गीतसंगीतमा रमाउन थाले आन्दोलनकारी शिक्षक [तस्बिरहरू]

दिपेश श्रेष्ठ ५ असोज २०८० १६:०८
632
SHARES
गीतसंगीतमा रमाउन थाले आन्दोलनकारी शिक्षक [तस्बिरहरू] फाइल तस्बिर

काठमाडौँ- राजधानी केन्द्रित शिक्षक आन्दोलनको तेस्रो दिन शुक्रबार अपराह्न माइतीघर चोकमा एउटा समूह देउडा नाचिरहेको थियो। उनीहरू सुदूरपश्चिमको ब्यानर भुइँमा राखेर नाचिरहेका थिए। अर्को कुनामा ललितपुरका शिक्षकहरू गीत गाउन मस्त थिए। थपडी बजाईबजाई गीतमा रमाउनेमा अधिकांश शिक्षिकाहरू थिए।

आफ्नो जिल्ला, पालिका र प्रदेशगत रूपमा समूहसमूहमा बसेका कोही शिक्षकहरू गीतमार्फत काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई आन्दोलन नरोक्न  चुनौती दिइरहेका थिए। कविता, गजल र मुक्तक सुनाउने समूह पनि देखिन्थ्यो। गीत, कविता, गजलमार्फत आन्दोलनकारी शिक्षकहरूले सरकारलाई खबरदारी गरिरहेका थिए। आफूले सहनुपरेको विभेद, पेसागत स्थायित्वको माग र शिक्षकको भूमिकाबारेमा उनीहरूले आफ्ना अभिव्यक्ति प्रकट गरेका हुन्।

सडकको दायाँबायाँ र बीचमा रहेका बुट्याउनमुनि बसेर सेल्फी खिच्ने, कुराकानी गरेर बस्ने शिक्षक पनि माइतीघरदेखि बानेश्वरसम्मै देखिए। आफ्नो ब्यानरमुनि बसेर तस्बिर खिच्ने, फेसबुकमा लाइभ गर्ने शिक्षक पनि धेरै थिए।

आन्दोलनमा काखमा सन्तान बोकेका, अपांगता भएका शिक्षक पनि सहभागी छन्। कुनै समूह भने शिक्षक अधिकारको नारा लगाउँदै माइतीघरदेखि बानेश्वरसम्म पुग्थे, अनि फेरि माइतीघरतिर फर्कन्थे।  एउटा समूह सिंहदरबार घेर्न भन्दै दक्षिण गेटतर्फ अघि बढ्दा प्रहरी नियन्त्रणमा परेको छ। निषेधित क्षेत्र तोड्न खोज्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

माइतीघरचोकमा माइकबाट विभिन्न नेताहरू भाषण गर्न व्यस्त देखिन्थे। उनीहरू अधिकांशले सरकारको आलोचना गरे। कतिपयका लागि चाहिँ आन्दोलन साथीभाइसँग भेट गर्ने थलो पनि बनेको देखियो।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा देशभरका शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा सहभागी भएका हुन्। आन्दोलनका कारण बिहीबार र शुक्रबार सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द भएको छ।

आन्दोलनमा सहभागी शिक्षकहरूका अनुसार पेसागत रूपमा यो सबैभन्दा ठूलो आन्दोलन भएको बताउँछन्। आन्दोलनमा भेटिएका ललितपुरका शिक्षक हरिबहादुर एसीले भने, ‘राजनीतिक परिवर्तनको आन्दोलनमा भन्दा पनि धेरै उपस्थिति छ। पेसाकर्मीले गरेको यो ऐतिहासिक र ठूलो आन्दोलन हो।’

आन्दोलनको तेस्रो दिन पुग्दा बिस्तारै उपस्थित कम हुन थालेको शिक्षकहरू बताउँछन्। उनीहरूका अनुसार सरकारले शिक्षकलाई वार्तामा डाकेका कारण पनि शिक्षकहरूको संख्या पातलिँदै गएको हो। वार्ताका लागि सरकारले केही समय पर्खनु भनेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताएका छन्।

     

 

प्रकाशित: ५ असोज २०८० १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =