एमाले बागमती अधिवेशन : सर्वसम्मत नभएसँगै आजदेखि चुनावी प्रक्रियामा

हिमाल प्रेस १० असोज २०८० ६:२५
8
SHARES
एमाले बागमती अधिवेशन : सर्वसम्मत नभएसँगै आजदेखि चुनावी प्रक्रियामा

काठमाडौँ- नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा आज (बुधबार) बिहान ८ बजेदेखि निर्वाचनका कार्यक्रम सुरु हुने भएको छ।

बन्दसत्रबाट प्रतिवेदन पारित भएपछि अब आजका लागि निर्वाचन कार्यक्रम तय भएको निर्वाचन मण्डलका सदस्य रामेश्वर फुयाँलले जानकारी दिए ।

‘बन्द सत्रले ‘राजनीतिक सांगठनिक तथा आगामी कार्ययोजना प्रतिवेदन’ प्रतिवेदन पारित गरेको छ । अब निर्वाचनको प्रक्रिया आज बिहान ८ बजेबाट सुरू हुनेछ’ फुयाँलले भने, ‘८ बजे मतदाता नामावली प्रकाशन, ९ बजे उम्मेदवारी दर्ता र त्यसपछि निर्वाचन प्रक्रिया क्रम अनुसारको तालिका छ ।’

निर्वाचन केन्द्रीय कार्यालय ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा हुने जानकारी उनले दिए । साढे ११ सय प्रतिनिधि सहभागी हुने निर्वाचन विद्युतीय मेसिनबाट हुनेछ ।

निर्वाचन तालिका आए पनि अन्तिमसम्मै सहमतिको प्रयास हुने जानकारी उनले दिए ।

एमाले प्रदेश अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहाल मुख्य दाबेदार छन् । तर सहमति हुँदा निवर्तमान अध्यक्ष केशव पाण्डे, कृष्णभक्त पोखरेलदेखि सानु श्रेष्ठसम्मको दाबेदारी रहेको बताइन्छ ।

पार्टी नेतृत्वले सहमतिका लागि निरन्तर प्रयास गरे पनि निर्वाचनतिरै धेरैले जोड दिएका छन्।

एमालेमा अध्यक्ष, उपाध्यक्ष र सचिव एकएक जना, दुई उपसचिवसहित २४० सदस्यीय कमिटी चयन हुँदैछ। यस अघि लुम्बिनीमा पनि निर्वाचनबाटै मुख्य नेतृत्व चयन भएको थियो।

प्रकाशित: १० असोज २०८० ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =