गृहमन्त्रीलाई ओलीको प्रश्न : सुन तस्करी प्रकरण छानबिन गर्दा महासयको के बिग्रिन्थ्यो?

हिमाल प्रेस १६ असोज २०८० १४:१४
4
SHARES
गृहमन्त्रीलाई ओलीको प्रश्न : सुन तस्करी प्रकरण छानबिन गर्दा महासयको के बिग्रिन्थ्यो?

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी श‍र्माले सुन तस्करी प्रकरणलाई लिएर सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै ओलीले वर्तमान सरकार हरेक हिसाबले गैरजिम्मेवार भएको बताएका हुन्।

ओलीले सोमबार हेटौँडामा आयोजित कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोलेको विषयमा पनि आपत्ति जनाएका छन्। ‘हिजो माननीय गृहमन्त्रीजीले हेटौंडामा गएर उधुमै खोक्नुभयो। सुशासनको अभियान चलाएको, त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेका छन् भनेर। कुन विरोधी लागे तपाईंको अभियान रोक्न?’ ओलीको प्रश्न छ।

सुन तस्करी प्रकरण ढाकछोप गरेर सरकारले सुशासनको धज्जी उडाएको ओलीको भनाइ छ। ‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ, तपाईँ ढाकछोप गर्न लाग्नुहुन्छ,’ उनले भने, ‘१०० किलो सुन पक्राउ पर्छ, ढाकछोप गर्न लाग्नुहुन्छ। छानबिन गर्न आयोग बनाउँभन्दा एक महिनासम्म लडाई गर्नुपर्छ। छानबिन गर्दा के बिग्रिन्थ्यो महासय तपाईँको?

त्यस्तै सरकार विकास विरोधी भएको पनि आरोप लगाए। उनले भने, ‘वास्तवमा यी सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार देखिएको छ, स्वेच्छाचारी देखिउको छ। विकास विरोधी देखिएका छन्। चलिरहेका आयोजना रोकिएका छन्। काम सकेकालाई भुक्तानी दिइएको छैन।’

‌ओलीले एसिड पीडितको पक्षमा काम गर्न पनि सरकार चुकेको बताए। ‘एसिड आक्रमणमा परेकी मुस्कान खातुनको घाउ निको भएको छैन। चार वर्ष नहुँदै सरकारले एसिड आक्रमणकर्तालाई छाडिसक्यो। अहिले उनी रोएर हिँडेकी छन्। पीडितलाई सरकारले उपचार दिन सकेको छैन,’ ओलीले भने।’

प्रकाशित: १६ असोज २०८० १४:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =