‘अराजक’ अभिनेता

हिमाल प्रेस २७ असोज २०८० १५:३१
16
SHARES
‘अराजक’ अभिनेता

‘तुम्हारी औकात क्या है पीयूष मिश्रा’  भारतीय कलाकार पीयूष मिश्राको किताबको शीर्षक हो यो। हिन्दी सिनेमा र नाटकमा उनी निकै चर्चित छन्। पीयूषका अनेक पहिचान छन्। उनी अभिनेता, गायक, गीतकार, संगीतकार, नाटककार, लेखक हुन्। बहुप्रतिभाशाली उनी फिल्मको पटकथा पनि लेख्छन्।

उनको नाम सुन्नेबित्तिकै धेरैलाई लाग्छ संसारमा यस्तो कुनै काम नै छैन जो यो मान्छेले गर्न सक्दैन। सिर्जनाका धनी पीयूष गायन, अभिनय, लेखनलगायतका क्षेत्रमा अब्बल मानिन्छन्।

उनी निर्धक्क खुलेर नडराई बोल्छन्। त्यसैले कतिपय बलिउडकर्मीले उनलाई ‘अराजक’ अभिनेता पनि भन्छन्। पीयूषले लेखेको किताबको शीर्षक पनि उनीजस्तै ‘अराजक’ छ, ‘तुम्हारी औकात क्या है पीयूष मिश्रा’।

यो आत्मकथात्मक उपन्यास हो। जसको नायक हो, ह्यामलेट। अर्थात् सन्ताप त्रिवेदी अर्थात् पीयूष मिश्रा। किताबमा उनले आफू जन्मिएको ग्वालियर, राष्ट्रिय नाट्य विद्यालय, मुम्बई र आफ्ना साथी कलाकारको जीवन समेटेका छन्। आफूसँगै जोडेर कथाका रूपमा पस्केका छन्।

सिनेमामा खूब नाम कमाएका पीयूषको भारतीय रंगमञ्चमा झनै ठूलो नाम छ। मध्यप्रदेशको ग्वालियरमा जन्मिएका उनी किशोरावस्थादेखि रंगमञ्चतिर आकर्षित भएका थिए। सन् १९८६ मा दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयबाट अभिनयको शिक्षा पूरा गरेर दिल्लीमै उनले रंगमञ्चको सुरुवात गरेका हुन्।

हिन्दी सिनेमामा उनले सन् १९९८ मा प्रवेश गरेका थिए। त्यसअघि थुप्रै थिएटर सो गरिसकेका थिए। रंगमञ्चका लागि ‘क्रेजी’ उनमा नाटक अभिनयको नशा नै थियो। जुन अहिले पनि कायमै छ।

रंगमञ्चकै कारण लामो समय उनी दिल्लीमै रोकिए। नाटकले उनलाई मुम्बई जान दिएन। जब उनी मुम्बई जान तयार भए, ‘द लास्ट ब्वाई अफ एनएसडी प्याक हिज ब्याग’ भनेर पत्रिकामा समाचार छापियो।

दिल्ली भनेपछि भुतुक्कै हुन्छन् पीयूष। अहिले पनि उनलाई दिल्लीको उत्तिकै माया लाग्छ। रंगमञ्च र दिल्ली उनको जीवनका अभिन्न अंग हुन्। ‘मेरो मुटु दिल्ली र त्यहाँको रंगमञ्चमा बस्छ,’ उनले भन्ने गरेका छन्।

पीयूषलाई नाटकको जति नशा थियो। रक्सीको नशा पनि त्यस्तै थियो। तर नाटकको नशा रक्सीको भन्दा बढी थियो। दिनमा रंगमञ्चमा हुन्थे, राति रक्सीको मातमा।

‘८० को दशकमा मैले पहिलोपटक बियर खाएको थिएँ,’ उनी भन्छन्, ‘बिस्तारै त्यसको बानी पर्दै गयो। दिनमा पिउँदिनथेँ तर रातभर रक्सीमात्रै हुन्थ्यो। अल्कोहोलिज्म रोग लाग्यो। यो अत्यन्तै नराम्रो रोग हो। यो सामाजिक रोग हो। जसबाट तपाईंमात्र होइन तपाईंको पूरा परिवार पीडित हुन्छ।’

रक्सीको मातमा पनि उनले लेख्न छाडेनन्। नाटक लेखे, गीत लेखे। गीतमा संगीत भरे। रक्सीले आफ्नो सिर्जनशी कर्ममा कुनै कमी नल्याएको उनी बताउँछन्। तर रक्सीको नशाले छोडेपछि अपराधभावले उनलाई सताउँथ्यो। तर बेलुका भएपछि आफूमाथि नियन्त्रण नहुने, नियन्त्रण गर्नै नसक्ने पीयूष बताउँछन्। ‘म आफूलाई परिवारको दोषी ठान्थेँ,’ उनी भन्छन्, ‘तर आफूलाई रोक्न पनि सक्दैनथेँ। रक्सी मेरो शरीरमा रगतजस्तै बग्थ्यो।’

रक्सीको मातमा महिलालाई फोन गर्नु, अश्लील कुरा गर्नु उनका लागि सामान्य भयो। हरेक बिहान महिला फोन गरेर सोध्थे– ‘सर तपाईंलाई हिजो राति के भएको थियो? तर पीयूषलाई केही याद हुँदैन थियो।

अत्ति भएपछि सन् २००६ मा उनी एक संस्थाको सम्पर्कमा आए। ‘रक्सी निहुँमात्र थियो, म नै नराम्रो, नीच, नैतिक रूपमा पतन भएको भ्रष्ट मान्छे थिएँ,’ उनी भन्छन्, ‘म आफ्नोबारे मात्रै सोच्थे। श्रीमती र बच्चाबारे सोचिनँ।’

पीयूषले जीवनमा गरेका हरेक कामबारे एक डायरीमा लेख्न थाले। ‘लेखेपछि थाहा भयो दुई दशकमा मैले ९९ प्रतिशत गलत गरेको रहेछु,’ उनी भन्छन्, ‘हरेकमा मेरै गल्ती रहेछ।’ त्यसपछि उनी रक्सी छोडेका मान्छेहरूसँग भेटघाट गर्न थाले। उनीहरूको मद्दतले आफूमा सुधार ल्याए।

एक आफन्त भेट्न अमेरिका पुगेका पीयूष रक्सीकै कारण मस्तिष्कघातको सिकार भए। उनलाई प्यारालाइसिसले सतायो। अमेरिकी चिकित्सकले ‘यो मान्छे अब कहिल्यै ठिक हुन सक्दैन’ भने पनि भारतीय निर्देशक विशाल मिश्राको सल्लाह र सहायताले आफू स्वस्थ भएको उनी बताउँछन्। पीयूषले आध्यात्मिक बाटो रोजे। आफूलाई ‘असल मान्छे’ बनाउन चाहन्थे उनी।

सलमान खान र भाग्यश्री अभिनीत फिल्म ‘मैने प्यार किया’ १९८९ मा प्रदर्शनमा आएको थियो। त्यसका लागि सलमानभन्दा पहिले पीयूषले अडिसन दिएका थिए। फिल्ममा मुख्य भूमिकामा उनी छनोट भएका थिए। तर दिल्ली मोहले उनलाई छोडेन। दिल्ली छोड्न नसक्दा त्यो भूमिका सलमान खानको पोल्टामा पर्‍यो। जसले सलमानको करियर बनाइदियो।

पीयूषले १९९८ मा रिलिज ‘दिल से’बाट बलिउडमा प्रवेश गरे। शाहरुख खान, मनीषा कोइराला मुख्य भूमिकामा रहेको फिल्ममा उनी प्रहरी अधिकारीको भूमिकामा छन्। त्यसपछि उनले थुप्रै हिन्दी फिल्ममा काम गरे। ‘मकबुल’, ‘ग्याङ्स अफ वासेपुर’, ‘गुलाल’, ‘रकस्टार’, ‘तमाशा’लगायत एक से एक फिल्ममा काम गरे। ‘गुलाल’मा उनको अभिनयको खूब प्रशंसा भयो। त्यसका गीत पनि पीयूषले नै लेखेका हुन्। जो फिल्म प्रदर्शनमा आउनुअघि हिट भइसकेका थिए।

त्यसयता उनले फर्किएर हेर्नु परेन। अभिनेता, गीतकार, संगीतकार, पटकथा लेखकका रूपमा बलिउडमा एकपछि अर्को सफलता हात पार्दै गए। फिल्मसँगै वेब सिरिजमा पनि उनले काम गरेका छन्। वेब सिरिज ‘मत्स्य काण्ड’मा उनी मुख्य भूमिकामा छन्।

प्रकाशित: २७ असोज २०८० १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =