इजरायलमा भएको आक्रमणबारे परराष्ट्रमन्त्री र इजरायली राजदूतबीच छलफल

हिमाल प्रेस २१ असोज २०८० १३:३६
6
SHARES
इजरायलमा भएको आक्रमणबारे परराष्ट्रमन्त्री र इजरायली राजदूतबीच छलफल

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा भएको आक्रमण र नेपालीहरूको उद्धारबारे नेपालका लागि इजरायली राजदूत हनान गोडेरलाई परराष्ट्र मन्त्रालयमा बोलाएर छलफल गरेका छन्।

साउदले आक्रमण प्रति भर्सना गर्दै राजदूत गोडेरसँग यस्ता घटनाको नेपालले विरोध गर्ने बताएका थिए।

मन्त्री साउदले इजरायलमा हमासले गरेको आक्रमणका विषयमा छलफल गर्दै नेपालको धारणा पनि सुनाएका थिए।

राजदूत गोडेरलाई त्यहाँ रहेका नेपालीको सुरक्षा र आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे मन्त्री साउदले चासो राखेका थिए।

राजदूत गोडेरले इजरायलमा रहेको कुनै पनि विदेशी नागरिक इजरायली नागरिक सरह हुने बताएका थिए। उनले उपचार र उद्धारमा कुनै कमी नहुने प्रस्ट पारेका थिए।

राजदूत गोडरले इजरायली सरकारका तर्फबाट त्यहाँ रहेका नेपालीहरुको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता व्यक्त गर्दै इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवाद समेत दिए।

इजरायलका नेपालीबारे गृहमन्त्रीको गम्भीर चासो

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो व्यक्त गरेका छन्।

उनले आइतबार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदुत हनान गोडेरलाई सम्पर्क गरी लडाइँमा फसेका नेपालीको अवस्था र उद्दारबारे जानकारी लिएका थिए।

गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै उनले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका हुन्।

नेपाली राजदूत रिजालले घाइते एवम् युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्दारको पहल गर्ने काम भैरहेको जानकारी दिएको पनि श्रेष्ठको सचिवालयले जनाएको छ। त्यस्तै इजरायली राजदूत गोडेरले नेपालीहरूलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने बताए।

उनले इजरायलमा रहेका सबै नागरिकलाई इजरायली नागरिक सरहकै सेवा सुविधा हुने हुनाले उपचारमा कमी नहुने स्पष्ट पारेका थिए।

प्रकाशित: २१ असोज २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =