मुलुक युवाविहीन हुने खतरा बढ्यो : झलनाथ खनाल

हिमाल प्रेस २१ असोज २०८० ११:२६
12
SHARES
मुलुक युवाविहीन हुने खतरा बढ्यो : झलनाथ खनाल

लुम्बिनी- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा बेरोजगारीका कारण मुलुक युवाविहीन हुने अवस्था रहेको बताएका छन्।

समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका खनाल आइतबार समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवाशक्ति खाडीलगायतका मुलुकमा पलायन हुनु मुलुकका लागि ठीक नभएको बताए।

‘युवालाई मुलुकमै टिकाउन जरुरी छ, यसका लागि रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास जरुरी छ’, उनले भने। उनले मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै यसले समाजवादतर्फ जान मद्दत गर्ने जनाए।

यस्तै, नेता खनालले नेपालमा नयाँ ढंगको ध्रुवीकरणको आवश्यकता रहेको समेत बताए। वर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै उनले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरण आवश्यकता रहेकोमा जोड दिए।

‘समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरु एक हुनुपर्ने हुन्छ’, उनले भने, ‘यसका लागि नयाँ ध्रुवीकरण जरुरी छ ।’

उनले २०७४ मा बनेको दुई तिहाइको सरकारबाट जनताले अपेक्षा गरे पनि गलत नेतृत्वका कारण मुलुक फेरि संकटमा परेको जनाए। उनले अहिलेको व्यवस्थाले आम नागरिकलाई भन्दा बढी विचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको उनको आरोप छ।

उनले व्यवस्था फेरिए पनि त्यो व्यवस्था अनुसार जनताको जीवनस्तर र अबस्था नफेरिएको बताउँदै समाजवादमा जाने कि पुँजीवादमै रहने भन्ने विषयमा व्यापक बहस चलाउनु पर्ने बताए।
नेता खनालले अहिलेका तीन तहका सरकारले जनताको काम गर्न नसकेको बताए ।

समाजवादी पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाईलाई लिएर मेची महाकाली यात्रामा निस्किएको बताए।

उनले असोज १४ बाट सुरु भएको यात्रा भैरहवासम्म आउँदा झण्डै ५ हजार बढी स्वतन्त्र नागरिक र विभिन्न पार्टी छाडेर समाजवादी प्रवेश गरेको बताए । यात्राका क्रममा आफूहरूले जनतालाई आश्वस्त पार्ने गरी रोजगारी सिर्जना, कृषिमा आधुनिकिकरण, व्यवसायीकरण लगायतका विषयमा आवाज बुलन्द गरेको र यी पूरा गर्न सरकारलाई दबाब दिने बताए ।

प्रकाशित: २१ असोज २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =