पोखराको सहरी पूर्वाधार विकासमा एसियाली विकास बैंकले सघाउने

हिमाल प्रेस ३० भदौ २०८० २०:२८
8
SHARES
पोखराको सहरी पूर्वाधार विकासमा एसियाली विकास बैंकले सघाउने फाइल तस्बिर।

कास्की- पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैंक (एडीबी)का कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच आज पोखरामा भेटवार्ता भएको छ।

उनीहरूबीच एडीबीको सहयोगमा सञ्चालन हुने सहरी पूर्वाधार र जीवन सुधार परियोजनासहित पोखराको दिगो पर्यटन विकासका सम्भावनाबारे छलफल भएको छ।

एडीबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजनाअन्तर्गत सडक सुरक्षा उपायहरूको योजनासहित विद्यमान सडक तथा ढलको स्तरोन्नति गरिने छ।

महानगरका अनुसार एडीबीले पोखराका विभिन्न परियोजनामा आर्थिक सहयोग गर्ने भएको छ। त्यस्ता परियोजना छनोट भइसकेका छन्। सोअन्तर्गत सहिदचोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पिआइए ८ किमी आठ सय मिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ।

यसका लागि ५.३४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजनाअन्तर्गत दमदमेबाट भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्र, भन्ज्याङबाट पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका ‘सर्भिस प्वाइन्ट’ स्थापना, विद्यमान घरबास (होमस्टे)को एकीकृत प्रवर्द्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि ३.०५ मिलियन अमेरिकी डलर लागत लाग्नेछ।

पञ्चासे एक सयभन्दा बढी प्रजातिका अर्किड र पोखरी रहेको एक प्रसिद्ध तीर्थस्थल तथा संरक्षित वन क्षेत्र हो। एडीबीकै सहयोगमा लेक टु लेक साइकल ट्रयाक र फेवाताल सुधार परियोजनासमेत सञ्चालनका क्रममा रहेको छ।

प्रकाशित: ३० भदौ २०८० २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =