एनआरएनएको सचिवमा उम्मेदवारी घोषणा गरेका डा. रेग्मीका यस्ता छन् प्रतिबद्धता

हिमाल प्रेस २१ असोज २०८० १८:०८
20
SHARES
एनआरएनएको सचिवमा उम्मेदवारी घोषणा गरेका डा. रेग्मीका यस्ता छन् प्रतिबद्धता

काठमाडौँ- डा. ज्ञानेन्द्र रेग्मीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारीको घोषणा गरेका छन्। संघको अगामी अक्टोबरमा हुने ११ औँ विश्व सम्मेलन तथा महाधिवेशनका लािग उनले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उनले आफू निर्वाचित भएमा संघको हितका लागि विभिन्न योजना तथा प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले भनेका छन्, ‘विदेशमा बस्ने हामीले खोजेको नेपाली नागरिकताको निरन्तरता हो। यसका लागि नेपाल सरकारसँग निरन्तर लबिङ गर्नेछु।’

उनले नेपाल सरकारले प्रदान गर्दै आएको एनआरएन नागरिकतालाई उपलब्धिका रूपमा लिँदै गैरआवासीय नागरिकता चाँडोभन्दा चाँडो सहज तरिकाले वितरण गर्न सम्बन्धित सरोकारवाला निकायसँग परामर्श गर्ने प्रतिबद्धता जनाएका छन्।

‘तीन पुस्तामा सीमित यो नागरिकताले गैरआवासीय नेपालीको भावनालाई नेपालसँग जोडाउने भन्दा टुटाउने काम गर्छ। नेपालमा लगानी भित्र्याउने भन्दा नेपालबाट लगानी बाहिरिने भूमिका खेल्न सक्छ। त्यसैले यो तीनपुस्ते प्रावधान हटाउन नेतृत्वमार्फत तत्कालै पहल गर्नेछु।’

विकल्पमा तत्काललाई सात पुस्तासम्म पुर्‍याउन आधारसहित कार्यपत्र पेस गरेर नेपाल सरकारसँग लबिङ गर्ने उनले बताएका छन्।  गैरआवासीय नेपाली नागरिकता प्राप्त भएपछि गैरआवसीय नेपाली संघको उद्देश्य समीक्षा गरी प्राथमिकतामा राखेर संघको १० बर्से ठोस कार्यदिशा र योजना बनाउन पहल गर्ने प्रतिबद्धता डा. रेग्मीको छ।

गैरआवासीय नेपालीलाई नेपालमा सामूहिक लगानी गर्न मनोबल बढाउन सरकारका सम्बन्धित निकायसँग सहकार्य गर्दै विभिन्न मोडलका योजना निर्माण गर्ने उनले बताएका छन्।

ज्ञान, सीपको आदानप्रदान गर्न ठोस कार्यक्रम बनाएर व्यवसायी, बौद्धिक वर्ग र पेसाकर्मीहरूसँग छलफल र सहकार्य गर्ने प्रतिबद्धता उनको छ।

डा. रेग्मीले आईसीसीका अधिकांश कामलाई एनसीसीहरूले हरेक प्रकारले सहयोग गर्दै आइरहेकोमा आगामी दिनमा आईसीसीले एनसीसीलाई पनि अझ बढी सहयोग गर्ने वातावरणको सिर्जना गर्ने जनाएका छन्। उनले भनेका छन्, ‘आईसीसी र एनसीसीको प्रत्यक्ष कम्युनिकेसनको वातावरण बनाउनेछु। विगत केही वर्षदेखि देखिएको एनसीसी र आईसीसीबीचको प्रतिधिनिधि विवाद हटाउन सबै एनसीसीको कार्यसमितिको अभिलेखालय राखेर संगठन पारदर्शी बनाउँदै प्रतिनिधि विवाद सधैँका लागि अन्त्य गर्नेछु।’

विराटनगर मूल घर भएका डा. रेग्मीले सिभिल इन्जिनियिरिङमा विद्यावारिधि उपाधि लिएका छन्। हाल उनी अस्ट्रेलियाको डिपार्टमेन्ट अफ प्लानिङ एन्ड इन्भाइरोमेन्टमा सिनियर प्रोजेक्ट इन्जिनियरका रूपमा कार्यरत छन्। नेपाल इन्जिनियर्स एसोसिएसन जापान च्याप्टरको महासचिव, नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरमको महासचिव, एनआरएन अस्ट्रेलियाको प्रवक्ता र एनआरएन अस्ट्रेलियाको सल्लाहकारका रूपमा काम गरेको अनुभव उनीसित छ।

प्रकाशित: २१ असोज २०८० १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =