विवादका बीच बोलाइयो बागमती प्रदेशसभा

हिमाल प्रेस १७ असोज २०८० ७:३२
2
SHARE
विवादका बीच बोलाइयो बागमती प्रदेशसभा फाइल तस्बिर

काठमाडौँ- विवादका बीचमा दुई दिनदेखि स्थगित भएको बागमती प्रदेशसभा बैठक आज बस्दैछ। प्रदेश संसद भवन, हेटौडामा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

प्रतिपक्षी नेकपा एमालेले विरोध जनाएपछि सोमबारदेखि बैठक सुरु हुन सकेको छैन। सोमबारको बैठकमा एमालेले अवरोध गरे पछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए।

पछि बस्ने भनिए पनि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर, मंगलबार पनि बैठक भने बस्दै नबसी स्थगित गरिए पछि बुधबार ४ बजेका लागिसम्म स्थगित गरिएको थियो।

प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले सोमबारको बैठकमा अवरोध गरेको थियो।

त्यसपछि बागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद् स्थगित गरिएको जनाएको थियो तर सहमति हुन नसक्दा मंगलबार पनि बैठक सुरु नै नभई स्थगित गरिएको हो।

सो विधेयक गत वैशाख १२ गते संसद्‌बाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्माले भने आफू समक्ष प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयक फिर्ता गरिदिएका थिए।

गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त विधेयकमा भएका त्रुटिहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले संसदमा फिर्ता पठाएका हुन्।

तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेस गर्न खोजे पछि हिजोको बैठकमा घम्साघम्सी भएको हो। एमालेले प्रदेश प्रमुखको सुझाव समेटेर मात्रै विधेयक संसदमा पेस गर्न भने पनि प्रदेश सरकारले जस्ताको तस्तै पुनः ल्याए पछि संसदमा घम्साघम्सी भएको हो।

प्रकाशित: १७ असोज २०८० ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =