भारतले क्यानडामा शिख नेताको हत्या गरेको आरोप : ओटावाबाट फर्काइए भारतीय कूटनीतिज्ञ

हिमाल प्रेस २ असोज २०८० ६:४८
34
SHARES
भारतले क्यानडामा शिख नेताको हत्या गरेको आरोप : ओटावाबाट फर्काइए भारतीय कूटनीतिज्ञ

काठमाडौँ- क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको बताएको छ। क्यानडाकी विदेशमन्त्री मेलाइनी जोलीले भारतीय कूटनीतिज्ञलाई सोमबार देश निकाला गरेकोबारे जानकारी दिएकी हुन्।

क्यानडाबाट निकालिएका भारतीय कूटनीतिज्ञबारे विस्तृत जानकारी दिइएको छैन। क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले शिख नेता हर्दिप सिंह निज्जारको हत्यामा भारतीय संलग्नता रहेको हुनसक्ने बताएकै दिन ती कूटनीतिज्ञलाई नयाँ दिल्ली फिर्ता पठाइएको हो।

प्रधानमन्त्री ट्रुडोले क्यानडेली संसद्लाई सम्बोधन गर्दै हत्यामा भारतीय संलग्नता रहेकोबारे आफूहरुले सूचना फेला पारेको बताएका थिए। क्यानेडेली नागरिक निज्जरलाई गत जुन १८ मा गोली प्रहार गरी हत्या गरिएको थियो। ब्रिटिस कोलम्बियाको सुर्रेमा रहेको गुरुद्धारा अगाडि निज्जरलाई गोली हानिएको थियो।

निज्जरलाई खालिस्तान अभियानको नेतृत्वकर्ता मान्ने गरिएको थियो। भारतीय राज्य पंजाबलाई भिन्दै देश (खालिस्तान) बनाउनु पर्ने माग राख्दै विभिन्न समूहले अभियान चलाउँदै आएका छन्।

‘विदेशीको संलग्नतामा एक क्यानडेली नागरिकको क्यानडेली भूमिमा हत्या हुनु भनेको हाम्रो सार्वभौमितामाथिको हस्तक्षेप हो,’ क्यानडाको तल्लो सद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै ट्रुडोले भने, ‘यो हत्या स्वतन्त्र र लोकतान्त्रिक समाजको आधारभूत मान्यता विपरीत छ।’

निज्जार आफ्नो सवारी साधनभित्रै रहेका बेला मास्क लगाएका दुई हतियारीधारीले उनीमाथि गोली प्रहार गरेका थिए। बीबीसीका अनुसार गोली प्रहार हुँदा निज्जर भ्यानकुभर सहरबाट करिब ३० किलोमिटर पर रहेको गुरुद्धाराको व्यस्त पार्किङस्लथलमा थिए।

हत्या हुनुअघि निज्जरलाई पटक पटक धम्की दिइएको बीबीसीमा उल्लेख छ। भारतले निज्जरलाई आतंकवादीको सूचीमा राखेको थियो। निज्जरले भारतीय भूमिमा सशस्त्र समूह परिचालन गरेको आरोप पनि भारतीय सरकारको थियो। यद्यपि यसअघि नै भारतले निज्जरको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट पारिसकेको छ।

 ट्रुडोले निज्जर हत्याको विषयमा आफूले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि कुरा गरेको बताएका छन्। ट्रुडो जी–२० समूहको सम्मेलनमा भाग लिन नयाँ दिल्ली गएका थिए। सेप्टेम्बर ९–१० मा भएको सम्मेलनमा भाग लिन दिल्ली पुगेका अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री ऋषी सुनाकसँग पनि ट्रुडोले निज्जर हत्याको विषय उठाएका थिए।

उसो त ट्रुडो र मोदीबीच पनि द्विपक्षीय बैठक भएको थियो। जहाँ मोदीले क्यानडामा भारत विरोधी गतिविधि भइरहेको तर त्यसलाई नियन्त्रणमा लिन ट्रुडो सरकारले खासै प्रयास नगरेको आारोप लगाएका थिए।

जुनको मध्यमा निज्जरको खुलेआम हत्या भएपछि भारतबाहिर छरिएका शिख समुदाय आक्रोशित बनेको थियो। हत्याको विरोधमा शिखहरुले टोरोन्टो, लन्डन, मेलबर्न, सान फ्रान्सिस्को जस्ता सहरमा प्रदर्शन गरेका थिए। टोरोन्टोमा रहेको भारतीय महावाणिज्य दूतावासअघि सयौँ शिख जम्मा भएका थिए।

४५ वर्षीय निज्जरको हत्याले लामो समयबाट चल्दै आएको खालिस्तान अभियानलाई फेरि एकपटक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको हेडलाइन बनाइदिएको थियो। सन् १९८० को दशकमा उग्र बनेको यो अभियानमा लागेकाहरुको विदेशी भूमिमा हत्या हुँदै आएको छ।

भारतमा साम्य भएको भए पनि क्यानडा, बेलायत, अमेरिका लगायतका देशमा रहेका खालिस्तान समर्थकले आफ्नो गतिविधि जारी राखेका छन्। भारतपछि सबैभन्दा बढी शिख बस्ने देश क्यानडा हो। त्यसकारण क्यानडामा खालिस्तान अभियानकर्ताको ठूलो उपस्थिति छ। उता भारतमा भने यो अभियानलाई प्रतिबन्ध मात्र लगाइएको छैन, पंजाबका स्थानीय राजनीतिक दलहरुले समेत यसलाई निषेध गरेका छन्।

निज्जर जस्तै खालिस्तान अभियानकर्ता रहेका अवतार सिंह खान्डाको पनि गत जुनमै मृत्यु भएको थियो। खालिस्तान लिबरेसन फोर्सको प्रमुख भनिएका खान्डाको मृत्यु बेलायतको बर्मिङहममा भएको थियो। उनको मृत्यु कसरी भयो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। खालिस्तान अभियानकर्ता भने उनलाई वीष खुवाएर मारिएको दाबी गर्छन्।

त्यसअघि मेमा अर्का अभियानकर्ता परमजित सिंह पन्जवारको पनि हत्या भएको थियो। भारतले आतंकवादी घोषणा गरेको सिंहलाई पाकिस्तानको लाहोरमा गोली प्रहार गरिएको थियो।

विश्व शिख संगठनका अनुसार निज्जरले आफूलाई ज्यान मार्ने धम्की आइरहेकोबारे क्यानडेली जासुसी संयन्त्रलाई जानकारी गराएका थिए। सुर्रेमा खालिस्तानका विषयमा जनमत संग्रह गर्ने तयारीमा रहेकाले निज्जर भारतको निशानामा परेको दाबी गरिँदैछ।

गत वर्ष क्यानडाकै ओन्टारियोमा त्यस किसिमको जनमत संग्रह गरिएको थियो। ओन्टारियोमा करिब एक लाख ६० हजार शिखको बसोबास छ। तीमध्ये एक लाख शिख जनमत संग्रहमा सहभागी भएको दाबी छ। तर जनमत संग्रहको नतिजा भने बाहिर ल्याइएको छैन।

क्यानडामा खालिस्तान अभियानकर्तालाई भारतविरोधी गतिविधि गर्न छुट दिइएको भन्दै मोदी सरकारले पटक पटक असन्तुष्टि व्यक्त गरेको थियो। यस्तो गतिविधि आफ्नो आन्तरिक मामलामाथिको हस्तक्षेप रहेको भारतको भनाइ थियो। उता क्यानडेली प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारले भारतले क्यानडाको आन्तरिक मामलामा निरन्तर धावा बोलेको आरोप लगाएका थिए।

पछिल्लो समय खालिस्तान अभियानको विषयका कारण क्यानडा र भारतबीच सम्बन्ध चिसिएको छ। दुई देशबीच हुने भनिएको स्वतन्त्र व्यापार सम्झौता पनि हाललाई स्थगित गरिएको छ।

प्रकाशित: २ असोज २०८० ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =