सागर खड्काको उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

हिमाल प्रेस ३ असोज २०८० १६:२१
8
SHARES
सागर खड्काको उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

काठमाडौँ- साहित्यकार सागर खड्काको पहिलो औपन्यासिक कृति ‘राइपाली भन्ज्याङ’ लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रममा लेखक बुद्धिसागर, दुर्गा कार्की र सागर खड्काले पुस्तक लोकार्पण गरेका हुन्।

साहित्यकार बुद्धिसागरले पुस्तक राइपाली भन्ज्याङ कथा एवम् उपकथा जोडिएर बनेको विशेष उपन्यास बनेको बताए। ‘सागरको उमेर हेर्दा उनले प्रेमकथा लेखेका होलान् जस्तो लागेको थियो।

तर यो पुस्तकमा उनले गहन विषयवस्तुलाई उजागर गरेका छन्।’ सरल एवम् मीठो भाषाशैलीमा लेखिएको यो पुस्तक लेखकको पहिलो भए पनि सशक्तरूपमा आएको उनको भनाइ छ।

यस्तै लेखक तथा अधिवक्ता दुर्गा कार्कीले उपन्यासको कथा मथिंगल रन्थनाउने किसिमको रहेको टिप्पणी गरिन्। ‘यो उपन्यासको सबैभन्दा सशक्त पक्ष भाषा हो, यसको शैली एकदमै सरल लाग्यो,’ उनले भनिन्, ‘यसमा मौलिक भाषाका साथै उत्कृष्ट बिम्ब प्रयोग गरिएका छन्। लेखन पनि दृश्यात्मक छ।’

सागर खड्काको भाषा जादुयी रहेको र यही जादुको सम्मोहनमा परेर नै आफ्नो प्रकाशन गृहले खड्काको उपन्यास प्रकाशन गरेको फाइनप्रिन्टका अजित बरालले बताए। ‘हामीले फाइनप्रिन्टको १८ वर्षे इतिहासमा पहिलो पटक कुनै नयाँ लेखकको पाण्डुलिपिका सुरुवाती केही अनुच्छेद र बीचबीचमा सरसर्ती केही पेज हेरेको भरमा साइन गरेको हो,’ उनले भने, ‘हामीलाई लाग्छ, सागर खड्काले आफ्नो लेखनलाई निरन्तरता दिए र अध्ययनलाई फराकिलो बनाउँदै लगे भने नेपाली साहित्यमा उनले बलियो उपस्थिति जनाउनेछन्। राइपाली भन्ज्याङ त्यसको संकेत मात्र हो।’

कार्यक्रममा लेखक खड्काले राइपाली भञ्ज्याङ लेखन यात्राको स्मरण गरे। पुस्तक लेख्न चार वर्ष लागेको उनले सुनाए। राइपाली भन्ज्याङ दुई बालसखा बुद्धि र कुसुमको प्रेमकथा हो। समाज र संघर्षको कथा हो। र सैनिक बनेर भरियाहरू अगाडि लगाउँदै गाउँ छिर्ने सपना बोकेका दुई बच्चाको मित्रताको कथा पनि हो।

यो त्यो समयको कथा हो, जति बेला मोबाइल हुँदैनथे। तर पनि एकअर्काको दिलसम्मै खबर पुग्थे। सवारी गुड्ने सडक हुँदैनथे। तर पनि मानिस भञ्ज्याङ हुँदै डाँडाकाँडा छिचोल्थे। घैया गोड्दै महिलाहरू झ्याउरे गीत गाउँथे।

अनि मेलापर्वमा ठाडो भाकाले गाउँगाउँ गुन्जिन्थे। अन्धविश्वास र हिंसाको छिटाले लतपतिएको समाजमा कहिले बहकिँदै त कहिले सम्हालिँदै सहारा र सन्तुष्टिको खोजीमा जीवनभर अघि बढिरहने कथाले सबैलाई आफ्नो अतीतमा पु¥याउने प्रकाशकको दाबी छ।

प्रकाशित: ३ असोज २०८० १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 15 =