सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि [फोटो फिचर]

हिमाल प्रेस २८ भदौ २०८० १३:१६
38
SHARES
सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि [फोटो फिचर]

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। उनको शवमा दुई छोराहरू मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए।

त्यसअघि उनको शवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए। अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, मन्त्रीहरू, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च पदस्थ सरकारी अधिकारीहरू आर्यघाट पुगेका थिए। अध्यक्ष ओलीले नेम्वाङको शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाएका थिए।

अन्येष्टिमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। पशुपति आर्यघाटमा नेम्वाङका परिवारजन, आफन्त, शुभचिन्तक पार्टीका नेताकार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो। त्यसअघि बालुवाटारबाट शवयात्रा गरिएको थियो।  शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुगेको थियो।

नेम्वाङको सोमबार राति १ बजे निधन भएको हो। नेम्वाङ शौचालय गएका बेला बेहोस भएका थिए। त्यसपछि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको थियो। अस्पतालमा पुर्‍याउनेबित्तिकै चिकित्सकले नेम्वाङको निधन भएको घोषणा गरेका थिए। दुई दिनअघिबाट हल्का ज्वरो आएपछि उनी घरमै आराम गरेर बसेका थिए।

सुवास नेम्वाङ शालीन राजनीतिका पर्याय थिए। उनी हरेका ठाउँमा आफ्नो शालीन रूपमा प्रस्तुत हुन्थे। संसद्‌मा होस् वा बाहिर जहाँ भए पनि नेम्वाङ कम बोल्थे तर मिठो बोल्थे। उनी आफूले बोल्ने भाषणमा सहमति, सहकार्य र एकताको कुरा दोहोर्‍याइरन्थे।

उनी अध्यक्ष भएकै बेला संविधानसभाबाट संविधान जारी भयो। संविधान जारी भएपछि उनले भनेका थिए, ‘अब देशले राजनीतिक लडाइँ लड्नु पर्दैन।’ उनी गृहजिल्ला इलाम पुगेर भन्थे, ‘म कुनै पनि हालतमा तपाइँहरूको शिर निहुरिने काम गर्नेछैन।’ नेम्बाङलाई संविधानसभाको अध्यक्ष भएपछि उपप्रधानमन्त्री बन्न अफर आएको थियो तर उनले मानेनन्। उनले भनेका थिए, ‘म पाँचचोटि सभामुख भएँ। म मेरो मान्यतामा अडिग छु। म संविधानसभाको अध्यक्ष भएको मान्छे उपप्रधानमन्त्री खान्न भन्दिएँ।’

नेम्वाङको भाषणमा संविधानको मूल्य मान्यताको कुरा हुन्थ्यो। संविधान निर्माण गर्दाको संघर्षको कुरा हुन्थ्यो। नेम्वाङ विपक्षीको आलोचना गर्दा पनि नम्र भाषा प्रयोग गर्थे। उनी भन्थे, ‘ एकजना साथीले यसो भन्नुभएको थियो। उहाँले भनेको कुरा त तपाइँहरूले पत्याउनुभयो नि होइनरु’ त्यसपछि नेम्वाङ भन्थे, ‘उहाँको अनुहार झलझली आइरहेछ। नाम बिर्सेँ।’

ठट्टा गरेर उनले आफ्ना कार्यकर्तालाई हँसाइदिन्थे। उनी विपक्षीसँग पनि हातेमालो गर्न सक्थे। संविधान निर्माणताका ठूला राजनीतिक संकटमा समेत नेम्वाङले सधैँ पुलको काम गरे। जानकारहरू उनले कहिल्यै पार्टीप्रति वकालत नगरेको बताउँछन्।

कुनै बेला नेम्वाङ भनेकै सभामुख र सभामुख भनेकै नेम्वाङ जस्तो हुन्थ्यो। नेपालको संवैधानिक व्यवस्थाका लागि ऐतिहासिक जिम्मेवारी सम्हालेका नेम्वाङ दुईपटक संविधानसभा अध्यक्ष भए। उनी सभामुख पनि बने।

नेम्वाङको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको हो। कानुनमा स्नातक गरेका नेम्वाङ केही समय कानुन व्यवसायमा समेत संलग्न भए।विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुका तर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति भएका थिए। २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा संगठित भए।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनीत भए।

एमालेको सातौँ महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य र २०७८ सालमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बने।

२०४८ र २०५२ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य थिए। २०५२ सालमै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री थिए। २०५६ सालको संसदीय चुनावमा इलामबाट विजयी नेम्वाङ फेरि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, त्यसपछि सामान्य प्रशासनमन्त्री थिए। २०५७ सालमा उनी संसद्को सार्वजनिक लेखा समितिको सभापति थिए।

२०६३ सालको अन्तरिम उनी सभामुख चयन भए। २०६४ मा भएको चुनावमा इलामबाटै निर्वाचित नेम्वाङ संविधानसभाको अध्यक्ष बने। त्यसपछि २०७० सालको दोस्रो संविधानसभा चुनावपछि पनि उनी अध्यक्ष बने। २०७४ साल र २०७९ सालको आमचुनावमा नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन्। उनी राष्ट्रपतिको उम्मेदवारसमेत बनेका थिए। तर रामचन्द्र पौडेलसँग हारे। नेम्वाङको राजनीतिको एक हार नै यही थियो।

धर्म निरपेक्षताको दाग र स्पष्टीकरण

नेम्वाङलाई नेपालमा धर्मनिरपेक्षता घुसाएको आरोप लागिरहन्थ्यो। तर नेम्वाङले यसको खण्डन  गर्दै आएका थिए। उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘मैले धर्म निरपेक्षता घुसाउने कुरा हुँदैन। मलाई त कतै भ्रमणमा जानुपर्‍यो भने पनि घरकाले दही खुवाएर मात्र बिदा दिन्छन्।’

प्रकाशित: २८ भदौ २०८० १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + six =