अवैध डेन्टल क्लिनिकमा प्रशासनको ताला

हिमाल प्रेस २३ असोज २०८० १६:४९
8
SHARES
अवैध डेन्टल क्लिनिकमा प्रशासनको ताला

खोटाङ- जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ। दिक्तेल बजारको मानव अधिकार चोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड तथा प्रक्रिया पूरा नगरी सञ्चालन गरेको क्लिनिकमा ताला लगाइएको हो।

उक्त डेन्टलले बिना इजाजत न्युनकतम मापदण्ड पनि पूरा नगरी काम गरिरहेको पाइएपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जानकारी दिए।

गत साउन ९ गते गरिएको बजार अनुगमनका क्रममा त्रुटि गरेको पाइएपछि सच्याउन निर्देशन दिएको लामो समयपछि पनि आवश्यक प्रक्रिया पूरा नगरिएका कारण क्लिनिक सिल गरिएको उनले बताए।

दाँतको स्क्रिनिङ, स्केलिङ र हल्लिएको दाँत फुकाल्न पाउने इजाजत पाएको डेन्टल क्लिनिकमा जोखिम मोलेर दन्त चिकित्सकले गर्ने सम्पूर्ण उपचार नै गरेको पाइएको थियो। तेलीलाई दन्त चिकित्सक राखेर डेन्टल चलाउन दिइएको अन्तिम चेतावनी पालना नभएको पाइएकाले सिल गरिएको सहायक प्रजिअ साहको भनाइ छ।

उक्त क्लिनिकमा बिनास्वीकृति र बिनाजनशक्ति दाँतको आरसिटी गर्दै सेवाग्राहीबाट रकम असुल्ने गरेको अनुगमन टोलीले बताएको छ। साथै दन्त चिकित्सक नराखेको, डेन्टल एक्स–रे र कुर्सी एकै ठाउँमा राखिएको, डेन्टल चेयर काम नलाग्ने भएको, हातधुने बेसन नभएको, क्लिनिकको भवन मापदण्डअनुसार नभएको पाइएको बताइएको छ।

तेलीकै नाममा रहेको ॐ हलेसी मेडिकेयर क्लिनिक पनि दर्ता बिना नै सञ्चालन गरेको पाइएपछि औषधि व्यवस्था विभागले गत चैत २३ गते सिल गरेर स्वास्थ्य कार्यालयबाट अनुमति लिएर मात्रै सञ्चालन गर्न चेतावनी दिइएको छ।

फार्मेसी पढेकाले मात्रै औषधि बिक्री गर्न पाइने भए पनि सो मेडिकेयर क्लिनिकमा फर्मासिष्ट वा फार्मेसी सहायकबिना नै औषधि बिक्रीवितरण हुँदै आएको छ। त्यस्तै न्यू हलेसी मेडिकेयर क्लिनिक एन्ड मन्सुना फार्मेसीले पनि अवैध रूपमा रेबिजविरुद्धको भ्याक्सिन राखेको भेटिएको छ। चिकित्सकको प्रेस्क्रिप्सनबिना चलाउन नपाइने रेबिज भ्याक्सिन डोमेस्टिक फ्रिजमा राखेको पाइएको सहायक प्रजिअ साह बताउँछन्।

फार्मेसी सञ्चालक महेशप्रसाद साहले थाहा नभएर रेबिजविरुद्धको भ्याक्सिन राखेको जवाफ दिएको पनि सोही क्लिनिकमा मुटुको बिरामीले प्रयोग गर्ने औषधि पनि भेटिएको अनुगमन टोलीले बताएको छ।

आसन्न चाडबाडलाई लक्षित गरेर जिल्ला प्रशासनले आइतबारदेखि जिल्लामा सञ्चालित हाटबजार, खुद्रा तथा होलसेल पसल, फार्मेसी एवं क्लिनिकहरूमा अनुगमन सुरु गरेको छ। अनुगमनका क्रममा भेटिएका अखाद्यवस्तु बरामद गर्नाका साथै सञ्चालकलाई सजग गराउने काम भइरहेको अनुगमन टोली संयोजक एवं सहायक प्रजिअ साहले बताए। रासस

प्रकाशित: २३ असोज २०८० १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =