाहारीहरूले त्यसका विभिन्न परिकार बनाएर दसैँ स्वस्थ र रमाइलो बनाउन सक्ने जनस्वास्थ्यविद् उपे्रती बताउँछिन्। ‘फलफूल, दूध, दही पनि शाकाहारीको लागि उपयुक्त खानेकुरा हुन्,’ उनी भन्छिन्।

दसैँमा मिठाई खाने चलन छ। गुलियो मिठाईले स्वास्थ्यमा हानि पुर्‍याउँछ। मधुमेहका रोगीका लागि गुलिया खानेकुरा झनै हानिकारक हुन्। बजारमा रङ हालेर बनाइएका रंगीचंगी मिठाई स्वास्थ्यका लागि घातक हुन सक्ने डा. उप्रेती बताउँछिन्। ‘बजारमा बनाइएका मिठाई सकेसम्म खानु हुँदैन,’ उनी भन्छिन्, ‘मिठाईमा हालिएको रङले शरीरलाई हानि गर्छ।’

मिठाई पकाउँदा एउटै तेल बारम्बार बारम्बार प्रयोग गरिन्छ। त्यस्तो तेलमा भएको विषालु तत्त्वले विभिन्न रोग निम्त्याउन सक्छ। ‘मैदा र चिनीले बनेका मिठाई सकभर नखाएको बेस,’ उनी भन्छिन्, ‘यी दुई आधुनिक जमानाका विष हुन्। मधुमेह र मुटु रोगीलाई यिनले समस्यामा पार्छन्।’

खानै मन भए किनेर ल्याउनुभन्दा घरमै मिठाई बनाउनु उचित भएको उनी बताउँछिन्। ‘बजारको मिठाईको सट्टा खिर, सेल, हलुवा, पुरी, बेसनको लड्डु बनाउन सकिन्छ,’ उनी भन्छिन्, ‘मैदाको सट्टा खुवा, चिनीको सट्टा सक्खर र चाकु प्रयोग गरेर धेरै किसिमका मिठाई बनाउन सकिन्छ।’

पछिल्लो समय सहरदेखि गाउँसम्म दसैँमा हरेक घरमा नुछुटाई खुवाइन्छ कोल्ड ड्रिंक्स। धेरैले मासुका विभिन्न परिकार पेटभरि खाएपछि पचाउन कोल्ड ड्रिंक्स पिउँछन्। त्योचाहिँ गलत हो। त्यस्ता पेय पदार्थले खाएको कुरा नपचाउने पोषणविद् कार्की बताउँछन्। ‘बरु ती हानिकारक पेयपदार्थले रोग निम्त्याउन सक्छन्,’ उनी भन्छन्, ‘हिजोआज आफन्त र पाहुनाको स्वागत चिसो पेय पदार्थले गरिन्छ। कोल्ड ड्रिंक्सले स्वागत गर्नु उचित होइन।’

घर आउँदा आफन्त र पाहुनालाई चिसो पेय पदार्थको साटो दही, मोही खुवाउनु राम्रो हुने उनी बताउँछन्। भन्छन्, ‘स्वास्थ्यका लागि लाभदायी दही, मोहीलाई पन्छाएर आफन्तलाई चिसो खुवाएर हामीले उनीहरूको स्वास्थ्यसँग खेलवाड गरिरहेका छौँ भन्ने कुरा गाउँसहरमा रहेका हरेक व्यक्तिले बुझ्नुपर्छ।’

प्रकाशित: ५ कार्तिक २०८० ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =