मोदीको कालापानी भ्रमणबारे सदनलाई जानकारी गराउन रास्वपाको माग

हिमाल प्रेस २५ असोज २०८० १४:२५
2
SHARE
मोदीको कालापानी भ्रमणबारे सदनलाई जानकारी गराउन रास्वपाको माग फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी क्षेत्रबारे जानकारी गराउन सरकारसँग माग गरेका छन्। उनले बिहीबार प्रतिनिधिसभाको आकस्मिक बैठकमा सम्बोधन गर्दै यस्तो माग गरेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मोदी बिहीबार बिहान भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीका साथ कालापानी क्षेत्रको भ्रमणमा गएका छन्। मोदीले नेपालको नक्सामा समेटिएको कालापानी क्षेत्रका कुटी, गुन्जी लगायतका क्षेत्रको भ्रमण गरेको जानकारी पाएको लामिछानेले बताए।

उनले भने, ‘आधिकारिक निकायबाट के थाहा हुन आयो भने हाम्रो मित्रराष्ट्र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भूभागमा आउनुभएको रहेछ। छिमेकी मित्रराष्ट्रको प्रधानमन्त्री हाम्रो भूभागमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ न देशलाई कुनै जानकारी गराएको छ।’

यत्रो ठूलो भ्रमण हुँदा पनि सरकार बेखबर रहेको उनको भनाइ छ। ‘भ्रमण हाम्रो देशमा कुटी गुन्जी चुच्चे नक्साभित्र पर्छ। त्यो भूभाग हाम्रो यो सदनले पास गरेको नक्साभित्र भूभाग पर्छ। त्यस भूभागभित्र गुन्जी पनि पर्छ’, उनले भने।

मोदीले कालापानी क्षेत्रको भ्रमण गरेको विषयमा आफूले दार्चुलाका प्रमुख जिल्ला अधिकारीसँग पनि जानकारी लिएको लामिछानेले बताए।

‘छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री मोदीले भ्रमण गर्नुभएको भन्ने समाचार आयो। यसको आधिकारिकताका लागि प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरियो। हामी त्यहाँ जान पाउँदैनौँ, हामीले पनि थाहा पायौँ भन्ने कुरा उहाँले जानकारी गराउनुभयो।’

लामिछानेले यसबारे सरकार र परराष्ट्र मन्त्रालयले जबाफ दिनुपर्ने बताए। उनले प्रश्न गरे, ‘यति ठूलो भ्रमण आफ्नो भूमिमा आफ्नो देशमा छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले नेपाली जनतालाई जानकारी गराउनु पर्दैन? छिमेकी राष्ट्रको त्यति ठूलो व्यक्तित्व सरकार प्रमुख हाम्रो भूमिमा आउँदाखेरि सरकारले उहाँलाई स्वागत गर्नुपर्दैन? कुनै कार्यक्रम हुनुपर्दैन? त्यसका औपचारिकताहरू हुँदैनन्?’

सभापति लामिछानेले मोदीको भ्रमणबारे सदनलाई जानकारी गराउन सरकार र परराष्ट्र मन्त्रालयको विशेष ध्यानाकर्षण गराए।

भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले बिहीबार पिथौरागढ क्षेत्रमा रहेको पार्वती कुण्डमा पूजा गरेका छन्। यस्तै उनी गुन्जीका स्थानीयसँग अन्तरसंवाद, कला र उत्पादनसँग सम्बन्धित प्रदर्शनीको अवलोकन, सुरक्षा निकायका अधिकारीसँग बैठकमा सहभागी भएका छन्। अल्मोडामा रहेको जागेश्वर मन्दिरमा दर्शन र पिथौरागढका विभिन्न परियोजनाका शिलान्यास र उद्घाटन समारोहमा मोदीले सहभागिता जनाउने कार्यक्रम छ।

प्रकाशित: २५ असोज २०८० १४:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =