इजरायल घटनाबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान

हिमाल प्रेस २२ असोज २०८० १०:५८
2
SHARE
इजरायल घटनाबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन्।

सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ।

मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ।

नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेका छन्।

प्रधानमन्त्रीले इजरायल हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्दार र नेपाल फिर्तिका लागि कूटनीतिक पहल गरेका छन्। सो सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले असोज २० गते घटनाको भर्त्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गरेका थिए।

प्रधानमन्त्रीले इजरायलस्थित नेपाली दुतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्धारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिएका थिए।

इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकीन गर्न र उनीहरूको उद्धार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अंगका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए।

सो बैठकले माननीय परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षा लगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अंगका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक र्‍यापिड एक्सन टिम गठन गर्‍यो।

उक्त टीमको बैठकले उद्दार र नेपाली फीर्तिसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको छ।
सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।

प्रकाशित: २२ असोज २०८० १०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =