एमाले मधेश अधिवेशन : चुनाव सुरु नभई धाँधलीको आरोप

हिमाल प्रेस २५ असोज २०८० १२:०७
24
SHARES
एमाले मधेश अधिवेशन : चुनाव सुरु नभई धाँधलीको आरोप

जनकपुरधाम- नेकपा एमालेको पहिलो मधेश अधिवेशन चलिरहँदा प्रतिनिधि छनोट अवैधानिक तरिकाले आरोप लगाइएको छ।

एमालेको मधेश प्रदेश समितिका सदस्य नागेश्वर साहले सर्लाहीको विभिन्न पालिकाबाट विधान मिचेर प्रतिनिधि छनोट गरिएको आरोप लगाएका हुन्। सर्लाहीको ब्रह्मपुरी, कौडेना र पर्सा गाउँपालिकाबाट प्रतिनिधि छनोट गर्दा विधान मिचिएको उनले बताए। साहका अनुसार एमालेको सर्लाही इन्चार्ज एवं पूर्वमन्त्री ज्वाला साह र अध्यक्ष राजनारायण साहले मिलेर प्रतिनिधि छनोटमा धाँधली गरेका हुन्।

एमालेको मधेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरेर प्रदेशमा पठाउनुपर्ने मिति असोज १३ गतेसम्म थियो। साहले भने, ‘तर इन्चार्ज र जिल्ला अध्यक्ष मिलेर बैठक छलेर विधानविपरीत प्रतिनिधिको नाम पठाएका थिए।’

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाबाट मलंगवाका पूर्वप्रमुख निरसल साह, कौडेना गाउँपालिकाबाट मलंगवाकै सुरेश साह र पर्सा गाउँपालिकाबाट भिखारी साहको नाम प्रतिनिधि छनोट गरी पठाइएको थियो।

तीनवटै पालिकाबाट ३/३ जना प्रतिनिधिको नाम पठाइएकोमा यी व्यक्ति सम्बन्धित भूगोलमा नरहेको एमाले मधेश प्रदेश समिति सदस्य साहले बताए। उनले भने, ‘एक त यी पालिकामा बिना बैठक गरी प्रतिनिधि छनोट गरिएको छ। त्यसमाथि केही व्यक्तिहरू जो सम्बन्धित भूगोलमा छैनन् त्यस्ता व्यक्तिलाई समेत प्रतिनिधिका रूपमा पठाइएको छ। विधानविपरीत छानिएका नाम फिर्ता लिनुपर्छ।’

उनले यस विषयमा एमाले प्रदेश  सचिवालय, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, संगठन विभाग प्रमुख खगराज अधिकारी, सर्लाही जिल्ला इन्चार्ज ज्वाला साहसमक्ष निवेदन  दिएका छन् । तर निवेदनको कुनै सुनवाइ नगरी उल्टै जे गर्नु छ गरेर देखाउनुस् भनेर जिल्ला इन्चार्ज ज्वालाले आफूलाई हप्काएको साहको आरोप छ।

सर्लाही जिल्ला इन्चार्ज समेत रहेकी पूर्वमन्त्री ज्वालाले आफूहरू समक्ष निवेदन नआएको बताइन्। उनले भनिन्, ‘निवेदन त आएको छैन तर नागेश्वरजीले आजै यस विषयमा मसमक्ष कुरा राख्नु भएको थियो।’ सहमति गरेरै जिल्ला अध्यक्षले प्रतिनिधि  छनोट गरेको दाबी उनको छ।

प्रकाशित: २५ असोज २०८० १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =