हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ४ जना पक्राउ

हिमाल प्रेस २८ भदौ २०८० २१:१२
12
SHARES
हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ४ जना पक्राउ

बागमती- हेटौँडाका दुई जना चिकित्सकमाथि अस्पताल कक्षमा हातपात तथा कुटपिट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर प्रहरीले बिहीबार ४ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो।

हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा तथा डा. प्रशान्त बिराडीमाथि बुधबार अस्पतालको एचडीयू वार्डमा बिरामीको उपचार गरिरहेको समयमा कुटपिट भएको थियो।

उक्त घटनाको मकवानपुरमै व्यापक विरोध भएको थियो। हातपात गर्नेहरूलाई कारबाही नगरे आन्दोलन गर्ने चेतवानी चिकित्सकहरूले दिएपछि कुटपिटमा संलग्नलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

घटना विवरणअनुसार एक महिना अगाडि डेंगीबाट संक्रमित हेटौँडा–१२ पदमपोखरीका४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरवाही गरेको भन्दै ती दुई चिकित्सकमाथि बुधबार हातपात तथा कुटपिट भएको थियो।

सञ्चो अस्पतालमा उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो। त्यहाँ मेडिकल कलेजमा डेंगी संक्रमित प्रधानको उपचारका क्रममा मृत्यु भएको थियो।

मृतक प्रधानका आफन्तको एक आक्रोशित समूहले चिकित्सकमाथि हातपात गरेको थियो। कुटपिटमा संलग्न प्रधानकी श्रीमती र छोरीसहित अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले पनि आन्दोलित चिकित्सकसँगको छलफलमा कुटपिटमा संलग्नलाई कारबाही गर्ने आश्वासन दिएका थिए। रासस

प्रकाशित: २८ भदौ २०८० २१:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eleven =