धरानमा मासु व्यवसायीको मनपरी

विवेक विवश रेग्मी २५ असोज २०८० १३:४१
136
SHARES
धरानमा मासु व्यवसायीको मनपरी धरानस्थित एक मासु पसल। तस्बिर : विवेक विवश रेग्मी

इटहरी- धरान उपमहानगरपालिका क्षेत्रमा बंगुरको मासुको मूल्यमा विवाद उत्पन्न भएको छ। मासु व्यवसायीले तीन महिनामै बंगुरको मासुको मूल्य एक केजीमा एक सय रुपैयाँ बढाएपछि उपभोक्ता भने मारमा परेका छन्।

चाडपर्वलाई लक्षित गर्दै मासु व्यवसायीले प्रतिकेजी चार सयबाट पाँच सय रुपैयाँ मूल्य बढाएको गुनासोपछि धरान उपमहानगरले अनुगमन गरेको थियो। अनुगमनका क्रममा धरान उपमहानगरका प्रतिनिधिले मासुको मूल्य समायोजन गर्न भने पनि व्यवसायीहरूले अटेर गरेका छन्।

छलफलका क्रममा उपप्रमुख आइन्द्रविक्रम बेघाले पाँच सयबाट घटाएर चार सय ६० रुपैयाँ प्रतिकिलो बनाउन प्रस्ताव गरे। तर व्यवसायीहरू एकमत नहुँदा मासुको मूल्य नघटाउने र घटाउन दबाब दिए बिक्रीवितरण नै नगर्ने अडान लिएसँगै धरानमा बंगुरको मासु बिक्री भएको छैन। व्यवसायीहरूले बुधबार दिनभर पसल बन्द गरेका थिए। साँझ उपमहानगरमा पुनः छलफल भएको थियो।

मासु व्यवसायी संघ धरानका अध्यक्ष मदनकुमार तामाङले एक दिन सबै मासु पसलले बन्द गरेर आन्दोलनमा साथ दिएको र बुधबारदेखि बंगुरको मासु पसल मात्र बन्द गर्ने निर्णय भएको बताएका थिए। मंगलबार उनले भनेका थिए, ‘बंगुर व्यवसायीको विषय हो। एक दिन सबै व्यवसायीलाई आग्रह गराएर बन्द गरायौँ। अब बंगुरबाहेक अन्य मासु पसलहरू खुला गराउँछौँ।’

मासु व्यवसायीले साउन १ गतेदेखि लागू हुने गरी बंगुरको मासुमा मूल्य बढाएका थिए। साउन १ गते प्रतिकिलो ३६० बाट ४२० बनाइएको थियो। तर धरान उपमहागनरले प्रतिकिलो चार सय कायम गर्न सचेत गराएको थियो।

तीन महिनामै पुनः व्यवसायीले किलोमा एक सय रुपैयाँ बढाएपछि उपभोक्ता मारमा परेका हुन्। उपमहानगरले पनि चार सय ६० कायम गरिँदा समस्या उत्पन्न भएको व्यवसायीहरूको भनाइ छ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र मासु व्यवसायीबीच भएको छलफल। तस्बिर : हिमाल प्रेस

धरानस्थित सन्ध्या किचनका सञ्चालक रबिन अधिकारीले मूल्यवृद्धिका कारण समस्या भइरहेको सुनाए। ‘अस्वाभाविक हिसाबमा मूल्यवृद्धि भएपछि समस्या छ। साग, सब्जीदेखि हरेक कुराको मूल्यवृद्धि भएको छ। एकपटक बनेको मेन्यु तुरुन्तै परिवर्तन गर्न मिल्दैन,’ उनले भने, ‘तीन महिनाअघि बढेको मूल्य सबै उपभोक्ताले स्वीकार गरेकै थिए। चाडपर्वको समयमा अचानक मूल्यवृद्धि हुनुले समस्या छ ।’

संगठनको आडमा आन्दोलन गरेर रेट कायम हुन्छ भन्ने देखिएको अधिकारीले बताए। उनले भने, ‘उपभोक्ताले गाउँघरमै बंगुर काटेर खान थालेपछि आन्दोलन कमजोर भएको छ। यसैकारण पनि व्यवसायीको आन्दोलन स्थगित भयो।’

धरानमा होटल व्यवसाय  संकटमा परेको उनको भनाइ छ। मूल्यवृद्धि, महँगी, कालोबजारी र पर्यटकको आवागमन नहुँदा होटल व्यवसायी चिन्तित छन्। ‘व्यापारीहरूले चाडपर्वलाई लक्षित गरी मूल्यवृद्धि गर्दा समस्या छ। मूल्यवृद्धि वैज्ञानिक हो कि, कालोबजारी?,’ अधिकारीको गुनासो छ, ‘धरानमा नागरिक समाज र उपभोक्ता मञ्च छन्। तर उनीहरू कहिल्यै नागरिकको हितमा, उपभोक्ताको पक्षमा बोल्दैनन्।’

पछिल्लो समय धरानमा सामाजिक द्वन्द्वका कारण पर्यटक शून्यजस्तै भएको उनको अनुभव छ। ‘चर्च र मन्दिर काण्डदेखि सामाजिक द्वन्द्वका कारण पर्यटक आउन चाहिरहेका छैनन्,’ उनले भने, ‘धरानमा पर्यटक नै छैनन्, व्यवसायी पलायन हुनुपर्ने अवस्था छ।’

चाडपर्वको समयमा प्रतिकेजी चार सय ६० रुपैयाँमै मासु बिक्री गर्ने निर्णय भएको अध्यक्ष  तामाङले जानकारी दिए। ‘धरान नगर समितिसँग बैठक बसेर तत्काल ४६० कायम गरेर जाने निर्णय छ,’ तामाङले हिमाल प्रेससँग भने, ‘दसैँ तिहारपछि भने अन्य बजारलाई पनि अध्ययन गर्ने र विज्ञ राखेर मूल्य समायोजन गर्ने निर्णय भएको छ।’

व्यवसायीले त्यसो भने पनि उपभोक्ता भने विश्वस्त छैनन्। धरानका एक उपभोक्ता भन्छन्, ‘यहाँ मासु व्यवसायीको सिन्डिकेट छ। उनीहरूले विभिन्न बहानामा एकतर्फी रूपमा मूल्य बढाउँदै आएका छन्। यस्तो मनपरी सधैँका लागि अन्त्य हुनुपर्छ।’

संघले मंगलबार साँझ भने आकस्मिक पत्रकार सम्मेलन गर्दै बुधबारदेखि अनिश्चितकालका लागि बंगुरको मासु पसल मात्र बन्द गरिने र अन्य मासु, माछा पसलहरू खोल्ने जनाएको थियो।

प्रकाशित: २५ असोज २०८० १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =