म्याद गएका सामान बिक्री गर्ने डिपार्टमेन्ट स्टोरलाई एक लाख जरिवाना

हिमाल प्रेस ९ असोज २०८० १३:५०
12
SHARES
म्याद गएका सामान बिक्री गर्ने डिपार्टमेन्ट स्टोरलाई एक लाख जरिवाना फाइल तस्बिर।

कास्की- बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि पोखरा रत्नचोकमा रहेको मीनबहादुर शेरचन स्टोरलाई एक लाख जरिवाना तिराइएको छ।

जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले अनुगमनलाई निरन्तरता दिने क्रममा सोमबार पोखराका विभिन्न पसलको अनुगमन गरेको थियो। म्याद गुज्रेका सामान बिक्री गरी उपभोक्तामाथि ठगी गरेको पाइएपछि अनुगमन समितिले मीनबहादुर शेरचन स्टोरलाई जरिवाना गराएको सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले जानकारी दिए। उनका अनुसार स्टोरबाट ५ लिटरका १२ ग्यालिन तोरीको तेल लेबलिङ नभएको, मिट मसला दुई प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजवल १५ प्याकेटलगायत म्याद गुज्रेको सामान नष्ट गरिएको छ।

यसैगरी दालको लेवल नलगाएको, नुनको गोदाममा सरसफाइ नगरेको भन्दै चेतावनीसमेत दिएको छ। स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको सहायक प्रजिअ ढकालले बताए।

समितिले चिप्लेढुङ्गामा रहेको भागिरथ स्टोरमा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि सो पसललाई ५० हजार जरिवाना गरेको थियो। त्यसैगरी पोखरा–३ पालिखेचोकमा रहेको गौरव ट्रेडर्सले म्याज गुर्जेको १८ किलो रङ्गीन डुम्री, नरिवल, ललिपापडलगायतका सामग्री नष्ट गरी सो स्टोरका सञ्चालकलाई १० हजार जरिवाना गरेको छ। सोही स्थानमा रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेको ११ किलो सुजी नष्ट गरी सो पसलको बोर्ड राख्न र दर्ता नवीकरण गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। सो पसललाई पाँच हजार जरिवानासमेत तोकेको छ। यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित तीन दिनभित्र जिल्ला प्रसाशन कार्यालय कास्कीमा उपस्थित हुन समितिले निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्की र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको संयुक्त अगुवाइमा गरिएको अनुगमनमा उपभोक्ता मञ्च कास्की, खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रहरी कार्यालयको उपस्थिति थियो।

देशव्यापी बजार अनुगमन भइरहेको छ, बेइमानी गर्नेले छुट पाउँदैनन्ः महानिर्देशक चिलुवाल

प्रकाशित: ९ असोज २०८० १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + two =