नारायण ढकालको उन्नाइसौँ किताब ‘अन्तिम पात’ बजारमा

हिमाल प्रेस १४ असोज २०८० १५:०१
8
SHARES
नारायण ढकालको उन्नाइसौँ किताब ‘अन्तिम पात’ बजारमा

काठमाडौँ- साहित्यकार नारायण ढकालको नवीन निबन्धसंग्रह ‘अन्तिम पात’ पाठकमाझ आएको छ । यो उनको उन्नाइसौं किताब हो  ‘यात्रा’, ‘पठन’ र ‘पूर्वपीठिका’ गरी तीन खण्डमा विभक्त निबन्धसंग्रहमा ढकालका विसं २०५७ देखि २०७९ सालसम्मका निबन्ध समेटिएका छन्।

ढकालले २२ वर्षभित्र लेखिएका २२ वटै निबन्ध यस संग्रहमा परेका छन्। पत्रपत्रिकामा पूर्वप्रकाशित र केही नयाँ निबन्ध संगृहीत ‘अन्तिम पात’ले आफ्नो निबन्धलेखनको ‘ट्राजेक्टरी’लाई नक्सांकन गरेको निबन्धकार ढकाल बताउँछन्। बेला पब्लिकेसन्सद्वारा प्रकाशित यस संग्रहमा ‘दर्शनशास्त्र चपाइरहेको ढाडेमुसो’, ‘प्रज्ञा स् पञ्चायतको जुठो टपरी’, ‘हजुरबाको रेड बुक’, ‘शीताङ्ग सहरमा लङ्गडो घोडा’ लगायत पाठकद्वारा अत्यधिक रूचाइएका निबन्ध पनि सङ्कलित छन्।

आफूलाई ‘काँठको क्लर्क’ भन्ने साहित्यकार ढकालका थुप्रै सिर्जना काँठको परिवेश, मनोविज्ञान र राजनीतिक–सामाजिक आयामले भरिपूर्ण छन्।

मूलपानी, काठमाडौंमा विसं २०१० मा जन्मिएका उनी २०२८ सालदेखि निरन्तर लेखनमा सक्रिय छन्। उपन्यास, कथा र निबन्धमा उनको तेजस्वी उपस्थिति छ। उनका सात कथासङ्ग्रह शहरयन्त्र (विसं २०५०), इरफान अली (२०५१), बहिर्गमन (२०६१), आत्महन्ता (२०६२), इन्द्रजाल (२०७१), नारायण ढकालका कथा (२०७३), तमस (२०७६)। पाँच उपन्यास-पीत संवाद (२०५५), दुर्भिक्ष (२०६१), प्रेतकल्प (२०६५), वृषभ वध (२०७१), हजार माइलको बाटो (२०७४)। तीन निबन्धसङ्ग्रह तीन संवत्सर (२०५२), शोकमग्न यात्री (२०६९), अन्तिम पात (२०८०), दुई बालकथासङ्ग्रह ‘मुसेकान्छाको करामत’, ‘गोमाको यार्लिङ’। कवितासङ्ग्रह नरकको ढोका प्रकाशित छन्। साथै, उनका दुई अनुवाद किताब पनि प्रकाशित छन्।

विसं २०२७ देखि २०३२ सम्म हङ्ग्री जेनरेसनको ‘समर्पित कार्यकर्ता’रहेका ढकाल मार्क्सवादबाट प्रभावित भएदेखि नेपाली वाम-राजनीतिमा कहिले प्रच्छन्न र कहिले प्रखर रुपमा अविच्छिन्न सक्रिय रहिआएका छन्। मार्क्सवादी धाराभित्र सिर्जन–स्वतन्त्रताका पक्षमा दृढ उनी कम्युनिस्ट आन्दोलनभित्रका जडताविरूद्ध जीवन–व्यवहारमा र रचनामा पनि प्रतिबद्ध लेखक हुन्।

‘अन्तिम पात’का निबन्धहरुमा ढकालका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की प्रस्तुत भएका छन्। यो उनको तेस्रो निबन्धसंग्रह हो।

प्रकाशित: १४ असोज २०८० १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 12 =