सहमति कार्यान्वयनमा सदैव सक्रिय रहने शिक्षक संघको प्रतिबद्धता

हिमाल प्रेस ७ असोज २०८० १६:३०
2.2k
SHARES
सहमति कार्यान्वयनमा सदैव सक्रिय रहने शिक्षक संघको प्रतिबद्धता

काठमाडौँ– नेपाल शिक्षक संघले शिक्षक आन्दोलनका क्रममा प्राप्त उपलब्धि ऐनमार्फत संस्थागत गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाएको छ। संघको संघीय कार्य समितिले आन्दोलनमा सहभागी शिक्षक-कर्मचारीलाई धन्यवाद ज्ञापन गर्दै यस्तो प्रतिबद्धता जनाएको हो।

शुक्रबार सरकारसँग ६ बुँदे सहमति भएसँगै नेपाल शिक्षक महासंघको अगुवाइमा भएको राजधानी केन्द्रित शिक्षक आन्दोलन स्थगित भएको छ। विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा देशभरका शिक्षक र कर्मचारी राजधानीमा भेला भई बुधबारदेखि शुक्रबारसम्म आन्दोलन गरेका थिए।

संघले आन्दोलनमा सहभागी हुन राजधानीमा केन्द्रित भएका शिक्षक-कर्मचारीलाई कार्य क्षेत्रमा क्रियाशील रहन अपिल गरेको छ।

संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘प्राप्त उपलब्धिलाई ऐनमार्फत संस्थागत गर्दै थप उपलब्धि प्राप्तिका लागि संघ सदैव कृतसंकल्पित रहने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनका लागि काठमाडौँ उपस्थित हुनुभएका शिक्षक विद्यालय कर्मचारी साथीहरूलाई हार्दिक धन्यवाद दिँदै अब कार्यक्षेत्रमा क्रियाशील रहन अनुरोध गर्दछौँ।’

सहमति कार्यान्वयका लागि संघको खबरदारी कायमै रहने उल्लेख गर्दै विज्ञप्तिमा राज्य पक्षलाई पनि संवेदनशील बन्न आग्रह गरिएको छ।

राजधानी केन्द्रित आन्दोलनमा विशाल उपस्थिति रहँदारहँदै पनि शिष्ट र अनुशासित प्रदर्शनले नेपाली समाजमा शिक्षकहरूले सकारात्मक छाप छोड्न सफल भएको ठहर संघको छ। विज्ञप्तिमा उल्लेख छ, ‘विशाल प्रदर्शनका क्रममा कहीँकतैबाट कमीकमजोरी रहेको भए आगामी दिनमा त्यसतर्फ सचेतनापूर्वक काम गर्ने प्रतिबद्धतासमेत जाहेर गर्दछौँ।’

२०७५ पछि स्थायी भएका शिक्षकको निवृत्तिभरणको स्पष्ट कानुनी व्यवस्था र सम्पूर्ण राहत कोटाहरुलाई दरबन्दीमा रुपान्तरण गरी राहतमा कार्यरत शिक्षकहरुको शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्नुपर्ने मागमा सरकार सहमत नभएको पनि संघको विज्ञप्तिमा उल्लेख छ। साथै संघले नेपाल शिक्षक संघ संघीय कार्य समितिका अध्यक्ष सोमनाथ गिरीमाथि आक्रमण र दुर्व्यवहार भएको भनी सामाजिक सञ्जालमा आएका कुराहरु भ्रामक रहेको पनि स्पष्ट पारेको छ।

किन लाग्यो शिक्षक महासंघ खारेजको नारा?

यस्तो छ सरकार र शिक्षकबीचको ६ बुँदे सहमति [बुँदासहित]

प्रकाशित: ७ असोज २०८० १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =