एट्लेटिकोसँगको हारले अन्त्य भयो रियलको अपराजित शृंखला

हिमाल प्रेस ८ असोज २०८० ७:३२
10
SHARES
एट्लेटिकोसँगको हारले अन्त्य भयो रियलको अपराजित शृंखला

काठमाडौँ- अल्भारो मोराटाले दुई गोल गरेसँगै एट्लेटिको म्याड्रिडले स्पेनी ला लिगामा प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई ३–१ ले पराजित गरेको छ।

रियललाई यो सिजनको पहिलो हार चखाउन एट्लेटिकोका लागि एन्टोइन ग्रिजमनले एक गोल गरे। रियलबाट टोनी क्रुसले एक गोल फर्काए।

आइतबार राति भोगेको यो हारका कारण रियल बार्सिलोनासँग एक अंकले पछि परेको छ। शनिबार राति सेल्टा भिगोमाथि ३-२ को जित हात पारेको बार्सिलोना १६ अंकसहित शीर्षस्थानमा छ।

दोस्रो स्थानको जिरोनाको पनि १६ अंक नै छ। एट्लेटिको भने बार्सिलोना र रियलभन्दा एक कम खेल्दै १० अंक बटुलेर पाँचौँ स्थानमा छ।

वान्डा मेट्रोपोलिटानोनामा घरेलु टिमलाई अघि बढाउन मोराटाले चौथो मिनेटमै गोलको खाता खोलेका थिए। उनले व्यक्तिगत दोस्रो गोल भने दोस्रो हाफ सुरु हुन साथ गरेका थिए।

‘एट्लेटिकोमा यो वर्ष मेरा लागि महत्त्वपूर्ण वर्ष हो। म यो क्लबमा उपाधि जित्न व्याकुल छु। समर्थक लिग उपाधिका लागि हकदार छन्। उपाधि जिन्ते अभियानलाई सार्थक बनाउन उनीहरुको पनि साथ चाहिन्छ,’ पूर्वक्लबविरुद्ध गोल गरेका मोराटाले भने।

म्याड्रिड डर्बीका लागि रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टीले आफ्ना दुई भेट्रान मिडफिल्डरद्धय क्रुस र लुका मोड्रिचलाई उपयोग गरेका थिए। जबकि उनीहरुले यो सिजन सीमित मौका पाएका छन्।

क्रुस र मोड्रिचले मिडफिल्ड सम्हाल्दा ज्युुड बेलिङहम लगभग फरवार्डको भूमिकामा थिए। बोरुसिया डर्टमन्डबाट यही सिजन स्पेन पुगेका इंग्लिस मिडफिल्डर बेलिङहम ‘नम्बर १०’ भएर खेलिरहेका छन्। फलतः उनले सुरुका ६ खेलमा ६ गोल गरेका छन्।

भिनिसियस जुनियरको अनुपस्थितिमा बेलिङहमसँग मिलेर रोड्रिगोले अग्रपंक्ति सम्हाले भए पनि रियललाई गोल फर्काउन आधा घण्टाभन्दा बढी समय लागेको थियो।

उता एट्लेटिकोले भने घरेलु समर्थकसामु लोभलाग्दो सुरुवात गर्न धेरै समय लगाएन। विंगब्याक सामुएल लिनोको क्रसमा मोराटाले सुन्दर हेडर गोल गर्दै डिएगो सिमओनेको टिमलाई अघि बढाएका थिए।

त्यसपछि १८ औँ मिनेटमा ग्रिजमनले साउल निगेजको क्रसमा हेडर गरे, जसलाई केपा एरिजाबालागाले रोक्नै सकेनन्।

यो सप्तहान्त ला लिगामा भएका अरु खेलमा रियल सोसिडाडले गेटाफेलाई ४–३ र लास पाल्मासले ग्रानाडलाई १–० ले पराजित गरे। उता सेभिया, भ्यालेन्सिया र भिल्लारियल भने आआफ्ना खेलमा बराबरीमा रोकिए। सेभियालाई ओसासुनाले गोलरहित बराबरीमा रोक्यो।

उता भ्यालेन्सियाले दुई पटक अग्रता लिए पनि तीन अंक बटुल्न सकेन। पहिलो हाफको १४ औँ मिनेटमा डिएगो लोपेज र ६३ औँ मिनेटमा हाभियर गुएराले गोल गरेका थिए। तर सर्जियो अरिबासले ५९ र ६९ औँ मिनेटमा गोल फर्काएपछि पुछारको अल्मेरियाको हार टरेको थियो।

यो खेलमा गोल गर्ने तीनै खेलाडी स्पेनका हुन्, जो २१ वा सोभन्दा कम उमेरका छन्। भ्यालेन्सियाका लागि गोल गरेका दुई खेलाडीले गत सिजन ला लिगामा डेब्यु गरेका थिए। तीमध्ये गुएराले यो सिजन तीन गोल गरिसकेका छन्। उता अरिबासको नाममा चार गोल छ। २१ वर्षीय अरिबास पनि यही सिजन मात्र अल्मेरियाको पहिलो रोजाइका फरवार्डका रुपमा दर्ज भएका हुन्।

भिल्लारियलले राए भाएकानोसँग उसकै मैदानमा १–१ को बराबरी खेल्यो। दुवै टिमले पहिलो हाफमा गोल गरेका थिए, त्यो पनि एक मिनेटको फरकमा। किके पेरेजले १५ औँ मिनेटमा गोल गरेर भाएकानोलाईल अग्रता दिलाए पनि भिल्लारियल १६ औँ मिनेटमा अलेजान्डर सोलोर्थको गोलमार्फत खेलमा फर्किएको थियो।

प्रकाशित: ८ असोज २०८० ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =