दैलेखमा पेट्रोलियम अन्वेषणमा रहेको मुआब्जा विवाद समाधान

हिमाल प्रेस १३ असोज २०८० १७:१०
32
SHARES
दैलेखमा पेट्रोलियम अन्वेषणमा रहेको मुआब्जा विवाद समाधान दैलेखमा पेट्रोलियम अन्वेषणको काममा खटिएकाहरू। फाइल तस्बिर : खानी तथा भूगर्भ विभाग

दैलेख- पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद समाधान भएको छ। सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रियामा मुआब्जा वितरणलाई लिएर स्थानीयले असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत मुआब्जा वितरण प्रक्रिया अघि बढाएको थियो। भैरवी–१ रावतकोटका २७ घरलाई प्रतिरोपनी १ लाख ५० हजार रुपैयाँका दरले मुआब्जा दिने प्रक्रिया अघि बढाएपछि स्थानीयले विरोध जनाएका थिए।

सर्वदलीय बैठक र मुआब्जा पाउने नागरिकसँगको छलफलपछि विवाद सुल्झिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए। ‘सरकारले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँ मुआब्जा दिने निर्णय गरेको थियो,’ उनले भने, ‘प्रभावित क्षेत्रका नागरिक र सर्वदलीय बैठकपछि रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको मुआब्जा वितरण विवाद सुल्झिएको छ।’

पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङका लागि नेपाल सरकार मन्त्रिपरिषद्को गत (२०७९) माघ २३ गतेका निर्णयका आधारमा गत असार ३ गते मुआब्जा निर्धारण समितिले भैरवी गाउँपालिका-१ रावतकोटका २७ स्थानीयले मुआब्जा पाउने निर्णय भएको थियो।

त्यस्तै, पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङको काम अघि बढाउन आवश्यक उपकरण ल्याउन सडक स्तरोन्नतिको काम पनि अघि बढाएको छ। उपकरण कर्णाली राजमार्गबाट ल्याउन सकिने अवस्था नभएको भन्दै खानी तथा भूगर्भ विभाग र सडक डिभिजन कार्यालय सुर्खेतबीच सडक स्तरोन्नतिको काम अघि बढाउने सहमति भएको थियो।

तर सडक डिभिजन कार्यालय सुर्खेतले समयमै सडक स्तरोन्नति अघि नबढाउँदा समस्या भएको खानी तथा भूगर्भ विभागले बताउँदै आएको छ। खानी तथा भूगर्भ विभाग र सडक डिभिजन कार्यालय सुर्खेतले ड्रिलिङका लागि आवश्यक उपकरण ल्याउन सुर्खेतदेखि दैलेखको साँघेतडासम्मको कर्णाली राजमार्गका घुम्तीहरू मिलाउने र सडक स्तरोन्नतिको काम अघि बढाउने सहमति भएको थियो।

सडक स्तरोन्नतिका लागि अनुमानित लागत चार करोड ३६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोपनारायण पौडेलले बताए। सम्झौताअनुसार राजमार्ग स्तरोन्नतिको काम निर्माण कम्पनीले ६ महिनाभित्र सम्पन्न गर्ने गरी भदौमा सम्झौता भएको पौडेलले बताए।

दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणको काम २०७६ असोजदेखि सुरु गरिएको थियो। पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले यसअघि सम्पन्न गरिसकेको छ।

सरकारले जग्गा अधिग्रहणजस्तै सडक स्तरोन्नतिलगायत गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेपछि चिनियाँ अन्वेषण टोली दैलेख आएर दोस्रो चरणमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङको काम थाल्ने खानी तथा भूगर्भ विभागले बताएको छ।

यसअघि नेपालसँगको सम्झौताअनुसार चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक र जिओ केमिकल स्याम्पलिङ गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको छ।

दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका, तल्लो डुंगेश्वरलगायत क्षेत्रहरूलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ तथा अन्वेषण टोलीले पहिलो चरणको काम गरेको थियो। रासस

प्रकाशित: १३ असोज २०८० १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =